–डा. मीन श्रीस मगर (minshrisphd@gmail.com)
परिचय:
जातीय जनसंख्याको हिसाबमा मगर जाति नेपालको तेस्रो ठूलो जाति हो । नेपालको सतहत्तरै जिल्लाहरूका अतिरिक्त सीमापारि देहरादून, दार्जिलिङ, सिक्किम र भुटानसम्म फैलिएर बसोबास गरेको मगर जाति सांस्कृतिक रुपमा आन्तरिक विविधताले सजिएको पाइन्छ । पर्यावरणीय भिन्नता, बसाइँसराइँ र सांस्कृतिक विनिमयका कारण मगर जातिभित्र मूलतः तीन प्रकारका सांस्कृतिक भेद वा उपसंस्कृति (cultural traits/sub-culture) देखापरेका छन् । यस अर्थमा मगर जाति आन्तरिक विविधताले सजिएको इन्द्रेणी झैं रंगिन र सुन्दर रहेको छ । यिनै सांस्कृतिक विविधताले मगर जातिलाई मौलिकता र पहिचानको सामथ्यॅ देखाउने महत्वपूर्ण आधारशिला प्रदान गरेको मानिन्छ । तर मगरात सभ्यता र संस्कृतिप्रतिको बुझाईमा देखापरेको कमजोरीका कारण भ्रमपूर्ण एवं अन्यौलताको वातावरण सिर्जना भएको छ । खासगरी पचासको दसकदेखिको अस्थिर र संक्रमणकालीन राजनीतिक माहौलसँगै मगर समाजमा सांस्कृतिक पहिचानको संकटपूर्ण वातावरण सिर्जना भएको छ । मगर जातिसँग सम्बन्धित संघ–संगठनमा आबद्ध व्यक्ति तथा सामाजिक अभियन्ताहरू स्वघोषित समाजशास्त्री, मानवशास्त्री, संस्कृतिविद् र राजनीतिज्ञ बनेर मगरात सभ्यता वा संस्कृतिको विश्लेषण गर्ने तथा सतही अध्ययनको वतासे निष्कर्षमा रमाउने प्रवृत्तिका कारण यस्तो अन्यौलताको परिस्थिति निर्माण भएको हो । विगतमा राज्यले अपनाएको ‘एक धर्म, एक भाषा र एक भेष’ नीतिको चर्को आलोचना गर्नेहरूले नै आफ्नै जातीय समाजभित्रको सांस्कृतिक विविधतालाई ख्यालै नगरी एकलवादी पहिचानको नारा घन्काउने जस्तो संकुचित र विकृत प्रवृत्ति मौलाएको देखिन्छ । मगर समाजमा धार्मिक, सांस्कृतिक वा भाषिक एकरुपता ल्याउने परिकल्पनाले मगर समाजभित्रको सांस्कृतिक विविधताको हत्या हुनजान्छ र ऐतिहासिक मगरात सभ्यता अर्थात मौलिक परम्परागत सांस्कृतिक पहिचान हराएर जान्छ । यस्तो अवस्थामा पुग्नुलाई समाजशास्त्रीय भाषामा जातीय संस्कृति विनास (ethnocide) भन्ने गरिन्छ । मगर समाजलाई एथ्नोसाइडको अवस्थामा पु¥याउने प्रवृत्तिबाट जोगाउन तत्काल गम्भीरतापूर्वक सोच्न आवश्यक देखिन्छ । युनेस्को (United Nations Educational, Scientific and Cultural Organization) ले विश्वभरका सांस्कृतिक सम्पदालाई मानव सभ्यताको साझा जीवित सम्पदा घोषणा गरेर संरक्षणको अभियान थालिसकेको अवस्थामा मगर समाजले पनि आफ्ना ऐतिहासिक मगरात सभ्यताका मूलभूत सांस्कृतिक परम्पराहरूलाई संरक्षण एवं सम्बद्र्धन गर्नु प्रमुख कर्तव्य हुने छ ।
मगरात सभ्यता
