मगर संस्कारमा गरिने पितृ/पितर पूजा ः एक अध्ययन

76

 –जीवन रोकामगर
१. विषय प्रवेश ः
नेपाल भौगोलिक विविधता सँगै जातीय विविधता, भाषिक विविधता, साँस्कृतिक विविधताका साथै धार्मिक रुपले पनि विविधतायुक्त मुलुक हो । नेपालको जनगणना २०६८ का अनुसार नेपालमा १२५ जातजातिहरु बसोवास गर्ने गर्दछन् । नेपालमा विभिन्न जातजातिहरुको बसोवास रहेकाले पनि उनीहरुको संस्कार र संस्कृतिहरुमा विविधता पाईने गर्दछ । नेपालको आदिबासी जानजातिहरु मध्येकै पहिलो र समग्र देशको जनसंख्याको तेस्रो स्थानमा रहेको मगर जाति भित्र पनि भाषा, संस्कार तथा संस्कृतिमा विविधता रहेको पाइन्छ । मगरहरुको आफ्नो मौलिक भाषा, संस्कृति तथा भेषभुषा भएको छुत्तै पहिचान र ऐतिहासिकता बोकेको जाति हो । उनीहरुलाई साहसिक, परिश्रमी तथा इमान्दारी जातिको रुपमा पनि चिनिन्छ । मगरहरु जीवन निर्वाह गर्ने क्रममा आफु जुन ठाँउमा, जुन परिवेशमा बसोबास गरेका छन्, त्यही ठाँउको पर्यावरणसँग अनुकुलन हुने खालका व्यावहार, रहनसहन, चालचलन तथा जीवनशैली अपनाएको पाइन्छ । उनीहरु प्रकृतिलाई आफ्नो जननीको रुपमा थानी भूमी, रुखवृक्ष तथा खोलानालाका मुलहरुमा पूजा गर्ने गर्दछन् । त्यसैले मगरहरुलाई प्रकृतिपुजकका रुपमा पनि चिनिने गरिन्छ ।
मगर समाज आफ्नै खाले धर्म, संस्कार, संस्कृति र तौर तरिकाले चलेको पाइन्छ । उनीहरु मगर भाषा बोल्दछन्, मगर भेषभुषामा सजिन्छन्, मगराँत चाडपर्वमा रमाउछन् र मगराँत धर्मलाई आफ्नो सभ्यता ठान्दछन् । मानिसको जन्म देखि नमरुन्जेलसम्म आफ्नो अस्तित्व बचाउन र बाँच्नका लागि प्रकृतिमा विभिन्न क्रियाकलापहरु गरी जीवन निर्वाह गर्ने गर्दछन् । तर पनि अहिलेको विकास, आधुनिकीकरण तथा विश्वव्यापीकरणका कारण पुर्खैउली थाकथलो छोडी शहरतिर बसाई सर्ने क्रमले मगर जातिका भाषा, धर्म र संस्कृति संकटमा पर्दै गएको पाइन्छ ।

तस्वीर ः बलबहादुर घर्तीमगर

मगरहरुले वर्षलाई दुई ऋतुका रुपमा उँधेली र उभेली लाई मानी खेतीपातीको समय छुट्याउने गर्दछन् । र त्यही समय अनुसार उनीहरुले विभिन्न पूजाआजाहरु गर्ने गरेको पाइन्छ । उनीहरुले अनिवार्य र आवश्यकताका आधारमा विभिन्न समयमा प्रकृतिको पूजा, लैलक्ष्मी (वस्तुभाउ)को पूजा, बालीनालीको पूजा, देविदेवताको पूजा र पितर पूजा गर्ने गरेको पाइन्छ । त्यसमा पूजाको प्रकृति अनुसार पुरै गाउलेले गर्ने सामुहिक पूजा, सन्तान र गोत्रले गर्ने पूजा, एक घरकाले गर्ने पूजा तथा व्यक्तिले गर्ने पूजा फरक फरक हुने गरेको पाइन्छ । त्यसैले यहाँ मगर जातिले आफ्नो सृष्टिकर्ता मृत्यु भैसकेका साखापुर्खा, जिजुबराजु, बाजेबजै तथा बुबाआमाको सम्झना र सम्मानका लागि पितृ थानी गरिने पितर (पुर्खा÷पितृ) पूजा किन गरिन्छ ? कहिले गरिन्छ ? र कसरी गरिन्छ ? भन्ने जिज्ञासा मेटाउन यो लेख तयार गरिएको छ ।

