होटल तालिम प्रदायक संघ नेपालको अध्यक्षमा राना

पोखरा, २५ भदौ
लामो समयदेखि पोखरामा होटलसम्बन्धी विभिन्न विषयहरूका तालिम प्रदान गर्दै आएका तालिम प्रदायक संस्थाहरू संगठित भएका छन् । ती संस्थाहरू संगठित भएर “होटल तालिम प्रदायक संघ नेपाल”को स्थापना गर्दै जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता समेत गरिएको छ ।
नवगठित सो संघको अध्यक्षमा हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टका प्रबन्ध निर्देशक ज्ञानबहादुर राना चयन हुनुभएको छ । त्यसैगरी, उपाध्यक्षमा इन्टरनेशनल होटल तालिम केन्द्रका शेरसिंह गुरुङ, सचिवमा इन्टरनेशनल कलेज अफ एप्लाइड साइन्सका प्रबन्ध निर्देशक सम्मरबहादुर थापामगर र कोषाध्यक्षमा एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टका महेश श्रेष्ठ चयन हुनुभएको छ ।


त्यस्तै, सदस्यहरूमा लेखनाथ होटल तालिम केन्द्रका दीपेन्द्र अधिकारी, स्कुल अफ बार टेण्डर्सका राजेन्द्र गुरुङ र सुशी होटल तथा भाषा तालिम केन्द्रका दिनेश कुँवर चयन हुनुभएको छ भने सल्लाहकारहरूमा पश्चिमाञ्चल होटल संघ, पोखराका अध्यक्ष विकल तुलाचन, कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेण्ट कलेजका विजय पौडेल र स्टाण्डर्ड होटल एण्ड ल्याङ्ग्वेज तालिम इन्स्टिच्युटका अरुण मानन्धर रहनुभएको छ ।
एउटा साझा संगठनको अभावमा पोखरामा छरिएर रहेका होटल तालिम प्रदायक संस्थाहरू अस्वस्थ्य प्रतिष्पर्धाको मारमा परेको महसुस गरी संस्थाको स्थापना गरिएको अध्यक्ष रानाले बताउनुभयो । अध्यक्ष रानाका अनुसार सम्बद्ध संस्थाहरू मिली पाठ्यक्रम, सीप परीक्षण, इन्टर्नशिपलगायतमा सहजता तथा एकरुपता ल्याउनको लागि यस संस्थाको स्थापना गरिएको हो ।
वर्तमान विश्व बजारमा उपयुक्त हुने गरी तालिमको स्तर उठाउने, स्थानीय निकायसँग रोजगार तथा स्वरोजगारमूलक तालिमको लागि सहयोगी भूमिका खेल्ने र तालिम प्राप्त प्रशिक्षार्थीहरूलाई स्वदेश तथा विदेशमा रोजगारी तथा स्वरोजगारको लागि सहायक भूमिका खेल्ने यस संस्थाको अर्को उद्देश्य रहेको समेत अध्यक्ष रानाले जानकारी दिनुभयो ।


सिटिईभिटीको पाठ्यक्रमलाई आधार मानी हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने पाठ्क्रम तयार गर्नको लागि विजय पौडेलको संयोजकत्वमा पाठ्क्रम तयारी उपसमिति गठन गरिएको सचिव थापामगरले जानकारी दिनुभयो । समितिले सदस्य संस्थाहरूमा लागू हुने गरी एक मूल्य सूची तयार गरिसकेको छ संस्थाले सिफारिस गरेको पाठ्यक्रम लागु गराउने छ जसको लागि शेरसिंह गुरुङको संयोजकत्वमा अनुगमन विभाग उपसमिति गठन गरिएको उहाँले बताउनुभयो ।

Advertisment