पुरातात्विक खोज एवं अनुसन्धानहरूले नेपालका विभिन्न स्थानहरूमा मानव सभ्यता विकासक्रमका विभिन्न कालखण्डहरूलाई प्रतिनिधित्व गर्ने अवशेषहरू (fossils) प्राप्त गरेको पाइन्छ । वि. सं. २०३७ सालमा बुटवल नजिकै तिनाउ नदी किनाराको चुरेपहाडमा पुरातात्विक उत्खनन् गर्दा डा. जे. एच. हचिन्सनले एक करोड दस लाख वर्ष पुरानो रामापिथेकस (बाँदरभन्दा पछि र मानवभन्दा अघिको प्रजाति) को अगाडिको दाँत प्राप्त गरेका थिए । पुरातात्विक अध्ययनले आजभन्दा करिब पचपन्न लाख वर्ष अघि आदिमानव पुर्खासँग नजिकको अष्ट्रलोपिथेकस उद्भव भएको निष्कर्ष निकालेको छ । प्राचीन ढुङ्गे युग (करिव पचास लाख वर्षदेखि पचास हजार वर्ष अघिको समय) का आदिमानवले प्रयोग गरेका ढुङ्गे हतियारहरू नवलपरासी र दाङ–देउखुरीमा प्राप्त भएका छन् । ती हतियारहरूलाई करिव दुई लाख वर्ष अघिको मानिएको छ । आजभन्दा करिव एक लाख सत्तरी हजार वर्ष अघि आधुनिक मानवका पुर्खाहरूको उद्भव भएको मानिन्छ । मध्य ढुङ्गे युग (करिव पचास हजार वर्षदेखि बाह्र हजार वर्ष अघिको समय) का ढुङ्गे हतियारहरू दाङ–देउखुरी, सुर्खेत र बुढानिलकण्ठमा प्राप्त भएका छन् । यसैगरी नयाँ ढुङ्गे युग (करिव बाह्र हजार वर्षदेखि छ हजार वर्ष अघिको समय) का ढुङ्गे हतियारहरू (Axes) हिमालको फेँदी, महाभारत, चुरे र तराई सबैतिर धेरै संख्यामा प्राप्त भएका छन् । प्रसिद्ध पुरातत्ववेत्ता गुरडन कार्निभस (सन् १९८४) ले पश्चिम नेपालका चुरे पहाडहरूमा सर्वेक्षण गर्दा दाङ र देउखुरी उपत्यकाका विभिन्न भागमा प्राग–ऐतिहासिक आदिमानव बस्तीको प्रमाण फेला परेका थिए । नेपालका विभिन्न स्थानमा फेला परेका नवपाषण युगीन प्रस्तर हतियारहरू मगर जातिका पुर्खाहरूसँग सम्बन्धित हुनु सम्भव देखिन्छ । रुकुमको मगर बस्तीमा प्रचलित लोकश्रुतिअनुसार उनीहरूका पुर्खाको उत्पत्ति हुकाम मैकोट क्षेत्रमा भएको हो । माइकल ओपित्ज (सन् १९८३) का अनुसार रुकुमका हुकाम, टाका र बाच्छी गाउँका मगरहरूको उत्पत्ति सम्बन्धि तीन वटा कथाहरू छन् । ती कथाहरूमा मगर जातिका पुर्खाहरूको उत्पत्ति, प्रारम्भिक बसाइँसराइँ, सिकारी सभ्यता र खेतीपाती एवं पशुपालनको सभ्यता विकासको सन्दर्भ उल्लेख गरिएका छन् । पुरातात्विक प्रमाणहरू र लोकश्रुतिहरूका आधारमा मगरात सभ्यता विकासको पूर्व चरणको यो समय करिव दस हजार वर्ष अघिको अनुमान लगाउन सकिन्छ । मानवशास्त्रीहरूका अनुसार आजभन्दा दस हजार वर्ष अघि कृषि युगको प्रारम्भ भई संसारका विभिन्न स्थानहरूमा ग्रामिण बस्ती विकास भएको थियो । संसारकै सबैभन्दा पुरानो सभ्यता मेसोपोटामियाको सभ्यता (इसापूर्व ३५००–५००) र सिन्धु सभ्यता (इसापूर्व ३३००–१९००) लाई मानिन्छ । वर्तमान अफगानिस्तान, पाकिस्तान र उत्तर–पश्चिम भारतमा पर्ने सिन्ध सभ्यतामा हरप्पा र मोहेन्जो–दारो शहरको विकास भएको थियो । भारतको गंगा नदीको सभ्यता इसापूर्व १५००–५०० को मानिन्छ । पुरातात्विक उत्खनन्ले लुम्विनीमा इसापूर्व १३०० तिरको प्राचीन गाउँ रहेको र तिलौराकोटमा इसापूर्व आठौं÷नवौं शताब्दीतिर व्यवस्थित शहरी बस्ती रहेको तथ्य फेला पारेको छ भने उपल्लो मुस्ताङमा पच्चीस सय वर्ष अघिका मानव अवशेषहरू फेला पारेको छ ।
भाषावंशावलीअनुसार काठमाडौं उपत्यकाको सभ्यता विकास इसापूर्व १२०० तिर भएको मानिन्छ । उक्त समयमा गोपाल वंशको शासन रहेको थियो । पेशल दाहाल र सोमप्रसाद खतिवडा (२०५८: २०) लगायतका विद्वानहरूले काठमाडौं उपत्यका जलमग्न भएको अवस्थामा जलासयको वरिपरि नागवंशी मानिसहरूले सिकार र सामान्य पशुपालन गरेको उल्लेख गर्नु तथा बालचन्द्र शर्मा (२०३३: २०१), प्राध्यापक बालकृष्ण पोखरेल (२०५५), डा. केशवमान शाक्य (सन् २०११: ९–१०) लगायतका विद्वानहरूले मगर जातिलाई नै नागवंशी भनी उल्लेख गर्नुले काठमाडौं उपत्यकाको सभ्यता विकाससँग मगर जातिको सम्बन्ध जोडिएको प्रष्ट हुन्छ । त्यसकारण नयाँ ढुङ्गे युगको उत्तराद्र्धतिर मगरहरू राप्ती, गण्डकी र वागमती प्रश्रवणक्षेत्रमा फैलिएको बुझिन्छ । प्राचीन मगरात सभ्यताका बारेमा स्पष्ट तथ्य प्रमाणहरू प्राप्त नभए पनि योगी नरहरिनाथ (२०३६: ६), राजाराम सुवेदी (२०४५) लगायतका इतिहासकारहरूले गण्डकी प्रश्रवणक्षेत्रमा २२० मगर राज्य रहेको र कालान्तरमा १२ मगर राज्यमा सीमित भएको उल्लेख गरेको पाइन्छ । लिच्छविकालको उत्तराद्र्धतिर नेपालका राजा अरमुड्डीले काश्मीरका राजा जयापीड विजयादित्य (वि. सं. ८३५–८६९) लाई पक्रेर कालीगण्डकी किनाराको गिरी दुर्गमा थुनेको कुरा काश्मीरका प्रसिद्ध इतिहासकार कल्हणद्वारा लिखित राजतरंगिनीमा उल्लेख गरिएको पाइन्छ । इतिहासकार टेकबहादुर श्रेष्ठ (२०५९: ६–९) का अनुसार अरमुड्डी केन्द्रको (नेपाल उपत्यकाको) राजा नभएर गण्डकी प्रदेश अर्थात मगरातका राजा भएको बुझिन्छ । वर्तमान पर्वत जिल्लाको कुश्माबाट एक कोश जति पश्चिमोत्तरमा रहेको अरमाडी नामक बस्ती नै तत्कालीन मगर राजा अरमुड्डीको राजधानी भएको बुझिन्छ । विक्रमको पन्ध्रौं शताब्दीको उत्तराद्र्धमा विशाल खस साम्राज्य विघटन भएपछि गण्डकी प्रदेशमा चौवीसे राज्यहरूको उदय भयो । मानवशास्त्री डोरबहादुर विष्ट (सन् २००१), इतिहासकार सूर्यमणि अधिकारी (२०६१), इडेन भेन्सीटार्ट (सन् १९०६), बी. एच. हड्सन (सन् १८७४) लगायतका विद्वानहरूले चौवीसे राज्यका राजाहरू ठकुरीमा रुपान्तरित मगर भएको तर्क राखेको पाइन्छ । त्यसकारण नेपाली इतिहासको मध्यकालसम्म राप्ती–गण्डकी प्रश्रवणक्षेत्रमा मगरात सभ्यता उत्कर्षमा रहेको बुझिन्छ । राणा शासनकालका सरकारी कागजपत्रहरूमा पनि यो क्षेत्रलाई मगरात भनी उल्लेख गरिएको पाइन्छ ।