२. अध्ययन सीमा/अध्ययन विधि ः
यो लेख तयार पार्नका लागि अठार मगरात क्षेत्रको रोल्पा जिल्लालाई चयन गरीएको छ । पितर (पुर्खा÷पितृ) पूजाको पूजा गर्ने विधि र प्रक्रियाका बारेमा अध्ययन गर्न जिल्लाका विभिन्न मगर गाँउहरुको भ्रमण, स्थानीयबासी सँगको कुराकानी, मगर पूजारीहरु सँगको अन्तर्वाताका आधारमा कथ्य सामग्रीको संकलन गरी तयार पारिएको छ । मगर समाजमा गरिने पूजाहरुको प्रयाप्त अध्ययन अनुसन्धानको अभावले लेखका लागि चाहिने आवश्यक लेख्य स्रोतहरु प्रयाप्त मात्रामा संकलन गर्न सकीएको छैन । पितर (पुर्खा÷पितृ) पूजा मगर जातिले आफ्नो पुर्खाको सम्झना र सम्मानका लागि गर्ने पूजा भएकाले यो पूजा ठाँउ अनुसार फरक फरक समय र फरक फरक तरिकाले पूजा गर्ने गरिएको पनि पाइन्छ । त्यसैले केही आवश्यक सुचनाको अभाव, समय र साधनस्रोतको अभाव, जानकारीको अभावका कारणले यस पूजा सम्बन्धि केही विधि विधान तथा गर्ने प्रक्रियाहरुको बारेका समाबेश गर्न तथा व्याख्या विश्लेषण गर्नमा छुतेको पनि हुन सक्दछ ।
३. मगर जातिमा गरिने पूजाआजाहरु ः
मगर जातिमा विभिन्न समयमा विभिन्न प्रयोजनका लागि विभिन्न खाले पूजाहरु गर्ने गरिएको पाइन्छ । मगर जातिमा ठूलो देवताका रुपमा बराहा देवताहरुलाई लिई थानमा बली दिएर पूजा गर्ने गरिन्छ । बाह्रभाइ बराहाहरु मगरहरुका पवित्र देवता हुन । भने बाईसबहिनी बज्यूहरु मगरहरुका पवित्र देवी हुन । बाह्रभाइ बराहाहरुको मुख्य थान रोल्पाको जलजलालाई मानिन्छ (घर्तीमगर, २०७१ ः ८५) । रोल्पा जिल्लाको जलजलामा रहेको बामा पुपमा भनिने बामा ओडार (बामाको अर्थ बाबु+आमा=बामा तथा पुपको अर्थ ओडार) बाह्रभाइ बह्राको बुवाआमा बसेको ओडार हो । त्यही ओडारमा बाह्रभाइ बराहा र बाईसबहिनी बज्यूहरुको जन्म भएको हो भन्ने विश्वास गरिन्छ । त्यही भएर प्रत्येक वर्षको बैसाख्या पुन्नी, जेठाँसी पुन्नी र साउने पुन्नीमा सबै बराहहरुका नाममा बामापुपमा बलि दिई पूजा गर्ने गरिएको स्थानियले बताउँछन् । बाह्रभाइ बराहाहरुको जन्मथलोको रुपमा हेरी समग्र त्यस क्षेत्रलाई नै बह्राक्षेत्रको रुपमा चिनिने गरिन्छ ।
जोन हिचककले मगरहरुले पूजा गर्ने देविदेवतालाई धूप खाने र भोग खाने गरी दुई समुहमा विभाजन गरेका छन् । तर मगरहरुले एउटै देवतालाई कहिले धूप मात्र र कहिले भोगसमेत चढाउने भएकाले धूप र भोग खाने देविदेवतालाई स्पष्ट रुपमा छुट्याउन सकिदैन (बरालमगर, २०६८ ः १२९) । बरालमगर ले मगरहरुले गर्ने पूजाहरु पितृ पूजा, कूल पूजा, मण्डली पूजा, बजुबराजू पूजा र अन्य भनि उल्लेख गरेका छन् । उनले उल्लेख गरेका पितृ पूजा, कूल पूजा, र बजुबराजू पूजाका नामहरु रोल्पाका मगर गाँउहरुमा गरिने पूजाका नामहरुसँग मेल खाए पनि रोल्पामा पितृ पूजा, कूल पूजा र बजुबराजू पूजा एकै चोति पितर पूजाका नाममा गर्ने गरेको पाईन्छ ।

