पितृ पूजा परम्परा र डस्याक्के (दसैं)

1857

-डा. मीन श्रीस मगर

         उन्नाइसौं शताब्दीदेखि धर्मको उत्पत्ति वारे विस्तृत विश्लेषणात्मक अध्ययन शुरु भएको देखिन्छ । प्रसिद्ध मानवशास्त्री एडवर्ड टेलरको अध्ययनलाई नै धर्मको उत्पत्ति सम्बन्धी पहिलो मानवशास्त्रीय अध्ययन मानिन्छ । उनले प्रकृतिपूजक विश्वास (animistic belief) सँग सम्बन्धित पूर्खापूजा परम्परालाई पहिलो धर्मको रुपमा व्याख्या गरेका छन् । यो परम्परामा दिवंगत पूर्वजहरूलाई पनि आफ्नो परिवारको सदस्यको रुपमा लिइन्छ तथा उनीहरूको आत्मा (spirit) ले जीवितहरूको कार्यमा हस्तक्षेप गर्न सक्ने क्षमता राख्ने कुरामा विश्वास गरिन्छ । अर्का मानवशास्त्री मेयर फोर्टस्ले प्रसिद्ध फ्रेन्च समाजशास्त्री इमाइल दुर्खिमको उपयोगितावादी र आवश्यकतावादी सिद्धान्तको आधारमा अफ्रिकी तालेसी समाजमा प्रचलित पितृपूजा परम्पराको विश्लेषण गरी पितृपूजा जस्ता आदिधार्मिक भावनालाई संस्कारगत गर्दा लोकधर्मको जन्म भएको निष्कर्ष निकाले । मनोविश्लेषक फ्रोएडको विचारमा अभिचार (magic) तथा पितृपूजा नै मानव सभ्यताको आदिधर्म हो । अभिचारका माध्यमबाट मानिसले आफ्नो तनावलाई नियन्त्रण गरी सहज अवस्थामा आउने प्रयास गरेको हुन्छ । मेलफिटको विचारमा धार्मिक भावनाले मर्त्य र अदृश्य संसार वीच निकट सम्बन्धको परिकल्पना स्थापित गरायो । परिवारका कुनै सदस्यको भौतिक अवसान हुनु परिवारकै लागि ठूलो क्षतिको घटना हो । आदिमानवले यसलाई ज्यादै गम्भीरताका साथ लियो । यस क्षतिले दैनिक क्रियाकलाप मात्र होइन, सामाजिक व्यवस्था, सामुहिक क्रियाकलाप, योजना र कार्यक्रममा समेत अचानक संकट प¥यो । अतः मरेपछि पनि त्यस पुर्खाको देनलाई उसका सन्ततिले बिर्सन सकेनन् । फलत पितृ वा पुर्खाको पूजा (ancestor worship) को चलन शुरू भयो । पितृहरू पारिवारिक वा सामुदायिक एकता र ऐक्यवद्धताका प्रतीक बन्न पुगे । भौतिक रुपमा नरहे पनि उनीहरू अध्यात्मिक रुपमा परिवारका सदस्य रहिरहे ।

