अग्रज पत्रकारद्वय थापा र राजभण्डारीलाई कञ्चन पत्रकारिता पुरस्कार

पोखरा, २७ साउन
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २१ औं स्थापना दिवसका अवसरमा पोखरामा २ जना अग्रज आदिवासी जनजाति पत्रकार सम्मानित भएका छन् ।
फोनिज गण्डकी प्रदेशको आयोजनामा भएको कञ्चन पत्रकारिता पुरस्कार अक्षयकोष घोषणा तथा पुरस्कार वितरण कार्यक्रममा कास्की र बागलुङका दुई जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो । पोखराका व्यवसायी तथा समाजसेवी विमलमान गुभाजूद्वारा आफ्ना पिता स्व. वेदमान गुभाजू तथा माता स्व. नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापित तथा फोनिज गण्डकी प्रदेशद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार २०७७’ बाट कास्कीका अग्रज पत्रकार रूद्रबहादुर थापामगर तथा बागलुङका अग्रज पत्रकार राजेशचन्द्र राजभण्डारी सम्मानित भएका हुन् ।
लामो समयदेखि पत्रकारितामा सक्रिय सम्मानित दुवैलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नगद २५ हजार सहित सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
सम्मान पश्चात कार्यक्रममा बोल्दै पत्रकार राजभण्डारीले सम्मान पछि आफूलाई पत्रकारितामा अझै अगाडि बढ्न ऊर्जा मिलेको बताउनुभयो । राजभण्डारीले शरीर र सासले साथ दिँदासम्म पत्रकारिता नै बताउनुभएको छ । त्यस्तै अर्का सम्मानित थापामगरले पत्रकारितामा नै जीवन बिताउने बताउँदै उहाँले इमान्दारिताका साथ अझै यही क्षेत्रमा काम गर्न ऊर्जा मिलेका धारणा व्यक्त गर्नुभयो ।
यस्तै, कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वभरि नै कोरोना भाइरसले महामारीको रुप लिए जस्तै कम्युनिस्ट पार्टीमा पनि एक किसिमको भाइरस छिरेको बताउनुभयो । ५ वर्षको म्यान्डेट दिएर नागरिकले यो सरकार चुनेकाले ५ वर्षसम्म सरकार परिवर्तन गर्ने विषयमा कसैले सोच्नै नहुने उहाँको भनाइ थियो । कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा लकडाउन गर्ने मनस्थितिमा आफूहरू नरहेको स्पष्ट पारेका छन् । अन्य क्षेत्रमा सहयोग गरिरहेपनि सञ्चार क्षेत्रमा सहयोग गर्न नसकेको बताउँदै संस्थागत हिसावमा कार्यक्रम लिएर आउन र आफुहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
पुरस्कारदाता गुभाजूले कार्यक्रममा आदिवासी जनजाति पत्रकारका लागि आफ्नै स्व. आमाबाबाको नाममा ६ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्दै चेक हस्तान्तरण गर्नुभएको थियो । कायक्रममा संस्थालाई पु¥याएको योगदानका आधारमा आभारपत्रसहित पुरस्कार तथा अक्षयकोषदाता गुभाजू र अधिवक्ता जुनाकुमारी गुरुङलाई समेत सम्मान गरिएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिल श्रीसमगर, पुरस्कार छनौट समितिका संयोजक एवं नेपाल बार एशोसिएसनका उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगर, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका इञ्चार्ज हुमबहादुर गुरुङ, महासचिव रूद्रबहादुर श्रीसमगरलगायतले आ–आफ्नो भनाइ व्यक्त गरेका थिए ।

Advertisment