रामेश्वरी माविका बालबालिकालाई लायन्स क्लब पोखरा गण्डकी प्रदेशको स्वास्थ्य सुरक्षा सामग्री सहयोग

पोखरा, २५ साउन
लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले पोखरा–१४, मझेरीपाटनस्थित रामेश्वरी माविमा अध्ययनरत बालबालिकाका लागि स्वास्थ्य सुरक्षा सामग्री तथा स्टेशनरी सहयोग गरेको छ ।
नेपालमा लायन्स क्लब स्थापना भएको ५० वर्ष अर्थात् स्वर्ण वर्ष पुगेको अवसरमा आइतबार सो लायन्स क्लबले सर्जिकल मास्क, सेनिटाइजर, साबुन, बाल्टिन तथा जग एवं कापी, कलमलगायतका स्वास्थ्य तथा शैक्षिक सामग्री सहयोग गरेको हो ।
सो अवसरमा लायन्स क्लब इन्टरनेशनल ३२५ बी वान क्लष्टर नं. ३० का क्लष्टर चिफ लायन सूर्यनारायण बराल, लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशकी एक्टेन्सन चेयरपर्सन लायन सुनादेवी श्रेष्ठ मल्ल, क्लबकी अध्यक्ष लायन कोपिला श्रीस र कम्युनिकेशन चेयरपर्सन लायन रूद्रबहादुर श्रीसले विद्यालयका प्रधानाध्यापक तुलसी चापागाईंलाई ती सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै क्लष्टर चिफ लायन बरालले नेपालमा लायन्स क्लब स्थापना भएको ५० वर्ष पुगेको अवसरमा क्लबले कोभिड–१९ विरुद्ध लड्न आवश्यक पर्ने सामग्री सहयोग गरेर सराहनीय काम गरेको बताउनुभयो । लायन्स क्लब विशुद्ध समाजसेवामा क्रियाशील रहेको भन्दै उहाँले लायन्सप्रतिको जागरण बढ्दै गएको भन्दै खुशी व्यक्त गर्नुभयो । बरालले कोभिड–१९ को महामारीका बेला सबैले सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै लायन्स क्लबहरूले महामारी र विपद्का बेला समेत पीडितको साथी बन्दै आएको उल्लेख गर्नुभयो ।


विद्यालयका प्रधानाध्यापक चापागाईंले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि अति आवश्यक रहेको कोभिड–१९ विरुद्ध लड्न स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेकोमा लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै, उहाँले आगामी दिनमा पनि विद्यालयको आवश्यकता हेरेर यस्तै सहयोगको अपेक्षा समेत गर्नुभयो ।
कार्यक्रमका बारेमा जानकारी गराउँदै क्लबका कम्युनिकेशन चेयरपर्सन लायन रूद्रबहादुर श्रीसले नयाँ लायन्स क्लबका रुपमा अघि आएको क्लब भएको जनाउँदै रचनात्मक कार्य गर्दै सामाजिक सेवामा निरन्तर समर्पित रहने उल्लेख गर्नुभयो । क्लबलाई फरक ढंगले समाजसेवामा स्थापित गर्न आफूहरूको प्रयास रहने बताउँदै श्रीसले लायनवाद र लायन्स संस्कृतिको विकासमा लागिपर्नेमा जोड दिनुभयो ।


सहयोग हस्तान्तरण कार्यक्रमको व्यवस्थापनको संयोजन विद्यालयका लेखापाल हरि जिसीले गर्नुभएको थियो भने कार्यक्रममा शिक्षक पूर्णजित सुवेदीले पनि बोल्नुभएको थियो । कार्यक्रममा लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशकी द्वितीय उपाध्यक्ष लायन उषा थापा, सचिव लायन तनुजा थापा, कोषाध्यक्ष लायन सुशीला विश्वकर्मा, सह–कोषाध्यक्ष लायन जमुना घर्ती, एलसीआईएफ कोअर्डिनेटर लायन देवी थापा र लायन प्रेमकुमारी घर्ती समेतको उपस्थिति रहेको थियो ।
यस क्लबले स्थापनाको छोटो समयमै लायन्ससम्बन्धी अभिमुखीकरण, वृक्षारोपण, उद्घोषण तालिमलगायतका रचनात्मक कार्य समेत सम्पन्न गरिसकेको छ । नयाँ क्लब भएपनि आफूहरूले सामाजिक कार्यमा क्रियाशीलता बढाउने प्रयास गरेको क्लबकी अध्यक्ष लायन कोपिला श्रीसले बताउनुभयो ।

Advertisment