तस्वीर ः बलबहादुर घर्तीमगर

सिङ्जाली (२०७१ ः पृ.२१–२९) ले मगरहरुले गर्ने चण्डीपूजाको बारेमा विस्तृत अध्ययन गरेको पाइन्छ । यसरी हाल सम्म पाल्पा, तनहुँ र स्याङ्जा लगायतका बाह्र मगरात क्षेत्रका मगरहरुले गर्ने पुजाआजाका बारेमा केही अनुसन्धान भएतापनि रोल्पा रुकुमका मगरहरुले गर्ने पूजाआजाहरुको बारेमा अध्ययन भएको नभेतिएकाले स्थानिय बासिन्दाहरुको भनाईका आधारमा रोल्पा रुकुमका मगर समाजमा गरिने पूजाहरु भूम्या पूजा, बराहा पूजा, पितर (पुर्खा÷पितृ) पूजा, भिनसिङ पूजा, तिवार पूजा, कुलामी पूजा, पूर्वयानी पूजा, देउती पूजा, छा¥या पूजा, हाईभाँडा पूजा, उत्त¥या पूजा, लगायतका पूजाहरु गर्ने गरिन्छ । यी सबै पूजाहरु गर्दा थानमा तितेपातीले चोख्याएर धुप हाली धजा, अछेता चढाएर प्राय कुखुरा, भाले बोका, भेडा लगायतका पशुपक्षीबाट बलि दिएर गर्ने गरिएको पाइन्छ । यी देवताहरुका पूजा गर्ने विधि प्रक्रिया तथा सामग्रीहरु नत हिन्दुसँग मिल्छ, नत बौद्धसँग मिल्छ । तर पनि दुःखको कुरो मगरका आफ्नो मौलिक धर्म र सभ्यता हुँदाहुँदै पनि अध्ययन अनुसन्धानको अभावका साथै संस्थानीकरण हुन नसक्दा मनले नस्विकार्दा नस्विकार्दे पनि आफ्नो धर्म कोहीले हिन्दु, कोइले बौद्ध त कोहीले क्रिश्चियन लेख्न बाध्य भएको पाइन्छ ।

४. पितर (पुर्खा/पितृ) पूजा ः
पितरहरुलाई दाइनो पार्न सम्मान गरी पुजीने पितर (पुर्खा÷पितृ) पूजा मगर जातिको मौलिक पूजा हो । यसको शुरुवाट कहाँ बाट ? कहिले देखि भएको हो ? भन्ने कुराको उत्तर पाउनका लागि अभैm खोज तथा अध्ययन भएको पाईदैन । यो पूजा मगर जातिमा आफुलाई जन्म दिने बुवा आमा, बुवालाई जन्म दिने बाजे बज्यै, बाजेलाई जन्म दिने जिजु जिजुनी, जिजुलाई जन्म दिनु क्याप्जु क्याप्जुनी लाई बितिसके पछि आफ्ना पुर्खाहरुलाई पितर थानी उनीहरुको आत्माले शान्ती पावस देउपितर दाइनो (शान्त) भएर हामीलाई सधै रक्षा गरुन भन्ने मान्यताका साथ पुर्खाहरुको सम्झना र सम्मान स्वरुप पूजा गर्ने गरिएको पाइन्छ । छोराछोरीहरुले तोकिएको गाँउ नजिकै सार्वजनिक बाटोहरुमा विसौना बनाई पिपल, ल्यखुरी, ओखरका विरुवा रोपिदिने चलन रहेको पाइन्छ । त्यस विसौनामा प्रत्येक जिजु, बाजेका अलग अलग थानहरु छुट्याएर बनाइएको हुन्छ । जुन थानमा प्रत्येक वर्षको जेठाँसी पुन्नी, मंसिरे पुन्नी, वा औंशी (दवारा) मा गाँउका जिजुबाजेका सबै सन्तानहरु प्रत्येक घरबाट विसौनामा गई गरिने पूजालाई पितर (पुर्खा÷पितृ) पूजा भनिन्छ । जुन पूजाका लागि घरमा पहिलेदेखि नै पितृहरुका नाममा पितर स चढाउनका लागि जाँड बनाएर राखिन्छ । करिब एक बर्ष