मृगौलापीडित नरबहादुर लामालाई तमुस्यो रि च्हमीको आर्थिक सहयोग

पोखरा, १२ असोज
पोखरा–१४, सयनतारा बस्दै आएका काठमाडौं, दक्षिणकालीका मृगौलापीडित नरबहादुर लामालाई तमुस्यो रि च्हमी परिवारले आर्थिक सहयोग गरेको छ ।
दुवै मृगौला खराब भइ नियमित डाइलासिस गराइरहेका ४६ वर्षीय लामालाई तमुस्यो रि च्हमी परिवारको तर्फबाट १० हजार र व्यक्तिगत संकलन गरिएको ५ हजार एवं मोडल मुस्कान गुरुङले आफ्नो जन्मदिनको अवसरमा २ हजार ५ सय गरी १७ हजार ५ सय रुपैयाँ सहयोग गरिएको हो । मोडल गुरुङसहित परिवारकी अध्यक्ष गौरी गुरुङ, कोषाध्यक्ष पुनम गुरुङ, सदस्यहरू सुगन्ध गुरुङ र सुशीला गुरुङ, समाजसेवी मीनु गुरुङ एवं लोक तथा दोहोरी गायिका पूजा गुरुङले सो सहयोग रकम मृगौलापीडित लामालाई हस्तान्तरण गर्नुभएको हो ।
आर्थिक अभावमा उपचार नपाइ छटपटाहटमा रहनुभएका लामालाई थोरै भएपनि पीडामा साथ दिन प्रयास गरेको तमुस्यो रि च्हमी परिवारकी अध्यक्ष गौरी गुरुङले बताउनुभयो । लामाको उपचार र छोराछोरीको लालनपालनका लागि समेत आर्थिक जोहो गर्नुपर्ने आवश्यकता देखिएको भन्दै गुरुङले सक्नेले नसक्नेलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
लामाले वैदेशिक रोजगारीका शिलशिलामा मृगौला खराब भएपछि स्वदेश फर्किएर काम गर्न थाल्नुभएको थियो । लामो समयदेखि पोखराको एक विद्यालयमा स्कुल बस चालकको रुपमा समेत काम गर्नुभयो । तर, पछि दुवै मृगौला खराब भएपछि काम गर्नै नसक्ने अवस्था भएर त्यो पनि छोड्नुभएका मृगौलापीडित लामाका ३ जना छोराछोरी छन् । घरपरिवारको पालनपोषणमा खटिएको मुख्य व्यक्ति नै मृगौलापीडित भएपछि परिवार चलाउन गाह्रो परेको उहाँकी श्रीमती जमुना लामा बताउनुहुन्छ ।


लामाकी २२ वर्षीया जेठी छोरी समेत शारीरिक रुपमा अशक्त छिन् । कान्छी छोरी १४ वर्ष र छोरा ७ वर्षका छन् । जेठी छोरीको समेत उपचार सम्भव नभएपछि घरमै बसेकी छिन् । आर्थिक अभावमा उपचारमा समस्या मात्रै होइन, लामा परिवारलाई छरछिमेकले खाद्यान्न सहयोग गर्दै आएका छन् भने दुई जना छोरा छोरीलाई समेत विद्यालयले निःशुल्क पढाइदिएको छ । २०७३ सालदेखि मृगौला खराब भएपछि हाल मणिपाल शिक्षण अस्पतालमा डाइलासिस गराउँदै आउनुभएका लामाको उपचारमा हप्तामा पाँच हजार रुपैयाँ खर्च लाग्ने गरेको छ । अस्पताल भर्ना हुनुपर्ने अवस्था भएपनि आर्थिक अभावमा अस्पताल भर्ना समेत हुन नसकेको मृगौलापीडित लामा बताउनुहुन्छ । आर्थिक सहयोग जुटाउन मुस्किल भएकाले आफूलाई बाँच्ने आश समेत हराएको उहाँको भनाइ छ ।

Advertisment