मूल संस्कृति :
संस्कृति भनेको जीवनशैलीहरूको समग्रता हो भने संस्कार भनेको जीवनशैलीको एउटा महत्वपूर्ण पक्ष हो । विश्वास, मूल्य–मान्यता, रीतिथिति, दैनिक जीवन, भेषभूषा, खानपान, शिल्प–कला, भाषा, संस्कार, धर्म आदि सबै संस्कृतिका अभिन्न अंगहरू हुन् । परापूर्वकालदेखि समाजमा चल्दै आएका आचारव्यवहार तथा लोकाचारहरूको एउटा निश्चित मान्यता नै संस्कार हो । संस्कार एउटा जनसमूहको साझा जीवनशैली भएकाले अर्को समूहको भन्दा फरक हुने गर्दछ । त्यही फरकपन नै समूह वा जातिको चिनारी (पहिचान) हो । मगर समाजमा जन्मदेखि मृत्यु पर्यन्तका संस्कारहरू कसले वा कोद्वारा कसरी सम्पन्न गराउने भन्ने कुराको निर्धारण विवाह प्रणालीबाट बन्ने सम्बन्धको आधारमा हुने गर्दछ । परम्परागत मामाचेली विवाह प्रणालीले स्थायी प्रकृतिको तीनघरे साइनो सञ्जाल (चेलीवेटी, माइती र भाइखलक समूह) स्थापना गर्दछ । आ–आफ्ना सञ्जाल भित्रका चेलीवेटी (भान्जा) समूहले नै जीवनचक्रीय संस्कार सम्पादनमा परम्परागत पुरेतको भूमिका निर्वाह गरेको हुन्छ । यसरी चेलीवेटी अर्थात भान्जा समूहले जीवनचक्रीय संस्कार पद्धतिलाई नियमन (governed) गरेको हुन्छ भने मामाचेली विवाहमा आधारित त्रिआयामिक सम्बन्ध चक्रले सिङ्गो समाजको संरचनात्मक प्रकार्यलाई अघि बढाएको हुन्छ । जीवात्मावाद वा प्रकृतिपूजक (animism), पुर्खापूजा, झांक्रीवाद (shamanism) र चेलीवेटीमा आधारित संस्कारले मगरातको मूल संस्कृतिलाई प्रतिनिधित्व गरेको हुन्छ । राप्ती प्रश्रवणक्षेत्र अर्थात रुकुम, रोल्पा, प्यूठानका साथै पश्चिम वागलुङ र म्याग्दी क्षेत्रमा मगरातको मूल संस्कृतिले निरन्तरता पाइरहेको देखिन्छ । तसर्थ भौगोलिक हिसाबले राप्तेली मगर संस्कृतिलाई ‘मूल संस्कृति’ वा ‘संस्कृति केन्द्र’ को रुपमा परिभाषित गर्न सकिन्छ । विलियम पी. स्कट (सन् १९९९) का अनुसार The locality where a culture or distinctive aspect of a culture (a culture pattern or culture comlex) is at its point of greatest concentration, and from which the distinctive pattern of a culture area is usually diffused. It may also be the culture’s point of origin, and the place where the culture is found in its least modified form. It is sometimes referred to as the culture climax (pp. 97). विलियमको परिभाषाअनुसार राप्तेली मगर सांस्कृतिक समूहलाई नै मगर जातिको मूल संस्कृति वा संस्कृति केन्द्र मान्न सकिने प्रशस्त आधारहरू भेटिन्छन् ।