अगाडीदेखि पितरहरुका नाममा चल्लालाई उठाएर पाल्ने गरिन्छ जसलाई मगर खाममा पितर बाँदा भनिन्छ । पितर (पुर्खा÷पितृ) पूजालाई स्थानिय मगर खाममा (पितर बाँदा ख्याने) भनिन्छ । घरको अनुकुलता अनुसार सकिएमा वर्षको दुई पटक जेठाँसी पुन्नी र मंसिरे पुन्नीमा पितर बाँदा फालिन्छ भने नसकिएमा कम्तिमा वर्षको एकचोटी भने गर्नु नै पर्ने अनिवार्य जस्तै मानिन्छ । यो पूजा ठाँउअनुसार कसैले जेठाँसी पुन्नीमा मात्रै कसैले मंसिरे पुन्नीमा, कसैले (दवारा) तिहारको औंशीमा त कसैले माघे सकराती वा माघ महिनाको कुनै पनि बिहिबारका दिनमा भएपनि वर्षको एकचोटी पितर पूजा गर्ने गरिएको पाइन्छ ।
रोल्पा रुकुमका प्राय गाँउ तथा बाटोहरुमा यस्ता विसौनाहरु थुप्रै देख्न पाइन्छ । जुन विसौनालाई मगरहरुले पवित्र ठाँउको रुपमा मानी पितृहरुको आस्था र मान राख्ने थलोका रुपमा पनि पुज्ने गर्दछन् । तरपनि हाल देशमा भएको सशस्त्र जनयुद्धका कारण यो क्रम अनियमित भई कसै कसैले पूजा गर्न नै विर्सिसकेको पनि पाइन्छ भने अहिलेको आधुनिक जमानासँगै आफुलाई आधुनिक ठान्नेहरुले यो बाजे बज्यैले गर्दै आएको रुढीवादी परम्परा हो भनेर पूजा नगर्ने गरेकाले चित्त दुख्ने र आफुलाई जन्म दिने आमा बुवाको मानै नराखेको पुर्खाको अपमान गरेकाले चित्त दुख्ने गरेको स्थानियले बताउछन् । कसैले बसाई सराईका कारणले अरुको समाजमा गएपछि पूजा गर्ने अनुकुल ठाँउ, सामग्रीको अभाव तथा अन्य समाजको प्रभावले यो पितर पूजा गर्ने नगरेको पाइन्छ । भने गाँउमै रहेका मगरहरु पनि सडक निर्माण र विस्तारका कारण बाटोमा रहेका उहिले देखिका पुर्खाहरुका नाममा बनाईएका कयौं विसौनाहरु पूजा गर्ने थानहरु डोजरले भत्काईएको ले गर्दा पनि पितर पूजा गर्ने नगरेको बताउछन् भने कसैले त्यो भत्कीएको थानको ढुङ्गा खोजेर ल्याई घरनजिकै राखी पितर पुृजा गर्ने गरेको बताउछन् ।
हरेक औसी पुन्नी, चाडपर्व, घरमा गरिने हरेक उत्सब (विवाह, न्वारन) लगायत परपाहुना आउँदा, चेलीवेटी माईत आउदा जहिले पनि आफुले खानुभन्दा अगाडि चुलोको माथी बनाइएको बारमा पितर स चढाएर मात्रै खाने गरिन्छ । हरेक चाड पर्वमा आफ्नो सन्तानको सबैभन्दा वर्षले जेठो लोग्ने मान्छेलाई एक बोटल रक्सी, मासु र रोटी लगेर कुलको जेष्ठ व्यक्तिलाई मान राख्ने चलन पनि मगर समाजमा रहेको पाइन्छ । जसलाई स्थानिय मगर खाम –भाषा) मा पितर स/लिस भन्ने गरिन्छ ।

तस्वीर ः बलबहादुर घर्तीमगर

४.१. पूजा गरिने पितरहरू ः
पितर पूजा गर्दा ठाँउ र चलन अनुसार पितरहरुको विभिन्न प्रकारहरु रहेता पनि प्राय गरी निम्न प्रकारका पितरहरुलाई मानी एकै चोती पूजा गर्ने गरिएको पाइन्छ ।
१. पुर्खा पितर
क) साखा पितर (जिजु भन्दा अगाडीका साखा पुर्खाहरु)
