प्रविधिमैत्री सिकाइ र व्यवसायिक शिक्षा अबको आवश्यकता ः प्रदेश प्रमुख शेरचन

पोखरा, २४ असोज
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नेपालमा व्यवसायिक शिक्षाको विकासका लागि रोटरी क्लबले योगदान दिन सक्ने उल्लेख गर्नुभएको छ ।
रोटरी क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटान रिजन ४ ले आयोजना गरेको विद्युतीय सिकाइ सहयोगी सामग्री तथा पीसीआर मेशिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले साक्षरता वृद्धिका लागि रोटरीले थालेको प्रयास सराहनीय रहेको बताउनुभयो । नेपालमा साक्षरता बढाउन रोटरीले सामुदायिक विद्यालयलक्षित गरी ल्याएका कार्यक्रम प्रशंसनीय रहेको भन्दै उहाँले साक्षरता अभियानका सन्दर्भमा व्यवसायिक शिक्षाका लागि रोटरी क्लबको योगदान रहन सक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।
कोभिड–१९ को महामारीका कारण भौतिक उपस्थिति हुन नसक्ने अहिलेको अवस्थामा विद्युतीय सिकाइ आम बालबालिकाहरूका लागि उपयोगी हुने भन्दै प्रदेश प्रमुख शेरचनले प्रविधिमैत्री सिकाइसँगै उत्पादनमुखी शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपालमा खनिज पदार्थको उपयोग गर्न सक्ने जनशक्तिको खाँचो रहेको र त्यस्ता खालका जनशक्ति तयार पार्न प्राविधिक र व्यवसायिक शिक्षा आवश्यक रहेको उहाँको भनाइ थियो ।


भर्चुअल माध्यमबाट सहभागी भएका रोटरी क्लब इन्टरनेशनलका इलेक्ट. प्रेसिडेन्ट शेखर मेहताले निरक्षरता उन्मूलनका लागि नेपालले धेरै काम गर्न सक्ने भन्दै त्यसमा रोटरी अन्तर्राष्ट्रियले सहयोग गर्ने उल्लेख गर्नुभयो । जनसंख्या र भूगोलका हिसाबले भारत भन्दा नेपालमा साक्षरता अभियान सञ्चालन गर्न धेरै सहज रहेको बताउँदै मेहताले नेपाल सरकारको अभियानसँग रोटरीले सहकार्य गरेर अघि बढ्न सक्ने भनाइ राख्नुभयो ।
रोटरी क्लब इन्टरनेशनल ३२९२ रिजन ४ का अध्यक्ष किरणलाल श्रेष्ठले सन् २०३० सम्म नेपाललाई पूर्ण साक्षर बनाउने अभियानमा रोटरी क्लबले विभिन्न विद्यालयहरूसँग सहकार्य गरिरहेको जानकारी दिनुभयो । रिजन ४ का विद्युतीय सिकाइ संयोजक पुरन कुँवरले रिजन ४ अन्तर्गतका हाल ३६ विद्यालयसँग रोटरी क्लबले विद्युतीय सिकाइका लागि सहकार्य गरेको बताउनुभयो । कोभिड–१९ को महामारीका बेला विद्युतीय सिकाइ प्रभावकारी हुने कुँवरले उल्लेख गर्नुभयो ।
सो अवसरमा रोटरी क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का अध्यक्ष तीर्थमान शाक्य, रोटरी क्लब हैदरावाद डेकानका एजी पीपी उदय पिलानी, रिजन ४ का उपाध्यक्ष केशव आचार्य, सचिव बाबुराम बराललगायतले बोल्नुभएको थियो ।
भर्चुअल तथा भौतिक उपस्थितिका बीच भएको कार्यक्रममा तनहुँको व्यास नगरपालिकाका लागि एक थान पीसीआर मेशिन हस्तान्तरण गरिएको थियो । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले सो पीसीआर मेशिन नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गर्नुभएको हो । त्यस्तै, विभिन्न विद्यालयलाई रिजन ४ अन्तर्गतका १२ रोटरी क्लबका तर्फबाट विद्युतीय सिकाइ सहयोगी सामग्री हस्तान्तरण समेत गरिएको थियो ।

Advertisment