लाफा ग्रुपको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, १७ मंसिर
स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको सामूहिक लगानीमा स्थापित लगानी समूह लाफा ग्रुप लिमिटेडले आफ्ना शेयर सदस्यलाई आ.व. ०७६/०७७ मा १० प्रतिशत लाभांश वितरण गरेको छ ।
कोरोना भाइरसको महामारीका बेला पनि कम्पनीले सो लाभांश वितरण गर्न सफल भएको कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेले जानकारी दिनुभयो । कम्पनीले आफ्ना शेयरधनीलाई स्थापना भएयता हालसम्म ६५ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।
लाफा ग्रुपको गत शनिबार तेस्रो वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थिति हुने अवस्था नभएका कारण भर्चुअल माध्यमबाट कम्पनीको साधारणसभा सम्पन्न गरिएको अध्यक्ष आलेले जानकारी दिनुभयो । साधारणसभाले कम्पनीको आ.व. ०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन अनुमोदन गरेको छ ।
सो अवसरमा कम्पनीका सल्लाहकारहरूको तर्फबाट दिलबहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने चार्टर्ड एकाउण्टेण्ट निल सारूले लगानीसम्बन्धी विभिन्न सुझाव दिनुभएको थियो । विभिन्न देशका कम्पनी संयोजकहरूले समेत आ–आफ्नो तर्फबाट रिपोर्टिङ प्रस्तुत गरेका थिए । कम्पनीका शेयर सदस्यहरूको तर्फबाट हङकङबाट वसन्त श्रीनेत, दक्षिण कोरिया संयोजक खड्ग थापा, बेलायत संयोजक भरत बुढा, कतार संयोजक अशोक आले, मलेसिया संयोजक सुन्दर आले, इजरायल संयोजक जमुना थापालगायतले आफ्नो भनाइसहित सुझाव प्रस्तुत गर्नुभएको थियो ।
लाफा ग्रुपले काठमाडौंमा लाफा भिलेज परियोजनामा लगानी गरेको छ । त्यस्तै, कम्पनीले प्रदेश नं. १, लुम्बिनी प्रदेशको स्वर्गद्वारी र काठमाडौंको सुनाकोठीमा समेत लाफा भिलेज–२ परियोजना सञ्चालन गर्ने भएको छ । भावी योजनाका रुपमा कम्पनीले वित्तीय क्षेत्रसहित कृषि, रिसोर्ट, मिडियालगायत अन्य क्षेत्रमा समेत लगानी गर्ने तयारी गरिरहेको छ ।
लाफा ग्रुप लिमिटेडकी अध्यक्ष चन्द्रज्योति आलेको अध्यक्षतामा भएको तेस्रो वार्षिक साधारणसभाको सञ्चालन सञ्चालक समिति सदस्य रक्षाबहादुर रैका र स्वागत सञ्चालक समिति सदस्य गुप्तबहादुर रानाले गर्नुभएको थियो ।

Advertisment