समाजसेवी गुरुङद्वारा आफ्नो जन्मदिनमा विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने घोषणा

पोखरा, ५ मंसिर
मिलन फाउण्डेशन नेपालका संस्थापक एवं संरक्षक दुर्गा गुरुङ “मिलन”ले आफ्नो ५४ औं जन्मदिनका अवसरमा बुधबार पर्वतका तीन सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडो मौसमका लागि न्यानो कपडा वितरण गर्ने घोषणा गर्नुभएको छ ।
पर्वतको मोदी गाउँपालिकाका तीन सामुदायिक विद्यालयका विपन्न परिवारका विद्यार्थीका लागि निकट भविष्यमा न्यानो कपडा वितरण गर्ने समाजसेवी गुरुङले बताउनुभयो । हाल हङकङमा रहनुभएका समाजसेवी गुरुङले कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै आफूले भौतिक उपस्थिति जनाउन नपाएपनि आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्ने बताउनुभएको हो ।
यसैबीच, मिलन फाउण्डेशन नेपालले आफ्नो छैठौं वार्षिक साधारणसभासँगै संरक्षक गुरुङको जन्मदिन मनाएको छ । गुरुङको भौतिक उपस्थिति नभएपनि फाउण्डेशनका संस्थापक गुरुङको जन्मदिनको अवसर पारेर वार्षिक साधारणसभा समेत आयोजना गरिएको का.वा. अध्यक्ष देवी गुरुङले जानकारी दिनुभयो ।
सो अवसरमा का.वा. अध्यक्ष गुरुङले फाउण्डेशनले गरेका गतिविधि र संरक्षक गुरुङका बारेमा आफ्नो भनाइ राख्नुभएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङको समेत उपस्थिति रहेको कार्यक्रममा फाउण्डेशनका सचिव खडकबहादुर गुरुङ “मदन”ले समेत बोल्नुभएको थियो । समाजसेवी गुरुङले आफ्नो गृहजिल्ला पर्वतसहित कास्की, लमजुङ, पाल्पा, चितवनलगायतका जिल्लामा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आफ्नै कमाइबाट विभिन्न किसिमका सहयोग गर्दै आउनुभएको छ ।

Advertisment