मन्त्री थापाद्वारा ‘दिगो कृषि खबर’ मासिक लोकार्पण

पोखरा, २८ असोज
कृषि क्षेत्रका विषयवस्तु बाहिर ल्याउने उद्देश्यले गण्डकी प्रदेशको तनहुँबाट “दिगो कृषि खबर” मासिक कृषि पत्रिकाको प्रकाशन सुरु गरिएको छ ।
दक्षिण क्षेत्र दिगो विकास कृषि सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित सो पत्रिकाको बुधबार आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा ‘जीवन्त’ले लोकार्पण गर्नुभयो । सो पत्रिका लोकार्पण गर्दै मन्त्री थापाले पत्रिकाले उत्पादन क्षेत्रलाई विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।
कृषि क्षेत्रलाई हेयको दृष्टिले हेर्र्ने गरिएको भन्दै मन्त्री थापाले कृषि क्षेत्रको विकासविना समृद्धि हासिल हुन नसक्ने भनाइ राख्नुभयो । आयातको प्रतिस्थापन गर्ने गरी कृषि क्षेत्रलाई चलायमान बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि कर्म गर्ने कृषकलाई राज्यको तर्फबाट प्रोत्साहन गर्ने बताउनुभयो । कृषिमा व्यवसायिकता निर्माण गर्दै उत्पादन बढाउनेतर्फ सरकारले विशेष ध्यान दिएको मन्त्री थापाको भनाइ थियो ।
मन्त्रालयकी सचिव सबनम सिवाकोटीले कृषि क्षेत्रका सूचनाहरू सम्प्रेषण गर्ने सञ्चारमाध्यमको आवश्यकता परिरहेका बेला कृषि पत्रिका प्रकाशनले टेवा पुग्ने उल्लेख गर्नुभयो । सिवाकोटीले पत्रिका प्रकाशन सुरु भएपनि पत्रिका पढ्ने चलन कम भएकाले निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताउनुभयो । पत्रिकाको निरन्तरताका लागि सरकारी तवरबाट आवश्यक सहयोग गरिने बताउँदै उहाँले पत्रिकाले कृषि क्षेत्रका विषयवस्तु र खुराक पाठकमाझ पस्किन व्यवसायिक योजनासहित अघि बढ्न सुझाव दिनुभयो ।
तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले कृषि क्षेत्र र कृषकका विषयवस्तु उजागर गर्न पत्रिका प्रकाशन सुरु भएको भन्दै पत्रिकाले गण्डकी प्रदेशकै स्थापित पत्रिकाका रुपमा आफूलाई उभ्याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । पत्रिकाले कृषि व्यवसाय र कृषकका हितका पक्षमा निरन्तर कलम चलाउने अपेक्षा व्यक्त गर्दै उहाँले पत्रिकाको निरन्तरताका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो पत्रिकाका सम्पादक खडकबहादुर आलेले कृषि क्षेत्रका बारेमा सञ्चारमाध्यममा कमै मात्र विषयवस्तु आउने गरेको बताउँदै कृषि क्षेत्रलाई प्राथमिकता दिएर पत्रिका प्रकाशन सुरु गरिएको बताउनुभयो । कृषि क्षेत्रको आवाजलाई पत्रिकाले मुखरित गर्ने समेत सम्पादक आलेले उल्लेख गर्नुभयो ।

Advertisment