पितृ पूजा परम्परा ः बाह्र भाइ पुर्खा र बराह

                                                                                                            -डा. मीन श्रीस मगर

मगर समाजमा पितृपूजा परम्पराको विशेष स्थान र प्रभाव रहेको पाइन्छ । पितृहरूलाई वराह, वराही, भरानी, वराज्यू, बज्यूबराज्यू, बाजेबजै, मण्डली, करवाकेली, भूमे, सिद्ध, भैरम, कुल, पिटर, कुलामी, कुलपितृ आदि अनेकौं नामबाट सम्झने र पूजाआजा गर्ने परम्परा रहेको छ । कुलपितृ सम्बन्धमा गाउँघरमा विभिन्न खाले किंवदन्तीहरू पनि सुन्न पाइन्छन् । राप्ती क्षेत्रको मगर समाजमा बाह्र भाइ बाज्यू (वराह) र बाइस बहिनी बज्यू सम्बन्धी किंवदन्ती प्रचलित रहेको छ । यसैगरी डोल्पाली मगर समाजमा सात भाइ र दुई बहिनी पितृहरूलाई पुज्ने गरिन्छ । समाजमा परम्परादेखि चल्दै आएका र केही अन्धविश्वास समेत मिश्रित घटना वा जनश्रुतिलाई किंवदन्ती भनिन्छ । समाजमा भए गरेका कतिपय महत्वपूर्ण घटनाहरूलाई पुस्तौंपुस्ता मौखिक परम्पराबाट सुन्दै र सुनाउँदै जाने क्रममा असमान्य, अलौकिक तथा प्रतिकात्मक बन्न पुगेका हुन्छन् । हरेक समाजका संस्कृतिमा यस्ता किंवदन्तीहरूले विशेष स्थान लिएको पाइन्छ । लिखित इतिहासको अभावमा यस्ता किंवदन्तीहरूको समाजशास्त्रीय विश्लेषणबाट पनि तथ्यको नजिक पुग्न सकिने सम्भावना रहेको हुन्छ । किंवदन्तीका सम्बन्धमा विलियम पी. स्कट (सन् १९९९) ले लेखेका छन् “A highly symbolic account or story of a supernatural or extraordinary event within a culture or subculture. The myth is continually retold and contemplated for its wisdom, philosophy, inspiration or practicality.”  (पृ. २६९) ।

