सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गर्न सरकारले पहल गर्ने छ– प्रधानमन्त्री

काठमाडौं १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गर्ने वताउनु भएको छ । प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारी सम्बन्धी सबै क्षेत्र प्रभावित भएको वताउँदै सार्वजनिक यातायात सञ्चालन गर्न यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने वताउनु भएको हो ।


कोभिड– १९ को महामारी पश्चात् यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आएको यातायात ब्यवसायी र मजदूर संगठनका नेताहरुको प्रतिनिधि मण्डलसँग आज कुरा गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित भएका सवै क्षेत्रका समस्या राज्यले हेर्नु पर्ने भएकाले आफ्नो सामथ्र्य अनुरुप समाधानमा अग्रसर रहने वताउनु भयो ।
‘कोभिड–१९ को महामारीपछि सबै क्षेत्र प्रभावित हुन पुगे । जनताको दैनिक जीविका, विकास, अर्थतन्त्र र सेवा, सबै क्षेत्रमा यसको प्रभाव छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सबै क्षेत्रका समस्या सरकारले समाधान गरिदिए हुन्थ्यो भन्ने परिरहेको छ, यस्तो स्वाभाविक पनि हो । सार्वजनिक यातायात सञ्चालन गर्न के कस्तो सहयोग गर्न सकिन्छ, सरकारले पहल गर्ने छ ।’ संसारभर कोरोना महामारीको संकट आएपछि सरकारको आर्थिक हैसियतमा पनि ह्रास आएको प्रधानमन्त्रीको भनाई थियो ।
नेपाल यातायात ब्यवासायी राष्ट्रिय महासंघ र यातायात मजदूर संगठनका प्रतिनिधिहरुले प्रधानमन्त्री ओलीसँग भेट गरी आफ्ना समस्या प्रस्तुत गर्नु भएको थियो । प्रतिनिधि मण्डलमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला, उपमहासचिव बसन्त भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदूर संघका रामचन्द्र कार्की र नेपाल यातायात मजदूर संघका धर्मराज भण्डारी सहभागि हुनुुहन्थ्यो । यस अघि सो टोलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग भेटघाट गरिसकेको छ ।

Advertisment