होटल तालिम सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै प्रजिअलाई संघको ज्ञापनपत्र

पोखरा, ८ असोज
होटल तालिम प्रदायक संघ नेपालले होटल तालिम सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय, कास्की पुगी संघका अध्यक्ष ज्ञानबहादुर राना नेतृत्वको टोलीले बिहीबार प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै प्रजिअ ढकालले कक्षा सानो हुने भएपनि हाललाई भर्ना लिइ अनलाइन माध्यमबाट सैद्धान्तिक कक्षा सञ्चालन गर्न सकिने बताउनुभयो । ज्ञापनपत्र सम्बन्धित ठाउँसम्म पु¥याउने वाचा गर्दै ढकालले सरकारले छिटै यससम्बन्धमा अर्को निर्णय गर्न सक्ने समेत उल्लेख गर्नुभयो । आम नागरिकका यस्ता खालका अन्य गुनासाहरू समेत आएको भन्दै उहाँले सरकारले छिटै सकारात्मक तथा उचित निर्णय लिने विश्वास समेत दिलाउनुभयो ।
ज्ञापनपत्रमा कोभिड–१९ को महामारीका कारण रोकिएका छोटा अवधिका होटल तालिम पुनः सञ्चालन गर्न दिन माग गरिएको छ । त्यस्तै, होटल, रेष्टुरेण्ट तथा सार्वजनिक यातायात समेत सञ्चालन भइसकेको अवस्थामा अति न्यून संख्यामा प्रशिक्षार्थी हुने होटल तालिमलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सञ्चालनको अनुमति दिन समेत ज्ञापनपत्रमार्फत् माग गरिएको छ ।
त्यसैगरी, होटल तालिममा पोषणयुक्त तथा स्वस्थकर खाना र सरसफाइका बारेमा समेत सिकाइने उल्लेख गर्दै व्यक्तिगत तथा वातावरणीय सरसफाइसम्बन्धी कुरा समेत तालिममार्फत् सिकाइने ज्ञापनपत्रमा जनाइएको छ । होटल तथा पर्यटन व्यवसायलाई आवश्यक दक्ष तथा अर्धदक्ष जनशक्ति उत्पादन गर्ने र बेरोजगार युवा युवतीलाई होटल तथा पर्यटन व्यवसायमा संलग्न गराइ रोजगार एवं स्वरोजगार उन्मुख बनाउन होटल तालिम प्रदायक संस्थाहरूले उल्लेख्य योगदान गरेको समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझाउन संघका अध्यक्ष रानासहित सचिव सम्मरबहादुर थापा, सदस्यद्वय मुकेश गुरुङ र राजेन्द्र गुरुङ समेत उपस्थित हुनुभएको थियो ।

Advertisment