गोठादीका पहिरोपीडितलाई मगर संघको १ लाख ३८ हजार बढी आर्थिक सहयोग

पोखरा, ६ साउन
कास्कीको पोखरा महानगरपालिका वडा नं. १८, सराङकोट, गोठादीका पहिरोपीडित परिवारलाई नेपाल मगर संघ अन्तर्गतका विभिन्न समितिले १ लाख ३८ हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेका छन् ।
गोठादीको पहिरोमा परी टंकबहादुर थापामगरको एकै परिवारका चार जनाले ज्यान गुमाएका थिए । मंगलबार १३ औं दिनको पुण्यतिथिका अवसरमा मृतकका परिवारलाई सो सहयोग रकम हस्तान्तरण गरिएको छ । सो अवसरमा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालकृष्ण काउछामगर, गण्डकी प्रदेश समितिकी उपाध्यक्ष तारामाया थापामगर, कास्की जिल्ला अध्यक्ष संगीता पुनमगर, पोखरा महानगर समितिकी कोषाध्यक्ष पदमकुमारी थापामगर, कालिकानगर इकाईकी कोषाध्यक्ष अरुणा आलेमगरलगायतले नेपाल मगर संघ, सराङकोट इकाई समितिका अध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक सञ्जीव थापामगरलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
आर्थिक सहयोग रकम हस्तान्तरणपछि बोल्दै संघका केन्द्रीय सल्लाहकार काउछामगरले शोकलाई शक्तिमा बदल्न परिवारजनलाई आग्रह गर्नुभयो । कोरोना भाइरसको महामारीसँगै प्राकृतिक प्रकोपबाट ठूलो धनजनको क्षति भएको भन्दै काउछामगरले यस्तो बेला सबै सचेत र सतर्क रहनुपर्नेमा जोड दिनुभयो । साथै, उहाँले मृतकप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।
संघकी गण्डकी प्रदेश उपाध्यक्ष तारामाया थापामगरले प्राकृतिक विपत्तिबाट बच्न पूर्व सजगता अपनाउनुपर्ने बताउँदै अव्यवस्थित विकासले विनाश निम्त्याउन थालेको उल्लेख गर्नुभयो । त्यस्तै, संघकी कास्की जिल्ला अध्यक्ष संगीता पुनमगरले थापा परिवारको पीडामा अलिकति भएपनि मगर संघले मल्हम लगाउने प्रयास गरेको बताउनुभयो ।
पीडित परिवारको तर्फबाट बोल्दै विपद् व्यवस्थापन समितिका संयोजक एवं मगर संघका इकाई अध्यक्ष सञ्जीव थापामगरले दुःख एवं आपतमा नै समाज काम लाग्ने भन्दै हरेक व्यक्ति समाजमा आबद्ध हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै, उहाँले सहयोगका लागि मगर संघलाई धन्यवाद समेत दिनुभयो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघ, गण्डकी प्रदेशका तर्फबाट ६ हजार ५ सय, कास्की जिल्लाबाट संकलित १ लाख १ हजार १ सय १०, पोखरा महानगर समितिबाट ५ हजार, नेपाल मगर महिला संघ, कास्कीबाट ५ हजार एवं लालीगुराँस ऐंजु आमा समूहकी अध्यक्ष दीक्षा पुनमगरबाट व्यक्तिगत ५ हजार ५ सय ५५, कास्की जिल्ला अन्तर्गतका विभिन्न इकाई समितिबाट संकलित गरी जम्मा १ लाख ३८ हजार ८ सय ५५ रुपैयाँ हस्तान्तरण गरिएको मगर संघ, कास्कीका सचिव रामबहादुर थापामगरले जानकारी दिनुभयो ।
गत असार २५ गते गोठादीमा गएको पहिरोमा परी ४८ वर्षीय टंकबहादुर थापामगर, उनका श्रीमती सोममाया थापामगर, ११ वर्षीया ईशिका थापामगर, ६ वर्षीय सुवान थापामगर र ८ वर्षीया शीतल श्रेष्ठको घटनास्थलमै ज्यान गएको थियो भने ८ जना घाइते भएका थिए । घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Advertisment