संस्कृति केन्द्रको रुपमा रहेको रुकुम, रोल्पा, प्यूठान र पश्चिम वागलुङमा मृत्यु संस्कार एकै दिनमा चेलीवेटीबाट शुद्धिकरण गरिन्छ भने मध्य वागलुङको ताराखोला र सोही क्षेत्रसँग जोडिएको म्याग्दी लगायतका अर्धपृष्ठ क्षेत्रमा तीन दिनमा चेलीवेटीबाट शुद्धिकरण गरिन्छ । मृतकको आत्मा शान्तिको कामना गर्दै विहान–साँझ सासपानी ढोल्ने (तेलमा भुटेको चामल र सुकुटी तथा पानी अम्टोमा चढाएर बत्ति बाल्ने) गरिन्छ । उपाशनामा रहने व्यक्तिले दैनिक प्रयोगमा ल्याइने सामान्य पोशाक लगाएर घरभित्रै बस्ने र दुई छाक खाने गर्दछन् । यस अवधिमा हुलारुङ्नेहरूले (मरु घरमा सघाउन आउनेहरूले) मृतकको प्रशंसा र जीवनगाथामा आधारित गीत गायर पितृहरूसँग सहयोग र आशीर्वादको आह्वान गर्दछन् । जन्मको सुतक पनि मूलचेलीबाट तीन दिनमा शुद्धिकरण गराइन्छ (श्रीस मगर, २०७४: १३८–१४०) । वागलुङको तङ्ग्राम लगायतका पृष्ठ क्षेत्रमा पर्ने मगर बस्तीहरूमा मृत्युको आशौच र जन्म सुतक पाँच दिनमा माउचेलीवेटीबाट सम्पन्न गराइन्छ । मृतकको आत्मा शान्तिको निम्ति घरभित्रको अगेना नजिकै घैंटोमा जाँड राखेर सेतो कपडाले छोपिन्छ । कुनै व्यक्ति उपाशना (किरिया) बस्ने गरिदैन । पृष्ठ क्षेत्रभन्दा बाहिरका मगर बस्तीहरूमा भने अन्य समूहहरूसँगको सांस्कृतिक विनिय (acculturation) का कारण मिश्रित संस्कृतिको अभ्यास थालिएको पाइन्छ ।
डोल्पाली मगर संस्कृति :
तिब्बतसँग उत्तरी सिमाना जोडिएको डोल्पाका मगर समाजमा बौद्ध धर्मको तिब्बती लामावाद सम्प्रदायको प्रभाव रहेको छ । जेम्स एफ. फिशर (सन् १९८७) का अनुसार डोल्पाली मगरहरूले भोटसँगको वस्तु विनिमय व्यापारका माध्यमबाट तिब्बती संस्कृतिका प्रभाव भित्र्याएका हुन् । सन् १९५०–५१ मा चीनद्वारा तिब्बतमा नियन्त्रण कायम हुनु अघिसम्म डोल्पाली मगरहरू परम्परागत वस्तु विनिमय व्यापारका लागि तिब्बत आउजाउ गरिरहन्थे । त्यसकारण डोल्पाली मगर समाजमा मगरात सभ्यताको परम्परागत संस्कृति र तिब्बती बौद्ध संस्कृतिको सम्मिश्रण हुनगयो । डोल्पाली मगर समाजका स्थानीय गुम्बाहरूमा भिक्षु (परिव्राजक) र भिक्षुणी (परिव्राजिका) को परम्परा पाइँदैन । स्थानीय गुम्बाका लामाहरूले सन्यासी जीवनयापन नगर्ने हुँदा अन्य बौद्ध भिक्षुहरू झैं मुडुलो हुने चलन पनि छैन । त्यसैले गाउँमा गुम्वा भए पनि विहार हुँदैन । जीवनचक्रीय संस्कार खासगरी जन्म र मृत्यु संस्कारमा बौद्ध लामाको भूमिका रहन्छ । शिशु