महालेखाद्वारा गण्डकी प्रदेश प्रमुख शेरचनसमक्ष प्रदेश लेखा परीक्षण प्रतिवेदन पेश

357

पोखरा, ३१ असार
महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७५/०७६ को गण्डकी प्रदेशको लेखा परीक्षण प्रतिवेदन गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई पेश गरेको छ ।
बुधबार महालेखापरीक्षक टंकमणि शर्माले गण्डकी प्रदेश प्रमुख शेरचनलाई विद्युतीय माध्यमबाट प्रदेश लेखा परीक्षण प्रतिवेदन पेश गर्नुभएको हो । विद्युतीय माध्यमबाट प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले आर्थिक पारदर्शीता र सुशासन कायम गर्न प्रतिवेदन महत्वपूर्ण भएको बताउनुभयो ।
देशको आर्थिक कारोबार प्रणालीलाई जस्ताको तस्तै उजागर गरेर चुस्त दुरुस्त राख्न लेखा परीक्षण प्रतिवेदनले सघाउ पुग्ने उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले देशको समृद्धिका लागि आर्थिक सुशासन अति आवश्यक रहेको धारणा राख्नुभयो । बेरुजुको समस्या दीर्घकालीन रोगजस्तो बनेको बताउँदै उहाँले बेरुजुको निदानका लागि महालेखापरीक्षकको कार्यालयले अचुक उपाय सुझाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिवेदन पेश गर्दै महालेखापरीक्षक शर्माले कोरोना भाइरसको महामारी र लकडाउनका कारण भौतिक रुपमा उपस्थित भएर प्रतिवेदन हस्तान्तरण गर्न नपाएको बताउनुभयो । सो अवसरमा प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बाँस्तोलाको समेत उपस्थिति रहेको थियो ।