किंवदन्तीअनुसार रोल्पा जिल्लाको साविक थवाङ, जेलवाङ, धवाङ, मिरुल र उवा गाविसको केन्द्र तथा शिरमा रहेको जलजला लेकलाई बज्यूवराहको थलो मानिन्छ । यो स्थान समुद्र सतहबाट ३,१९३ मिटर उचाईमा रहेको छ । जलजला स्थित भामापुप (बामा=कुखुरा+ पु/पुप=ओडार अर्थात माउ कुखुराले चल्ला ढाकेर बसेजस्तो देखिने ओडार) मा बाह्र भाइ बाज्यू र बाइस बहिनी बज्यूलाई पुज्ने गरिन्छ । जलजलाको समथर भागमा कैलु वराह, सतदेव वराह (सिद्ध वराह), झांक्री आदिको देवस्थल समेत बनाइएको छ । यो धार्मिक स्थललाई ‘जलजला बज्यूवराह’भन्ने गरिन्छ । ‘बज्यू’शब्दले वाइस बहिनी बज्यू (बजै) र ‘वराह’शब्दले बाह्र भाइ बाज्यू (बाजे) अर्थात पितृहरूलाई जनाउँदछ । मगर भाषामा १२ अंकलाई ‘बार्हाङ’भनिन्छ । ‘बार्हाङ बाज्यू’(बाह्र भाइ बाजे) भन्दाभन्दै कालान्तरमा बार्हाङ–बर्हाङ–बरहाङ–बरहा हुँदै जनजिब्रोमा ‘बराह’शब्द प्रचलनमा आएको बुझिन्छ । तिनै बाह्रभाइ र वाइस वहिनी पितृहरू नै म्याग्दी, वागलुङ, पोखरा, गुल्मी, दाङ आदि स्थानतिर वराह, वराही, भरानी आदि नामले पुजिने गरेको जनविश्वास र मान्यता रहेको छ । मगर संस्कृतिका ज्ञाता बमकुमारी बुढा मगरका अनुसार जलजला स्थित ‘वज्यूवराह’रुकुमको मैकोट बुकी (लेक) बाट रोल्पाको जलजला लेकमा पुगेका थिए भन्ने किंवदन्ती पाइन्छ । रुकुमको मैकोट क्षेत्रलाई मगर जातिको पुर्खा उत्पत्ति भएको स्थलको रुपमा समेत विश्वास गरिन्छ । माइकल ओपित्ज (सन् १९८३) का अनुसार रुकुमको हुकाम र टाका गाउँमा प्रचलित मगरहरूको उत्पत्ति सम्बन्धी किंवदन्तीअनुसार उनीहरूको पुर्खाको उत्पत्ति स्थल उत्तरगंगा र पेल्मा उपत्यकालाई छुट्याउने उत्तरी डाँडानेरको पिमाछारे भनिने चट्टाने गुफा हो । पेल्मा गाउँबाट तीन घण्टा हिडाईको दूरीमा अवस्थित उक्त भगवानको विचरण स्थल (god dwelling place) गुस्ताङ खोला र कयाम डाँडो वीचको भिरालो चट्टानलाई मानिएको छ । किंवदन्तीहरूका आधारमा बाह्र भाइ बाज्यू अर्थात ‘वराह’नै मगरहरूको मूल पुर्खा (पितृ) भएको बुझिन्छ ।बाह्र भाइ वराहहरू कैलु, कुजे, सहदेउ, हाँसु, सेर्तु, एक्ले, भिराखानी, ढोर, खैलु, मैलु, छारे र चितु थिए । कैलु र सतदेवको थान जलजलामा रहेको छ । सतदेवलाई सिद्ध पनि भन्ने गरिन्छ । वागलुङको ताराखोला गाउँपालिका क्षेत्रका मगरहरूले सतदेउलाई आफ्ना कुलदेवताका रुपमा पुज्ने गर्दछन् । पाल्पाका चितौरे राना, बराल, गाहा आदि उपथरका मगरहरूले पनि बराहलाई कुलदेवताका रुपमा पुज्छन् (बराल मगर, २०६८: १३०) । ढोर वराहको थान वागलुङको ढोरपाटनमा रहेको छ भने कुजे वराहको पूजा दाङ स्थित वराहक्षेत्र बाह्रकुनेमा गरिन्छ । वाइस वहिनी बज्यूहरू पूर्व्यानी, रानी, चतुरमाला, शेकमाला, परमीमाला, औतानी, लुली, कुजी, सेती, काली, पहेँली, सिद्धवन्ती, रङ्माला, गङ्गमाला, पानीमाला, शङ्खमाला, गौमाला, भीउमाला, लिङ्ङुमाला, पीङ्ङुमाला, मालङ्गेनी र चालङ्गेनी थिइन् (घर्ती मगर, २०७१: ६४ र ६९) । बाइस बहिनी बज्यूहरू मध्ये सात बहिनी बज्यूको पूजा अगेनामा गरिन्छ, जसलाई चुल्होपूजा वा बज्यूपूजा भनिन्छ । शिशुको न्वारान संस्कारमा बज्यू परङ्गीको पूजा गरिन्छ । वाइस वहिनी बज्यू अर्थात महिला पितृहरूलाई वराही/वाराही (वराहको स्त्रीलिङ्गी शब्द) को रुपमा पनि पुज्ने गरिएको पाइन्छ । म्याग्दीमा भरानी नामले समेत पुज्ने गरिन्छ । खयर भरानी, फेरी भरानी, नाकचे भरानी, मंगले खानी वराही, रिगात् वराही, दहखर्क वराही, ठूली धुरी वराही, रुवा चउर काली वराही, रुवा चउर पाताल्नी वराही, श्रीखर्क वराही, निस्कोट वराही, गुर्जा वराही आदि म्याग्दी क्षेत्रमा पुजिने बज्यूहरू हुन् । समुद्र सतहदेखि ४,६३० मिटर उचाईमा अवस्थित म्याग्दीको खयर तालमा पुजिने खयर भरानी यो क्षेत्रको निकै चर्चित धार्मिक स्थल हो । तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं. १४ (साविक केशवटार–७) कुलुङ गाउँमा रहेको छाव्दीवाराही प्रसिद्ध धार्मिक स्थलको रुपमा स्थापित भएको छ । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका वडा नं. ६ स्थित रौतामाई र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका वडा नं. १ स्थित वराहपोखरीलाई दिदीवहिनी हुन् भन्ने किंवदन्ती पाइन्छ । राना मगर पुजारी रहेको रौतामाई धार्मिक स्थलमा नेपालका विभिन्न स्थानका साथै छिमेकी देश भारतबाट समेत भक्तजन आउने गर्दछन् ।