जन्मेकै दिन वौद्ध विधिअनुसार लामाले पूजापाठ गरेर साङ (न्वारान) गर्ने चलन छ भने मृत्यु संस्कारमा पनि लामाले विधि गर्ने र तीन दिनमा शुद्धशान्ति गर्ने चलन रहेको छ । विवाहमा दुलही भित्र्याउने क्रममा दैलोमा कुखुरा काटिन्छ । आफ्ना कुलपितृ, माई आदिको पूजामा पनि कुखुरा बलि दिइन्छ । बुद्ध धर्म, स्थानीय देवदेवी, प्रकृति, पितृ एवं आत्मासँग डोल्पाली मगर संस्कृति र संस्कार वीच एकीकृत सम्बन्ध कायम भएको पाइन्छ । यस कार्यले सामाजिक एवं धार्मिक विनिमयलाई समेत झल्काउँनुका साथै समाजमा स्थायित्व ल्याउने महत्वपूर्ण कार्य गरेको देखिन्छ । वि. सं. २०५० को दसकदेखि डोल्पाका अतिरिक्त अन्य क्षेत्रका मगर समाजमा पनि बौद्ध धर्मप्रतिको आकर्षण बढ्दो देखिन्छ । वि. सं. २०५८ को जनगणनाअनुसार २४.५ प्रतिशत मगरहरूले बौद्ध धर्म मान्ने गर्दछन् ।
गण्डकेली मगर संस्कृति :
भौगोलिक हिसाबले वागलुङदेखि पूर्वतर्फको मगर समाजमा हिन्दू धर्म संस्कृतिको प्रभाव रहेको देखिन्छ । जनगणना २०५८ अनुसार ७४.६ प्रतिशत मगरहरूले हिन्दू धर्म मान्ने गरेको देखिन्छ । यद्धपि यो भेगका मगरहरूले हिन्दू संस्कृति र मगरात संस्कृतिलाई सम्मिश्रण गराएर अभ्यासमा ल्याएको पाइन्छ । हिन्दू परम्परानुसार एघार दिनमा जन्मको सुत्को तथा तेह्रौं दिनमा मृत्युको आशौच शुद्धिकरण गराउने भए पनि उनीहरूले मगरात संस्कृतिअनुसार संस्कार कर्ममा चेलीवेटी परम्परालाई कायमै राखेको पाइन्छ । यो सांस्कृतिक समूहमा जीवात्मावाद वा प्रकृतिपूजा, पितृपूजा, झांक्रीवाद र बलिपूजा परम्पराले पनि निरन्तरता पाइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध देवस्थलहरू मनकामना, आलमदेवी, बूढासुब्बा, छाब्दीवाराही, गोरखकाली, हनुमानढोका दसैंघर, कास्कीकोट, लम्जुङकोट, सल्याकोट, बल्ढेङगढी, भार्से–अर्कुलकोट, रौतामाई, सत्यवती, रैनादेवी आदिका मूल पुजारीहरू पनि गण्डकेली मगर सांस्कृतिक समूहका मगरहरू रहेका छन् । तान्त्रिक पितृपूजा परम्पराबाट थालनी भएका यी देवस्थलहरूमा सुँगुरको बलि समेत चढाइन्छ । त्यसकारण गण्डकेली मगर संस्कृतिमा सम्मिश्रित तथा समन्वयात्मक नेपाली राष्ट्रिय संस्कृतिका महत्वपूर्ण आधारहरू पाइन्छन् ।
निष्कर्ष :
एक सय पच्चीस जातजाति तथा एक सय तेइस भाषाभाषी रहेको बहुलवादी नेपाली समाजमा सांस्कृतिक विनिमय (acculturation) को प्रक्रियाले स्थान पाउनु अति सामान्य कुरा हो । बहुलवादी समाजमा एकअर्काको प्रभावबाट अलग राख्ने तथा परम्परागत मौलिकतालाई निरन्तरता दिने प्रक्रिया सहज हुँदैन । कुनै न कुनै रुपमा एकअर्काको भाषिक तथा सांस्कृतिक प्रभाव आदानप्रदान भइरहेको