होटल तालिम प्रदायक संघ नेपालद्वारा कास्की प्रहरीलाई मास्क सहयोग

पोखरा, ५ असोज
होटल तालिम प्रदायक संघ नेपालले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई १ हजार थान मास्क सहयोग गरेको छ ।
संघका अध्यक्ष ज्ञानबहादुर रानालगायतको संघको टोलीले सोमबार आयोजित एक कार्यक्रमका बीच कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठलाई मास्क हस्तान्तरण गरेको हो । सो अवसरमा कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमाल, संघका सल्लाहकार विजय पौडेल, सचिव सम्मरबहादुर थापा, सदस्यहरू ललित लामिछाने, मुकेश गुरुङ र दीपेन्द्र अधिकारीको समेत उपस्थिति रहेको थियो ।


सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संघका अध्यक्ष रानाले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरूलाई स्वास्थ्य सुरक्षामा सहयोग पुगोस् भनेर थोरै भएपनि सहयोग गरिएको बताउनुभयो । नवगठित संघको तर्फबाट अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको साथमा छौं भन्ने आभास दिलाउन खोजेको बताउँदै रानाले आम नागरिकको सुरक्षामा प्रहरीको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो ।
सहयोग सामग्री ग्रहण गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले कोभिड–१९ को महामारीका बेला यस्ता सहयोगले प्रहरीलाई कार्यक्षेत्रमा खट्न सहज हुने बताउनुभयो । आम नागरिक पनि बर्दीविनाको प्रहरी भएको उल्लेख गर्दै श्रेष्ठले समाज शान्ति र अमनचयन कायम गर्न नागरिक प्रहरीबीच एक आपसमा सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले सहयोगका लागि संघलाई धन्यवाद समेत दिनुभयो ।

Advertisment