देशको समृद्धिका लागि व्यक्तिगत स्वार्थ र लोभबाट माथि उठौं ः प्रदेश प्रमुख शेरचन

पोखरा, १२ असोज
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देशको समृद्धिका लागि व्यक्तिगत स्वार्थ र लोभबाट माथि उठ्नुपर्ने बताउनुभएको छ ।
जिल्ला समन्वय समिति, कास्कीको चौथो जिल्ला सभालाई सोमबार सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले व्यक्तिगत स्वार्थ र लोभ रहेसम्म देश विकास हुन नसक्ने उल्लेख गर्नुभयो । देशको प्रमुख दुश्मन भ्रष्टाचार र कमिसनतन्त्र रहेको भन्दै उहाँले अनियमितताको नियन्त्रण भए मात्र देश समृद्धिको बाटोमा अघि बढ्न सक्ने बताउनुभयो ।


प्रदेश प्रमुख शेरचनले “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि देशमा राष्ट्रिय उद्योगको विकास गरिनुपर्नेमा जोड दिनुभयो । स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको स्थापना गर्नुपर्ने भन्दै शेरचनले विदेशी आयातमा मात्रै भर पर्दा कुनै पनि बेला संकटको सामना गर्नुपर्ने हुन सक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । युवाहरूलाई राजनीतिमा अवसर दिनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले युवाहरूको नयाँ जोश र सोंचबाट देशलाई गतिशील बनाउन सकिने धारणा राख्नुभयो । साथै, प्रदेश प्रमुख शेरचनले युवाहरूलाई अवसर दिएर उत्तराधिकारी तयार गर्न सक्नुपर्ने समेत बताउनुभयो ।


कार्यक्रममा कास्की क्षेत्र नं. २ की सांसद् विद्या भट्टराई अधिकारी, गण्डकी प्रदेशसभाकी उपसभामुख सृजना शर्मा, माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, कास्कीका पूर्व जिविस उपसभापति श्रीनाथ बरालले समेत बोल्नुभएको थियो ।
सो अवसरमा पोखरा महानगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख शारदामोहन काफ्ले, माछापुच्छ«े गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगाना, मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटालगायत विभिन्न विषयगत कार्यालयका प्रमुखहरूले आ–आफ्नो कार्यालयका तर्फबाट आर्थिक वर्ष ०७६/०७७ को प्रगति विवरण प्रस्तुत गरेका थिए ।
जिल्ला समन्वय समिति, कास्कीका प्रमुख बैनबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सावित्रा भण्डारीले पनि बोल्नुभएको थियो । जिल्ला सभाले प्रस्तावित बजेट तथा कार्यक्रमबारे १८ वटा निर्णयहरू पारित गरेको छ ।

Advertisment