शववाहन र एम्बुलेन्स खरिदका लागि नागरिक परोपकारको आर्थिक अभियान सुरु

पोखरा, २१ कात्तिक
शववाहन र एम्बुलेन्स खरिदका लागि नागरिक परोपकार समन्वय संस्था, पोखरा–३०, कास्कीले आर्थिक संकलन अभियान सुरु गरेको छ ।
शुक्रबार शिशुवास्थित शिव मन्दिर परिसरमा आयोजित कार्यक्रममार्फत् संस्थाले आर्थिक संकलन अभियान सुरु भएको घोषणा गरेको हो । आर्थिक संकलनका लागि संस्थाले उपेन्द्रराज सुवेदीको संयोजकत्वमा आर्थिक संकलन उपसमिति समेत गठन गरेको छ ।


आर्थिक संकलन अभियान सुरु भएको पहिलो दिनमै संस्थाले झण्डै ७ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । कास्की जिल्लालाई नै कार्यक्षेत्र बनाइ स्थापित सो संस्थाले शववाहन र एम्बुलेन्स खरिदसँगै विपद्मा परेका नागरिकका लागि मानवीय सेवा सञ्चालन गर्न समेत आर्थिक संकलन अभियान सुरु गरिएको जनाएको छ ।
आर्थिक संकलन अभियान शुभारम्भ कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. ३० का वडा सदस्य सोमलाल कँडेलले संस्थाको अभियानमा वडा कार्यालयको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडा कमिटी अध्यक्ष कृष्ण अधिकारी र नेपाली कांग्रेसका वडा सभापति निरलाल तझ्याले संस्थाको राम्रो कामका लागि आफूहरूको साथ रहने उल्लेख गर्दै शववाहन र एम्बुलेन्स खरिद गर्न भन्सार छुटका लागि पहल भइरहेको जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष राजेन्द्र ओझाले आर्थिक संकलन अभियानलाई पारदर्शी बनाइने उल्लेख गर्नुभयो । त्यस्तै, लायन्स क्लब इन्टरनेशनल ३२५ बी वानका डिष्ट्रिक्ट कोचिफ एड्भाइजर लायन विनोद ढुंगानाले यस सामाजिक कार्यमा लायन्सको पूर्ण साथ रहने वचन दिनुभयो ।
सो अवसरमा आर्थिक संकलन अभियान सुरु भएको पहिलो दिनमै ६ लाख २१ हजार ७ सय ८७ रुपैयाँ संकलन भएको संस्थाका सचिव रामराज अधिकारीले जानकारी दिनुभयो । अभियानका लागि संस्थाका अध्यक्ष राजेन्द्र ओझाबाट १ लाख ११ हजार ८ सय ८८ रुपैयाँ, मेघनाथ तथा सुमित्रा सुवेदीबाट १ लाख १ हजार ७ सय ६६, मेघ कन्स्ट्रक्सनका तर्फबाट प्रेम थापा ५१ हजार १ सय ११, संस्थाका सचिव रामराज अधिकारीबाट ५१ हजार १ सय ११, शिवराज अधिकारीबाट ३३ हजार ३ सय ३३, छत्रधर आत्रेयबाट २५ हजार ५ सय ५५, विनोद ढुंगानाबाट २५ हजार, टिकाबहादुर रानाभाटबाट २५ हजार रुपैयाँ, नेकपाका वडा कमिटी अध्यक्ष कृष्ण अधिकारीबाट ११ हजार १ सय ११ रुपैयाँ सहयोग संकलन भएको सचिव अधिकारीले जानकारी दिनुभयो ।

Advertisment