कार्यविधि बनाएर मिडियाका समस्या सम्बोधन गर्छौं ः मन्त्री अजित

पोखरा, १९ साउन
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान ‘अजित’ले कार्यविधि बनाएर मिडियाका विद्यमान समस्या हल गर्न प्रयास गरिने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको कोभिड–१९ ले प्रेस जगतमा पारेको असर र सरकारी संयन्त्रको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री अजितले कोभिड–१९ ले सबै क्षेत्रमा उत्तिकै असर गरेको र मिडिया क्षेत्रमा पनि त्यसको असर परेको उल्लेख गर्नुभयो ।
मिडियाका समस्या प्रदेश सरकारले बनाउने कार्यविधिमार्फत् हल गरिने बताउँदै उहाँले सरकारलाई बेलाबखत झकझक्याइरहन समेत आग्रह गर्नुभयो । गण्डकी प्रदेशमा पहिलोपटक चालु आर्थिक वर्षमा लोककल्याणकारी विज्ञापनका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै मन्त्री अजितले आवश्यक कार्यविधि बनाएर प्रदेशका विभिन्न सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराइने उल्लेख गर्नुभयो । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सञ्चार क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले कोभिड महामारी र बाढीपहिरोलगायतका विपद्का समयमा पूर्व सूचना र जानकारी महत्वपूर्ण हुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरू अग्रमोर्चामा रहेर कोभिड–१९ का विरुद्ध लडिरहेको उल्लेख गर्दै समाजलाई सचेत र शिक्षित बनाउने कार्यमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । अग्रमोर्चामा रहेर कोभिडका विरुद्ध लड्दा पत्रकारले भोग्नुपरेका समस्याका बारेमा पत्रकार महासंघले अध्ययन गरिरहेको बताउँदै अध्यक्ष आचार्यले पत्रकारलाई पेशाबाट पलायन हुनबाट रोक्न पहल गरिने उल्लेख गर्नुभयो ।
त्यस्तै, महासंघका महासचिव रमेश विष्टले कोभिड–१९ का विरुद्ध सरकारले ल्याएका नीति, निर्देशन कार्यान्वयनका लागि सरकारलाई सहयोग गर्ने सञ्चारमाध्यमको दायित्व रहेको भन्दै महामारीका बेला सञ्चारमाध्यमले सत्य, तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सञ्चारगृह नै संकटमा फसेको र पत्रकारहरू ठूलो संख्यामा बेरोजगार हुने अवस्था आएको भन्दै उहाँले पत्रकारका हकहित र सञ्चारगृहलाई बचाउने कुरामा समेत आफूहरू उत्तिकै सचेत रहेको भनाइ राख्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले सञ्चारगृहलाई राज्यले नीतिगत रुपमा भएपनि बचाउनुपर्ने बेला आएको भन्दै सञ्चारगृहलाइृ बचाउन र पत्रकारलाई पलायन हुन नदिन राज्यको विशेष ध्यान जानुपर्ने बताउनुभयो । नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले सञ्चारमाध्यममा ठूलो मात्रामा विज्ञापन कटौती भएको भन्दै सञ्चारमाध्यम र पत्रकारका लागि राज्यले नीतिगत रुपमा भएपनि सहुलियतको व्यवस्था गरिदिनुपर्नेमा जोड दिनुभयो ।
प्रेस संगठन नेपालका केन्द्रीय सदस्य श्याम कुँवरले मोफसलका सञ्चारमाध्यममा काम गर्ने श्रमजीवि पत्रकारले सबैभन्दा बढी समस्या भोगिरहेको बताउँदै राज्यले मोफसलका मिडियालाई विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्थाले सञ्चारमाध्यम र पत्रकारले अझै पनि संघीयताको महसुस गर्न नसकेको बताउँदै तीनै तहका सरकारले सञ्चारमाध्यम र पत्रकारप्रति परम्परागत हेराइ परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले पत्रकारिता गरेरै जीवन गुजारा गर्ने श्रमजीवि पत्रकार अहिले समस्यामा रहेको भन्दै गण्डकी प्रदेश सरकारले श्रमजीवि पत्रकारका लागि विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा महासचिव गणेश पौडेलले पनि बोल्नुभएको थियो ।

Advertisment