ख) देउ पितर (परिवारमा मानिने देउताहरु बाह्र भाई बराहा, एक्ले सिद्ध, काला सिद्ध आदि)
ग) कुल पितर (आफ्नो चुलाका थाहा पाईए सम्मका जिजु बाजेको नाम लिई अन्तिम मृत्यू भएको व्यक्तिको नाममा पु¥याएर थकानिने)
२. मुथुङ पितर (भर्खरै बितेको घरको बुवा आमा, बाजे बजै वा नजिकको नाता)
३. झाँक्री पितर (घरका वा सन्तानमा वितेका झाँक्री नभएमा धङस्याल झाँक्री)
४.२. पूजाका लागि चाहिने आवश्यक सामग्री ः
पितर पूजा गर्नका लागि सरी स्याउला, फादुला, धजा, धुप, तिते पाती, अछेता (चामल), कमेरो, गोबर, रुना (तामाको टुक्रां) भाले, रोटी, रक्सी वा जाँड, रिस (चोखो पानी) आदि सामग्री आवश्यक पर्ने गरेको पाइन्छ ।
४.३. पूजाको विधि ः
मगर जातिमा आफ्ना बुवा आमा, बाजे बजै, जिजु जिजुनी र उहाँहरु भन्दा अगाडी देखिका आफ्ना पुर्खाहरु बिते पश्चात उनीहरुको नाममा निश्चित तोकिएको थर अनुसार रोका थर, वुढा थर, घर्ती थर र पुन थरको ठाँउमा विभिन्न विधि पु¥याएर विसौना बनाउने चलन रहेको पाइन्छ । विसौनामा लाकुरी, पिपल र ओखर जस्ता रुख रोप्ने गरिएको पनि पाइन्छ । जुन विसौनामा घरका पितरहरुका नाममा छुत्ता छुत्तै थान पनि बनाईएको पाइन्छ । जुन सन्तानका सबैभन्दा जेठो पाको व्याक्तिले पूजा गर्ने गरिएको पाइन्छ । जुन पूजा गर्ने पूजारुले पूजा गर्नुभन्दा केही दिन देखी बितालो नखाएर चोखो बस्नु पर्दछ, भने पूजा गर्ने पुन्निको अगिल्लो दिनमा नुन समेत नखाई चोखो बस्नु पर्ने हुन्छ । पितर पूजा गर्ने वाला घरमा पनि पूजाको अगिल्लो साँझ रोटी बनाएर नुन बिनाको खानेकुरा खाएर घरमा गोबर र तितेपतीले चोखो बनाउनु पर्ने हुन्छ । पूजाको दिन बिहान घरमा धुप हालेर गाँउका प्राय सबै मानिसहरु विसौनामा जम्मा हुन्छन् ।
त्यस पछि विसौना थान सफा गर्ने गोबर र तितेपातीले चोख्याउने गरिन्छ । त्यस पछि शुरुमा देउपितर लाई पूजा गर्ने गरिन्छ । जसलाई एकदमै चोखो बनाएर थानमा तितेपातीको हाँगा गाडेर त्यसमा धजा झुण्डयाउने गरिन्छ । त्यसपछि अछेता चारैतिर फालेर पूजारुले देउपितरका लागि (स्थानिय मगर खाममा पर्मैन्या) भनिने मन्त्र भन्दै भाले हातमा लिएर सबै देउपितर दाइनो हुनु, हामी सबैलाई रक्षा गर्नु, आँटेको पुरा गरिदिनु आदि कुराहरु भन्दै तितेपाती (रिस) पानीमा डुबाउदै भालेको टाउकोमा छ्यापीदिने गर्दछन् । भालेले टाउको हल्लाएर पानी फालेमा देउपितरले मान्यो भनि थानमा कातिन्छ । भालेको टाउको थानमै राखिन्छ । यसरी अन्य साखा पितर, कुल पितर र मुथुङ पितरको लागि पनि आफुले ल्याएका रोटी, रक्सी, रुना, थानमा चढाएर तितेपातीमा धजा झुण्डयाएर प्रत्येकको लागि फरक फरक थानमा एउटा एउटा भालेलाई सबै साखा पुर्खा पितरहरु, कुल पितरहरु, मुथुङ पितरहरु दाइनो हुनु, तिम्रो नाम जोवनाम गरिदिईम, हाम्रो रक्षा गर्नु, आदि आदि कुराहरु भन्दै थानमा पूजा गरी सबै भालेका टाउको थानमै चढाउने गरिएको पाइन्छ भने झाँक्री पितरका लागि फादुलाको हाँगामा धजा टङग्याएर थानमा कमेरो घसेर रक्सीले साकासक फाली रक्सी, रोटी चढाएर मन्त्र गरी भालेले भोक दिएर पूजा गर्ने गरिएको पाइन्छ ।