पितृ शब्दले माता–पिताका अतिरिक्त सम्पूर्ण पूर्वज वा पुर्खाहरूलाई जनाउँदछ । आमाबाबाले कुनै फलको आशा नगरी निस्वार्थ रुपमा आफ्ना सन्तानको पालनपोषण गर्दछन् । त्यसैले सन्तान माथि आफ्ना पुर्खाको ऋण तिर्ने दायित्व हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । आमाबाबा तथा बाजेबजै आदिको जीवनपर्यन्त आदर एवं स्नेह भावका साथ सेवा गर्नु र उनीहरूले देखाएको मार्गमा हिड्नु तथा मृत्युपर्यन्त उनीहरूलाई देवतुल्य स्थानमा राखेर पूजा गर्नु असल सन्तानको कर्तव्य मानिन्छ । पुर्खापूजा (ancestor worship) गर्ने प्रवृत्ति र परम्परा विश्वव्यापी रुपमा एसिया, अफ्रिका, युरोप तथा नेटिभ अमेरिकामा रहेको देखिन्छ । चीन, जापान, ग्रीस, रोम, मिश्र आदि प्राचीन सभ्यतामा यो परम्परा धेरै सशक्त थियो । चिनिया कन्फुसियन, बुद्धिष्ट र लोक अवधारणामा पनि पुर्खापूजाको अभ्यासलाई प्राथमिकता दिइएको पाइन्छ । अहिले पनि पितृपूजालाई धेरैजसो संस्कृतिमा महत्वपूर्ण धार्मिक संस्कार मानिन्छ । पितृ वा पुर्खापूजाका थान वा देवस्थलहरू घरपरिवारभित्रको, कुलवंशज समूहभित्रको र नाता कुटुम्ब समूह भित्रको गरी तीन प्रकारका हुन्छन् भने कतिपय पितृपूजाका देवस्थलहरू सार्वजनिक अर्थात सबैको साझा आस्थाका देवताको रुपमा पनि विकास भएको पाइन्छ । घरपरिवारबाट कुलवंशज समूहको स्तर हुँदै नाता–कुटुम्ब सञ्जालभित्र विशेष महत्वपूर्ण स्थान पाउन थालेपछि यस्ता पितृपूजा परम्पराबाट विकसित राजकीय देवस्थलहरू साझा आस्थाका केन्द्रमा रुपान्तरित हुनपुगेको देखिन्छ । प्राचीनकालदेखिको पितृपूजा परम्पराले जापान, चीन, कोरिया लगायत पूर्वी एसियामा आजसम्म पनि लोकप्रियता कायमै राखेको पाइन्छ । जापानमा प्राचीनकालदेखि उजी गोत्र समूह (Uji clan groups) को पितृपूजामा आधारित लोकधर्मले लोकप्रियता पाएको देखिन्छ । यो समूहले कालान्तरमा धार्मिक एवं राजनीतिक एकाइका रुपमा सक्रिय हुँदै राजकीय मान्यता पाएको थियो । पछि चीन र कोरियाबाट कन्फुसियस, ताओ, शिन्तो, बौद्ध आदि संगठित धार्मिक मतहरू जापान प्रवेश गरे पनि पितृपूजामा आधारित जापानी लोकधर्मले ती संगठित धर्महरूलाई प्रभावित गरेको देखिन्छ । चिनिया कन्फुसियस धर्म पनि पितृपूजामा आधारित धर्म नै हो । जापानीहरूले मृत्यु संस्कारको क्रममा निर्मित स्मारक चक्कीहरू (death memorial tablets) लाई शुद्धिकरण प्रक्रिया अन्तर्गत बौद्ध देवस्थलबाट शिन्तो देवस्थलमा सार्ने गर्दछन् । जसको तात्पर्य मृत आत्माले अपवित्रताबाट पवित्रता वा देवत्व प्राप्त गरिसकेको भन्ने हो । अर्थात पितृपूजाको मुख्य उद्देश्य पितृलाई बुद्धत्वबाट देवत्वमा पु¥याई प्रतिष्ठापित गर्नु देखिन्छ (खत्री, २०५५: १४५) । हिन्दू आर्य समाजमा पितृतिथिमा वार्षिक श्राद्ध गर्ने, पितृकार्य गरिने गया, ब्रह्मकपाली आदिमा पितृतीर्थ जाने, श्राद्ध वा औंसी तिथिमा पितृदान गर्ने, पितृपक्ष अर्थात आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र दिन श्राद्ध गर्ने चलन पाइन्छ । हिन्दू समुदायमा पुजिने ब्रह्मा, विष्णु, महेश्वर, कृष्ण, राम आदि देवताहरू पनि तत्कालीन शक्तिशाली गोत्र समूहका पितृ नै हुन् । धार्मिक एवं राजनीतिक एकाइका रुपमा सक्रिय समूहका पितृहरूलाई कालान्तरमा सिङ्गो समाजले देवत्व प्रदान गरेको हो ।