मगर जातिको पितृपूजा (ancestor worship) परम्पराबाट स्थापित वज्यूवराह अर्थात वाराही एवं वराह देवस्थलहरूमा नेपालका हिन्दू तथा बौद्ध समुदायले पनि आ–आफ्नै धार्मिक मान्यता र विश्वासका आधारमा पूजा गर्दै आएको पाइन्छ । काठमाडौंका बौद्ध बज्रयानी नेवार समुदायले छाब्दी वाराहीलाई इष्टदेवीको रुपमा मान्ने गर्दछन् । काठमाडौं उपत्यकामा चार दिशामा चार वाराही बज्रवाराही, स्वेतवाराही, नीलवाराही र धूमवाराही रहेको पाइन्छ । बज्रयोगिनी, बज्रवराही, बज्रभैरब आदि बौद्ध धर्मका बज्रयानी सम्प्रदायका देवीदेवता भएको संकेत मिल्दछ (मनुकर्मी, २०४६: १०) । यस अर्थमा पनि बौद्ध बज्रयानी सम्प्रदायका नेवारहरूले छाब्दीवाराहीमा पूजा गर्न आउने गरेको पाइन्छ । वौद्ध वज्रयानी नेवारहरूले रक्सी र मांसयुक्त प्रसाद चढाउने गर्दछन् । यसैगरी नेपाली हिन्दू समुदायले पनि मगर पुजारी रहेका वज्यूवराह देवस्थललाई शास्त्रीय मान्यताका आधारमा ‘वराह’र ‘वराही’ को रुपमा व्याख्या गरेको पाइन्छ । संस्कृत भाषामा सुँगुर वा वनेललाई वराह भनिन्छ । विष्णु भगवानका दस अवतारमध्ये मत्स्य अवतार र कच्छप अवतार पछिको तेस्रो अवतारलाई वराह अवतारको रुपमा पुराणमा वर्णन गरिएको छ । व्यासद्वारा रचित अठार पुराणमध्ये एक वराह पुराणमा वराह–अवतारको महात्म्य वर्णन गरिएको छ । यसैगरी हिन्दू धर्मशास्त्रमा तान्त्रिक देवीदेवतामा अष्टमातृका गण बह्मायणी, माहेश्वरी, कौमारी, वैष्णवी (भद्रकाली), वाराही, इन्द्रायणी, चामुण्डा र महालक्ष्मीको वर्णन गरिएको पाइन्छ । यीमध्येकी वाराहीदेवीको रुप र ध्यान यस प्रकार उल्लेख गरिएको छः

ततोध्यायेद घनश्यामां त्रिनेत्रा मुन्न तस्तनीम् ।

कोलास्यां चन्द्रमालां च दष्ट्रिध्दृ तव स्त्रुन्धराम् ।।

खडगाङ कुशी दक्षिण योर्वाम योश्र्वर्म पाशको ।

अश्वारुढां भीषणास्यां नानालङ्कार भूषिताम् ।।

घोडामाथि चढेकी, चार बाहुमा दाहिने हातमा खड्ग र अंकुश तथा बायाँमा ढाल र पाश समातेकी बँदेल मुख भएकी, डरलाग्दो अनुहार भएकी, अनेक प्रकारका गहनाहरूले सिंगारिएकी, स्तन उठेकी दाह्राले पृथ्वी बोकेकी, घनश्याम वर्ण (खैरो) भएकी, तीन आँखाले सुशोभित भई जगतका मालिक बनेकी देवी हुन् (मनुकर्मी, २०४६: १०) ।