हुन्छ । नेपालको सबैभन्दा पुरानो सम्यता (मगरात सभ्यता) सँग सम्बन्धित मगर जातिको विशेष भूमिकाले प्राचीनकाल, मध्यकाल र आधुनिककालसम्म निरन्तरता पाइरहेकाले पनि थुप्रै खालका सांस्कृतिक परिवर्तन र परिमार्जनका प्रक्रियाहरूलाई आत्मासात गर्दै आएको बुझिन्छ । विक्रमको बाह्रौंदेखि पन्ध्रौं शताब्दीसम्म कर्णाली र गण्डकी प्रश्रवणक्षेत्रमा सिंजाली खस साम्राज्यको प्रभुत्व कायम रहेको तथा सिंजाली सम्राटहरूले आफ्नो राज धर्मको रुपमा बुद्ध धर्मको महायान सम्प्रदाय अन्तर्गत तिब्बती लामावादलाई अवलम्बन गरेकाले पनि मगर समाजमा बौद्ध महायानको प्रभाव भित्रिएको देखिन्छ । वाइसी–चौवीसी राज्यहरूको उदयसँगै पन्ध्रौं शताब्दीदेखि हिन्दू धर्म संस्कृतिको प्रभाव भित्रिएको बुझिन्छ । वि. सं. १९०३ सालको कोतपर्वको नरसंहारबाट सत्तामा पुगेका जंगवहादुर कुँवरले वि. सं. १९१० सालमा लागू गराएको मुलुकी ऐनले हिन्दू शास्त्रीय मान्यतालाई वैधानिकता प्रदान गरेपछि मगर लगायत सम्पूर्ण नेपाली समाजमा संस्कृतिकरणले उत्कर्षता प्राप्त ग¥यो । यही कालखण्डमा आएर मगर जातिमा स्पष्ट रुपमा तीन वटा सांस्कृतिक उपसमूहहरू (राप्तेली, डोल्पाली र गण्डकेली) अस्तित्वमा आएको हो । मगरात सभ्यताको मूल दर्शनलाई प्रतिनिधित्व गर्ने राप्तेली मगर संस्कृति, बौद्ध महायान सम्प्रदायको प्रतिनिधित्व गर्ने डोल्पाली मगर संस्कृति र हिन्दू तथा मगरात सभ्यताको सम्मिश्रित मान्यताहरूको प्रतिनिधित्व गर्ने गण्डकेली मगर संस्कृतिको समग्रता वा सामुहिकता नै वर्तमान मगर संस्कृतिको पहिचानको मूल आधार वा धरातल हो । यी तीन सांस्कृतिक समूह मध्ये कुनै एउटा समूहको मात्र अस्तित्वलाई स्वीकार गर्ने परिस्थितिगत वातावरण सिर्जना भएको खण्डमा सिङ्गो मगर जातिको सांस्कृतिक पहिचान संकटमा पर्न जानेछ । अर्थात सांस्कृतिक पहिचान विहिनता (ethnocide) को अवस्थामा पुग्ने निश्चित छ । यसरी विभिन्न कालखण्डहरूमा देखापरेका समसामयिक परिवर्तन र प्रभावहरूलाई आत्मसात गर्दै मगर जातिले नेपाली राष्ट्रिय संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका निभाउँदै आइरहेको पाइन्छ । जसरी सिद्धार्थ गौतम बुद्धले अति भोगविलास र अति दुश्करचर्याबाट जोगिने शिक्षा दिएर अनात्मा र अभौतिकवादमा अडेको सदाचारवादी मध्यमार्गी दर्शनको प्रतिपादन गरेका थिए, त्यसरी नै मगर जातिले पनि खस साम्राज्यकालको बौद्ध महायानीकरण वा जहानीया राणाकालको संस्कृतिकरण र आफ्नै मौलिकतामा आधारित मगरीकरणबाट समदूरी अर्थात मध्यमार्ग कायम राख्दै समन्वकारी साझा नेपाली राष्ट्रिय संस्कृति निर्माणमा विशेष योगदान पु¥याएको यथार्थतालाई बिर्सने भूल गर्नू हूदैन ।
