कञ्चन पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनौट समिति गठन

पोखरा, २२ साउन
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशद्वारा सञ्चालित “कञ्चन पत्रकारिता पुरस्कार–२०७७”का लागि प्रतिभा छनौट समिति गठन गरिएको छ ।
व्यवसायी तथा समाजसेवी विमलमान गुभाजू र परिवारद्वारा आफ्ना माता पिता स्व. वेदमान गुभाजू र नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापित सो पुरस्कारका लागि नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुरेन्द्र थापामगरको संयोजकत्वमा पाँच सदस्यीय छनौट समिति गठन गरिएको हो ।
फोनिज, गण्डकी प्रदेशको बिहीबार सम्पन्न कार्यसमिति बैठकद्वारा गठित छनौट समितिका सदस्यहरूमा फोनिज, गण्डकी प्रदेशका इञ्चार्ज हुमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशकी उपाध्यक्ष शान्ति गुरुङ, फोनिज, गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगर र महासचिव रूद्रबहादुर श्रीसमगर रहनुभएको छ ।
एक जना क्रियाशील र एक जना आदिवासी जनजाति संस्कृतिको संरक्षणमा पत्रकारितामार्फत् योगदान दिने गरी दुई जना आदिवासी जनजाति पत्रकारलाई जनही २५ हजार रुपैयाँ नगद र ताम्रपत्रबाट पुरस्कृत गरिने अध्यक्ष मगरले जानकारी दिनुभयो । गुभाजू परिवारद्वारा स्थापना गरिएको ६ लाख रुपैयाँ नगद राशिको “कञ्चन पत्रकारिता पुरस्कार अक्षयकोष–२०७७” घोषणा हुने दिन नै पहिलो पुरस्कार दिन लागिएको उहाँले बताउनुभयो ।
सो पुरस्कार यही साउन २७ गते फोनिजको २१ औं स्थापना दिवसका अवसरमा प्रदान गरिने फोनिज, गण्डकी प्रदेशका महासचिव श्रीसले जानकारी दिनुभयो । अक्षयकोषको ब्याजबाट आउने रकममार्फत् हरेक वर्ष गण्डकी प्रदेशका दुई जना आदिवासी जनजाति पत्रकारलाई पुरस्कार प्रदान गरिने जनाइएको छ ।

Advertisment