मृगौलापीडित सुशीलालाई मगर संघ, कास्कीको ३६ हजार बढी सहयोग

पोखरा, २५ कात्तिक
दुवै मृगौला खराब भइ हाल पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत बागलुङको निसीखोला गाउँपालिका–१, देवीस्थानकी ३३ वर्षीया सुशीला पुनमगरलाई उपचार सहयोगार्थ नेपाल मगर संघ, कास्कीले आर्थिक सहयोग गरेको छ ।
मगर संघ, कास्कीको पहलबाट संकलित ३० हजार ९ सय ५० रुपैयाँ र व्यक्तिगत तर्फबाट संकलित ६ हजार रुपैयाँ गरी ३६ हजार ९ सय ५० रुपैयाँ मृगौलापीडित सुशीलालाई मंगलबार हस्तान्तरण गरिएको हो । सो अवसरमा मगर संघ, गण्डकी प्रदेशकी उपाध्यक्ष तारामाया थापामगर र कास्की जिल्ला अध्यक्ष संगीता पुनमगरलगायतले हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरणका लागि पुगेका उपाध्यक्ष बुद्धिमाया थापामगर, कोषाध्यक्ष चन्द्रबहादुर पुर्जामगर, संगठन विभाग प्रमुख क्या. भक्तबहादुर पुनमगर र जिल्ला सचिवालय सदस्य देउकुमारी थापामगरले समेत व्यक्तिगत रुपमा नगद सहयोग गर्नुभएको थियो । मृगौलापीडित सुशीलाको उपचारमा थोरै भएपनि राहत पुगोस् भनेर मगर संघ, कास्कीले सक्दो आर्थिक सहयोग गरेको अध्यक्ष पुनमगरले बताउनुभयो । सहयोगका लागि धन्यवाद दिँदै मृगौलापीडित सुशीलाकी दाइ भक्त पुनमगरले मृगौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले सहयोगको याचना गरिएको बताउनुभयो ।
सामान्य किसान परिवारकी सुशीलालाई यतिबेला आर्थिक समस्याका कारण नियमित डाइलासिस गराइरहन गाह्रो भएको छ । मृगौला प्रत्यारोपणका लागि समेत २०÷२५ लाख रुपैयाँ खर्च हुने भएकाले आर्थिक अभावका कारण उपचारमा समस्या भएको सुशीलाकी दाजु भक्त पुनमगरले बताउनुभयो । आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै मृगौलापीडित सुशीलाले आफ्नो ज्यान बचाइदिन सबैसँग अपिल गर्नुभएको छ ।
मृगौलापीडित सुशीलाका बारेमा समाचार प्रकाशित भएपछि उहाँको उपचार सहयोगार्थ आर्थिक सहयोग आउने क्रम जारी छ । उहाँको उपचार सहयोगार्थ आर्थिक संकलनका लागि नेपाल मगर संघ, गण्डकी प्रदेशकी उपाध्यक्ष तारामाया थापामगरले पहल गरिरहनुभएको छ । यसअघि, हामी मगर मगरनी लाफा ग्रुपले १२ हजार रुपैयाँ, मगर संघ प्रवास शाखा कतारले ५० हजार रुपैयाँ, मगर फोटो ग्यालरीले १५ हजार रुपैयाँ र लायन्स क्लब अफ पोखरा ग्रीन वेभले २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको सुशीलाका दाजु भक्तले जानकारी दिनुभयो ।
मृगौलापीडित सुशीलालाई सहयोग गर्न दाइ भक्त पुनमगरको सम्पर्क नम्बर ९८६११३१९४२ र भदै दुर्गा पुनको सम्पर्क नम्बर ९८४६४८३१९६ मा सम्पर्क गर्न सकिनेछ भने दाइ भक्तबहादुर पुनको नाममा प्रभु बैंक लिमिटेड, बुर्तिबाङ शाखामा रहेको बैंक खाता नम्बर ०७२०१०००४८७८०१०००००१ मा सीधै रकम जम्मा समेत गर्न सकिनेछ ।

Advertisment