अन्तमा थानको ढुङ्गामा गोबर राखेर पूजा गरिएका भालेको पखेताको प्वाँख निकाली गोबरमा कलात्मक तरिकाले प्वाँख गाडेर पूmलको आकृति जस्तै बनाउने गरिएको पाइन्छ । पूजा गरिएका भालेहरु त्यही विसौनामा पोलेर पूजारुले भालेको मुटुले साका सक फाली थानमा चढाए पछि बल्ल त्यस थानमा चढाईएका रोटी, रक्सी तथा भालेको टाउको उकासेर ल्याउने गरेको पाइन्छ । त्यसपछि सबै जना चढाईएका खानेकुराहरु बाँधेर खाने गरेको पाइन्छ । यसरी पितर पूजाको समाप्ती पछि घरमा आएर ती सन्तानका उमेरले जेठो रहेको मानिसलाई पितर स लगीदिने चलन पनि रहेको पाइन्छ ।
५. निष्कर्ष ः
पितर पूजा मगर जातिमा गरिने एउटा मौलिक पूजा हो । यो पूजा मगराँत गाँउहरुमा पुर्खौ देखि गर्दै आएको पाइन्छ । यो पितर पूजा गरिरहे पछि यात्रा सफल हुने, अनबर, धनबर पाईने, व्यापार फलदायी हुने देउपितर लाई सम्झेर आत्मबल बलियो भएको महसुस हुने जस्ता विश्वास गर्ने गरेको पाइन्छ । भने पितर पूजा नगरेमा देउपितर शान्त नगरेमा पितर रिसाउने, छल गर्ने, बनोबल उच्च नहुने भएकाले आफुले गर्न लागेका हरेक कामहरुमा सफलता पाउन गाह्रो हुन्छ भन्ने भनाई रहेको पाइन्छ । पितर पूजाले आफुलाई जन्म दिने पुर्खाहरुको सम्मान गर्ने, गोत्रको पहिचान गर्ने, दाजुभााई तथा दिदि बहिनिहरुमा आपसी सम्बन्ध गाढा राख्ने, आफुभन्दा ठूलोलाई मान राख्ने, पुरानो पुस्ता र नयाँ पुस्तालाई समायोजन गर्ने आदि संस्कारको विकास पनि गरेको पाइन्छ । यसरी मगर जातिमा पितर पूजा पुर्खौ देखि गर्दै आएको भएतापनि बिशेषत देशमा भएको सशस्त्र द्वन्द, बसाई सराई, आधुनिकता सँगै विश्वव्यापीकरण जस्ता विभिन्न कारणहरुले गर्दा अहिलेको नयाँ पुस्तामा संस्कार हस्तान्तरण हुन नसकी यो पितर पूजा गर्ने मगर संस्कार पनि लोप हुँदै जाने खतरामा रहेको पाइन्छ ।
परापुर्वकालमा नेपालका मगरहरुको एकै किसिमका भाषा संस्कृति रहेको भएतापनि समयको गतिसँगै बसोवासको क्रममा देशको विभिन्न भागहरुमा छरीएर बसोबास भएकाले मगर जातिभित्र भाषिक साँस्कृतिक रुपमा केही विविधता रहेको पाइन्छ । मानिस बाँच्नका लागि जुन ठाँउमा वसोवास गरिएको छ त्यस ठाँउको पर्यावरणसँग आफुलाई अनुकुलन गर्दै बाँच्नु पर्ने भएकाले मगरहरुको कयौ मौलिक संस्कारहरु लोप भएको पाइन्छ । केही संस्कारहरु परिमार्जन गर्दै मनाइएको पनि पाइन्छ भने केही कुनाकानीका मगर गाँउहरुमा बचेका मगर संस्कारहरु पनि लोप हुँदै जाने खतरामा रहेको पाइन्छ । त्यही भएर