- सन्दर्भ सूची :
- अधिकारी, सूर्यमणि. (२०६१, पुनर्मुद्रण २०६७). खश साम्राज्यको इतिहास. काठमाडौं: भुँडीपुराण प्रकाशन ।
- दाहाल, पेशल र खतिवडा, सोमप्रसाद. (२०५८). नेपाली समाज र संस्कृतिको परिचय. काठमाडौं: एम. के. पब्लिसर्स एण्ड डिष्ट्रिब्यूटर्स ।
- पोखरेल, बालकृष्ण. (२०५५). खश जातिको इतिहास. विराटनगरः उदात्त अनुसन्धान अड्डी ।
- विष्ट, डोरबहादुर. (सन् २००२). सबै जातको पूmलवारी. ललितपुरः हिमाल किताब ।
- योगी, नरहरिनाथ. (२०३६). श्री मगर गुरुङ वंशावली. नवदेहलीः विश्व गोर्खाली समिति ।
- शर्मा, बालचन्द्र. (२०३३). नेपालको ऐतिहासिक रुपरेखा. तेस्रो संस्क. वाराणसीः कृष्ण कुमारी देवी ।
- शाक्य, केशवमान. (सन् २०११). मगर राज्यः मंगोलियादेखि मगधसम्म. कानुङ इम, १४ (४), पृ. ८–११ ।
- श्रीस मगर, मीन. (२०७४). गलकोट खुवाक्षेत्रको मगर संस्कृति. ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
- ––– (२०७५). मगर जातिको इतिहास. हङ्गकङ्गः मगर संघ हङ्गकङ्ग ।
- श्रेष्ठ, टेकबहादुर. (२०५९). पर्वत राज्यको ऐतिहासिक रुपरेखा. काठमाडौं: नेपाल र एशियाली अनुसन्धान केन्द्र, त्रि. वि., कीर्तिपुर ।
- सुवेदी, राजाराम. (२०४५ वैशाख–जेठ–असार). गुल्मीको नामाकरण. प्रज्ञा. १६(४), पृ. ५२ ।
- Bista, D. B. (1991, Reprint 2001). Fatalism and development. Patna: Orient Longman Ltd.
- C.B.S. (2002). Population of Nepal: Cast/ethnicity, mother tongues & religion (western
- development region). Kathmandu: National Planning Commission.
- C.B.S. (2002). Population census 2001, National report. Kathmandu: National Planning
- Commission.
- Carnivus, G. (1984). Pre-historic discoveries in the foothills of the Himalayas in Nepal. Ancient Nepal. pp. 86-88.
- Fisher, J. F. (1987). Trans–Himalayan traders: Economy, society and culture in north-west Nepal. New Delhi: Motilal Banarasidas Publishers Pvt. ltd.
- Hodgson, B. H. (1874). Essay on the languages literature and religion of Nepal and Tibet. London: Trubner & Company.
- Oppitz, M. (1983). The wild boar and the plough: Origin stories of the northern Magars. Kailas, X(1), pp. 187-226.
- Scott, William P. (1999). Dictionary of sociology. Delhi: GOYAL SaaB Publishers and Distributors.
- Vansittart, E. (1906). Gurkhas. Calcutta: Office of the Superintendent, Government Printing, India.