नेपालको राप्ती–गण्डकी प्रश्रवणक्षेत्रको मगरात सभ्यतामा विकसित भएको पितृपूजामा आधारित लोकधर्मले वाइसी–चौवीसीकालमा राज्य स्तर र नेपाल एकीकरणपछि राष्ट्रिय स्तरमा प्रभाव पारेको देखिन्छ । उनीहरूका गोत्यारका पुख्र्यौली देवता नै पछि राज्यका संरक्षक देवता तथा सम्पूर्ण राज्यशक्तिका महत्वपूर्ण स्रोतका रुपमा रुपान्तरित भएको पाइन्छ । आलमदेवी, कास्कीकोट, लमजुङकोट, गोरखकाली, सल्यानकोट, मनकामना, मुसीकोट, चित्रीपाटन महाकालीमाई, बलढेङगढी कुवारीदेवी, थन्थापीमाई, उलुक छत्रकोट, ढोरवराह, जलजला वजुवराह, खयर भरानी, छाब्दी वाराही, वराहक्षेत्र बाह्रकुने, रौतामाई, सत्यवती बज्यै, बज्यूबराज्यू, मण्डली, बूढासुब्बा, देवचुली वडचुली मायू (घाँटुदेवी), अकलादेवी, रैनादेवी, करवाकेली, ज्वालादेवी आदि देवस्थलहरू कुनै गोत्यार समूहको पितृपूजा परम्पराबाटै स्थापित भएर कालान्तरमा क्षेत्रीय तथा राष्ट्रिय स्तरमा चर्चित हुँदै सबै नेपालीको साझा आस्थाको केन्द्र बन्न पुगेका हुन् । यी सबै देवस्थलहरूमा मगर पुजारीको परम्पराले निरन्तरता पाइरहेको देखिन्छ । मगर समाजको कुल वा गोत्यार समूहमा पुजिने पितृहरूको पूजा शुक्लपक्ष तिथि पारेर गरिएको पाइन्छ । खासगरी आश्विन शुक्लपक्षमा डस्याक्के (थालनी) गरेर माघमा समापन गरिन्छ । दसैंको षष्टी तिथि (आश्विन शुक्लपक्ष षष्टी तिथि), अष्टमी र नवमीमा पितृपूजा गरिने परम्पराका कारण मगर पुजारी रहेका प्रसिद्ध देवस्थलहरूमा पनि सोही समयमा विशेष पूजाआजा हुने गरेको पाइन्छ । आश्विन शुक्लपक्षमा एकाघर परिवारमा पितृपूजा गरेपछि मंसिर शुक्ल पञ्चमी वा दशमी वा पूर्णिमा तिथि पारेर गोत्यार समूहमा कुलपूजा गर्ने परम्परा रहेको पाइन्छ । यसका अतिरिक्त माघे सङ्क्रान्ति वा श्रीपञ्चमीमा पनि कुलपितृ पूजा गर्ने चलन रहेको छ ।

बागलुङ, गुल्मी, अर्घाखाँची आदि भेगका ‘चारनाल–तीनघर–बाह्रखाल’ समूहका मगर (साइँ/साही, खाइँ, दगाइँ र भलाइँ अन्तर्गतका पुन, श्रीस र घर्ती) ले आश्विन शुक्लपक्ष षष्टी तिथि (दसैंको षष्टी) का दिन पितृपूजा गर्ने परम्परा रहेको छ । यसैगरी रुकुम र रोल्पा (रुमा मैकोट, महत, खलंगा, कोल, रुघा, काँडा आदि स्थान) का पुन, घर्ती, राना, बुढा आदि थरका मगरहरूले पनि दसैंको समयमा कोटपूजा, पिटरपूजा र कुलामी नामले कुलपितृ पूजा गर्दछन् (मगर अध्ययन केन्द्र, २०६३: २५) । यो क्षेत्रको मगर समाजमा दसैंको अष्टमीका दिन नौलादेवीको पूजा गरी कुलको जेठो व्यक्तिलाई सिरतु पु¥याउने र दवारा (जम्जित्या/तिहार) मा बजाइने बाजा खोलिन्छ (घर्ती मगर, २०७१: ७१ र ८४) । असोज महिनामा यो भेगको मुख्य अन्नबाली मकै भित्र्याइने भएकाले नै पितृपूजा गरेर टीका जमरा लगाउने, मारुनी नचाउने र पिङ खेल्ने चलनको थालनी गरिएको बुझिन्छ । पितृपूजाको परम्परा खासगरी बालीनालीको राम्रो उत्पादन र घरपरिवारको सुस्वास्थ्य एवं संवृद्धिको कामनासँग अन्तरसम्बन्धित रहेको हुन्छ । त्यसैले वर्षभरिको मुख्य बाली भित्र्याउँदा पितृ र प्रकृतिलाई धन्यवाद दिन र उनीहरूबाट आशीर्वाद लिनका लागि घरघरमा पितृ, प्रकृति र कृषि औजारको पूजा गर्ने चलन बसालिएको बुझिन्छ । यो समयमा फूल उपलब्ध नहुने भएकाले हिउँदे बाली जौं (मकै स्याहारेपछि लगाइने बाली) को जमरा उमारेर फूलको रुपमा प्रयोग गर्न थालियो । मंसिरमा धान बाली भित्र्याइने र गहुँ, जौं जस्ता हिउँदे बाली लगाइने हुँदा राम्रो उत्पादनको कामना गर्दै मंसिर शुक्लपक्ष पञ्चमी वा दसमी वा पूर्णिमा तिथि पारेर समूह–समूहमा कुलपूजा (गोत्यार समूहको पितृपूजा) गर्ने चलन बसालियो । असोज र मंसिरमा गरिने पितृपूजालाई उँधौली पितृपूजा र माघमा गरिने पितृपूजालाई उँभौली पितृपूजा भन्ने गरिन्छ । उँभौली यामको प्रारम्भ माघे सङ्क्रान्ति र श्रीपञ्चमीको समयमा रुकुम रोल्पातिरको मगर बस्तीमा विशेष रुपमा पितृपूजा गर्ने परम्परा पाइन्छ । माघे सङ्क्रान्तिका दिन कुलपितृका प्रतीक घरको मयन खाँबो (धुरी खाँबो) मा दहीचामलको टीका र जमरा लगाउने गरिन्छ । माघको विहीवार पारेर मृतक पुर्खाहरूको नाममा स्थापित बिसौनीका लिखिनदुङ र मौलाहरूमा दहीचामलको टीका र जमरा लगाइदिएर कुखुरा, जाँडरक्सी, भात, रोटी, दूध, दही आदि पितृ सास (प्रसाद) चढाउने गरिन्छ । पितृपूजाको लागि गोत्यार समूहको जोठो व्यक्तिले पोन (पुजारी) को भूमिका निभाउने गर्दछन् (घर्ती मगर, २०७१: ६२) ।