नेपालका सम्पुर्ण मगरहरुले यो पितर पूजा केही न केही रुपमा पितरकै पूजा गर्ने गरेता पनि ठाँउ अनुसार, चलन अनुुुसार फरक नामले पुकार्ने, फरक समयमा गर्ने र फरक फरक सामग्रीको प्रयोग गरीे पितरहरुलाई पुज्ने कार्य भएकाले कोई कोई मगरहरुले हामीले गर्दैनौ, हामीले अर्कै पूजा गर्छौ, हामी त अर्कै हौं भन्ने खालका आफुलाई पृथक देखाउने कामले पनि हामी मगरहरु बीच साँस्कृतिक एकता हुन नसकिरहेको अवस्था छ ।
त्यसैले यी र यस्ता मगराँत संस्कारहरुको खोज तथा अनुसन्धान गरी मुख्य जरा कुन हो ? कसरी गरिन्छ ? भनि सिद्धान्तको खोजी गर्नु पर्ने आबश्यकता छ । अन्यथा मगरहरुको संस्कार हराउँछ त्यसपछी संस्कृति हराउदै भाषा हराउछ र अन्तमा जाति नै हराएर लोप हुने अवस्थामा पुग्न सक्ने खतरा पनि हुन सक्दछ । त्यसैले मगराँत मौलिक संस्कारको संरक्षण, र संस्थागत विकासका लागि राज्यको उपयुक्त नीति तथा कार्यन्वयनको खाँचो रहेको छ भने सम्बन्धित समुदायका सरोकारवालाहरुको ध्यान जान पनि जरुरी देखिन्छ ।
सन्दर्भ सामग्रीहरु ः
घर्तीमगर, बलबहादुर, २०७१. मगर संस्कार, रोल्पाः आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् ।
बरालमगर, केशरजङग, २०६८. पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरुको संस्कृति, दोस्रो संस्करण, काठमाडौंः अस्मिता बुक्स पब्लिसर्स एण्ड डिष्ट्रिब्युटर्स (प्रा) लि. ।
सिङ्जाली विष्णुकुमार, २०७१. आदिवासी मगरका विविध पक्षहरु, काठमाडौंः मगर अध्ययन केन्द्र ।
हिच्कक, जोन टी. (१९७०) द मगर्स अफ बनयान हिल्, न्यू हिलः हल्ट रिन्जर्ट एण्ड विन्स्टन । www.cbs.gov.np

सुचनादाताहरु ः
थबाङ २ रोल्पाका वर्ष ५८ का सत्यप्रसाद वुढामगर (मिति २०७२ असार २४ गते)
मिरुल ५ रोल्पाका वर्ष ६८ का पूजारी सर्बै रोकमगर (मिति २०७१ चैत्र २८ गते)
घोराही ६ दाङका वर्ष ३९ का भु.पु. आर्मी विपिन रोकामगर (मिति २०७२ कात्तिक २३ गते)
मिरुल ५ रोल्पाका वर्ष ५४ का गोविन्द झाँक्रीमगर (मिति २०७२ कात्तिक ७ गते)
थबाङ २ रोल्पाका वर्ष ७० का पूजारी दयाजी रोकामगर (मिति २०७२ असार २८ गते)
थबाङ ४ रोल्पाका वर्ष ४८ का भद्र झाँक्रीमगर (मिति २०७२ असार २४ गते)
मिरुल ५ रोल्पाका वर्ष ६८ का पूजारी लहरबहादुर झाँक्रीमगर (मिति २०७२ कात्तिक ६ गते)
मिरुल ५ रोल्पाका वर्ष ७० का लालबहादुर झाँक्रीमगर (मिति २०७२ कात्तिक ६ गते)
मिरुल ५ रोल्पाका वर्ष ३४ का दिपेन्द्र वुढामगर (मिति २०७२ मंसिर २४ गते)
अनुसुची – १
शब्दावली
पुन्नी = पूर्णिमा
रुना = तामाको पैसा
लिस = पूजाआजा गर्दा, पितर स सँग दिईने रक्सी जो पहिले पहिले बाँसको भाँडामा राखी शुद्धकार्यका लागि प्रयोग गरिन्छ ।
रिस = पूजाआजामा बलि दिँदा पशुपँछीलाई पर्सिने/छकिर्ने शुद्ध पानि