मगरात संयुक्त संघर्ष समितिको नेतृत्व हस्तान्तरण

काठमाडौं, १६ साउन
विभिन्न राजनैतिक दलसम्बद्ध मगर संगठनहरूको साझा मोर्चा संयुक्त मगर मञ्च–नेपालको बैठकले मगरात संयुक्त संघर्ष समितिको नेतृत्व हस्तान्तरण गरेको छ ।
विशेष परिस्थितिमा २०७४ सालदेखि नेपाल मगर संघले नेतृत्व गर्दै आएकोमा आलोपालो प्रणाली बमोजिम संघर्ष समितिको नेतृत्व जनता समाजवादी पार्टीनिकट मगर संगठनलाई हस्तान्तरण गरिएको छ । अब समितिको नेतृत्व जनता समाजवादी मगर संघका अध्यक्ष बोम दर्लामीमगरले सम्हाल्नुहुने भएको छ ।
यस संघर्ष समितिमा मञ्चआबद्ध सबै घटक मगर संगठनबाट पाँच÷पाँच जना र मगरात प्रदेश अन्तर्गतका गैर मगर जातीय संस्था एवं समुदायबाट सदस्य रहने व्यवस्था रहेको छ भने सचिवालय व्यवस्थापनको जिम्मेवारी नेपाल मगर संघको रहेको संघका महासचिव ज्ञानेन्द्र पुनमगरले जानकारी दिनुभयो । यसअघि, मगरात संयुक्त संघर्ष समितिको नेतृत्व नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले गर्नुभएको थियो भने सदस्य सचिवका रुपमा महासचिव ज्ञानेन्द्र पुनमगर रहनुभएको थियो ।
मगरात संयुक्त संघर्ष समितिले आठौं प्रदेशका रुपमा छुट्टै एकीकृत मगरात प्रदेशको स्थापनाका लागि विभिन्न अभियान र संघर्षका कार्यक्रम गर्दै आएको छ । नेपालको संविधानमार्फत् मगरात भूमिलाई तीन वटा प्रदेशमा विभाजन गरी मगर समुदायको भावनामा चोट पु¥याइएको भन्दै मगर समुदायले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

Advertisment