वर्षेबाली (मकै) भित्र्याउने समय आश्विन शुक्लपक्षमा पितृपूजाको थालनी (डस्याक्के) गरेर हिउँदेबाली (तोरी) भित्र्याउने समय माघमा समापन गर्ने परम्पराबाट दहीचामलको टीका र जमराको प्रयोग, मारुनी नाच, देउसी–भौलो, पिङ र कोट–मौला पूजाको उत्सव विकास भएको बुझिन्छ । पितृपूजाको थालनी अर्थात ‘डस्याक्के’भन्ने सन्दर्भमा डसैं (दसैं) उत्सवको उद्भव भएको हो । बालीनाली लगाउने र स्याहार्ने समयमा आवश्यक पर्ने कृषि औजार पुज्ने चलनबाट नै कोटपूजा र सरायँ नाचको परम्परा विकास भएको हो । कोट भनेको हतियार (हसिया, बन्चरो, कोदालो, फाली, भाला, खन्ती, खुँडा, तरवार आदि) भण्डार हो । वाइसी–चौवीसीकालमा सुरक्षा किल्ला गढीहरूमा राखिएका खुँडा, खुकुरी, भाला आदि हतियारहरूलाई पनि आश्विन शुक्लपक्षमा पितृपूजाको समयमा पुज्न र प्रदर्शन गर्न थालियो । यसै क्रममा कोटपूजा र सरायँ नाचको थालनी भयो भने नेपाल एकीकरणताका कोटपूजा नै देवीपूजामा रुपान्तरण हुन पुग्यो । मगर पुजारी रहेका प्रसिद्ध देवस्थलहरू आलमदेवी, गोरखकाली, कास्कीकोट, लमजुङकोट, सल्यानकोट, मनकामना, मुसीकोट, बुढासुब्बा आदि पितृपूजा परम्पराबाटै विकसित भएकाले नै आश्विन शुक्लपक्ष अर्थात दसैंमा पितृ प्रतीक मौला पुज्ने, दहीचामलको टीका र जमरा चढाउने तथा सुँगुरको बलि दिने गरिन्छ ।

 

सन्दर्भ सामाग्री

खत्री, प्रेमकुमार. (२०५५). उत्पत्तिः मानवसभ्यताका केही पक्षको ऐतिहासिक एवं मानवशास्त्रीय अध्ययन. काठमाडौं: नेपाल र एशियाली अनुसन्धान केन्द्र, त्रि. वि. कीर्तिपुर ।

घर्ती मगर, बलबहादुर. (२०७१). मगर संस्कार. रोल्पाः आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद । 

मगर अध्ययन केन्द्र. (२०६३). अठार मगराँतका मगरहरूको सांस्कृतिक संस्कारहरू तथा धार्मिक आस्था सम्बन्धि अध्ययन (अप्रकाशित अध्ययन प्रतिवेदन). ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।

श्रीस मगर, मीन. (२०७५). चाडवाडहरूको समाजशास्त्रीय विश्लेषण. ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।