मगर समाजमा लौकिक एवं तान्त्रिक विधिबाट पुजिने पितृहरू बज्यूवराहलाई वहुलवादी नेपाली सामाजिक संरचना अनुरुप सबै समुदायका भक्तजनले आ–आफ्नै मान्यता र विश्वासका आधारमा सम्मान जनाउनुलाई सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको उत्कृष्ट नमूनाको रुपमा बुझ्न सकिन्छ । सामाज सांस्कृतिक अन्तरघुलन र समन्वयका कारण मगर जातीय चाडवाड तथा धार्मिक स्थलहरू वर्तमान समयमा नेपाली राष्ट्रिय संस्कृतिको रुपमा परिचित हुन पुगेको देखिन्छ । प्राचीन समयमा हाम्रा पुर्खाहरूले पानीको स्रोतयुक्त लेकाली पाटनहरूमा पशुपालन गरेर जीवन निर्वाह गरेकाले नै बज्यूवराहका थानहरू उच्च भेगमा रहेका ताल एवं झरनाहरूमा स्थापित भएका हुन् । उच्च लेकाली भेगका वराह वा वाराहीका थानहरूमा अहिले पनि सोही भेगका गाउला मुखिया (नाइके गोठाले) कुमार केटो पुजारी बन्ने परम्परा रहेको छ । तिनै पुर्खाहरूले स्थापना गरेर आफ्ना सन्ततिहरूलाई हस्तान्तरण गरेका बुकीका भेडी गोठका साँढहरू सम्मान स्वरुप बलि चढाइन्छ । तिनै बज्यू वराहहरूले उत्पादन गर्न सिकाएका अन्नहरू प्रसादका रुपमा चढाइन्छन् । पशुधन, अन्नबाली र पारिवारिक सुख-शान्तिको निम्ति हरेक वर्ष श्रावण पूर्णिमाको दिन वराह अर्थात पितृहरूको आराधना गरिन्छ ।

सन्दर्भ सामग्री :

घर्ती मगर, बलबहादुर. (२०७१). मगर संस्कार. रोल्पाः आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद ।

पुन, मेजन. (२०७३). धौलागिरिमा बसोबास गर्ने पुन समुदाय एक अध्ययन. पोखराः मेकबहादुर पुन (मेजन) ।

बराल मगर, केशरजङ्ग. (२०६८). पाल्पा, तनहूँ र स्याङ्जाका मगरहरूको संस्कृति. काठमाडौं:अस्मिता बुक्स पब्लिसर्स एण्ड डिष्ट्रिव्यूटर्स (प्रा) लि. ।  

मुनकर्मी, लिलाभक्त. (२०४६). तान्त्रिक देवीदेवतामा मातृका गण, नेपाली संस्कृति. काठमाडौं: सांस्कृतिक संस्थान, वर्ष ५, अंक ३, पृ. १० ।

श्रीस मगर, मीन. (२०७५). चाडवाडहरूको समाजशास्त्रीय विश्लेषण. ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।

––– (२०७५). मगर जातिको इतिहास. हङ्गकङ्गः मगर संघ हङ्गकङ्ग ।

Kawakita, J. (1974). The hill Magars and their neighbours: Hill peoples surrounding the ganges plain. Synthetic research of the culture of rice-cultivating peoples in southeast Asian countries III. Volume III. Tokyo: Tokai University Press.

Opitz, Michal. (1983). The wild boar and the plough: Origin stories of the northern Magars. Kailas, X(1), pp. 187-226.

Scott, William P. (1999). Dictionary of sociology. Delhi: GOYAL SaaB Publishers and Distributors.

Advertisment