नेकपाभित्र एकता कायम गर्न बादलको भूमिका खोजी

काठमाडौं, २३ असार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने दाबी गर्नुभएको छ ।
राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईसहित केन्द्रीय सदस्यहरुको टोलीसँगको मंगलबारको भेटमा गृहमन्त्री बादलले आफू झम्सिखेल बैठकमा गएको र बोलेको कुरालाई बंग्याएर कुप्रचार गरिएको समेत बताउनुभयो ।
पार्टी विभाजनविरुद्ध उभिन र नेताहरूबीच एकता कायम गर्न दबाव दिन जाँदा गृहमन्त्रीले आफू कसैलाई निषेध गरेर जान हुँदैन भन्ने पक्षमा रहेको बताएको नेता भट्टराईले जानकारी दिनुभयो । झम्सिखेलको अँगेनो रेष्टुरेन्टमा भएको भेलामा आफ्नो सहभागितालाई पनि गुटहरुबाट कुप्रचार गरिएको बादलको भनाइ रहेको भट्टराईले बताउनुभयो ।
नेताहरूसँग बादलले भन्नुभयो, ‘अहिले सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुराले प्रतिक्रान्ति निम्त्याउँछ । हामीले क्रान्तिलाई सहयोग गर्नुपर्छ । कसैलाई निषेध गरेर जानु हुँदैन । हामीले पार्टी बलियो बनाउने हो, गुटलाई बलियो बनाउने होइन । म स्थायी कमिटी बैठकमा पनि यही कुरा राख्छु ।’ बादललाई भेट्न खिमलालसहित राष्ट्रियसभा सांसद तथा केन्द्रीय सदस्यहरु सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, जीवन बुढा र नरपति लोहार गृहमन्त्रालय पुग्नुभएको थियो । बुढा बाहेक अरु सबै प्रधानमन्त्री केपी ओलीनिकट नेता हुन् ।
उनीहरुले पार्टीमा एकता कायम गर्न बादलको भूमिका हुनुपर्ने बताएका थिए । संस्थापन निकट नेताहरूसँग बादलले फरक कुरा गरे पनि झम्सीखेल बैठकमा भने उहाँले आफू माधव–प्रचण्ड समूहकै निकटमा रहेको बताएका थिए । साथै, बादलले आफ्नो सचिवालयका सदस्यहरूलाई अब मन्त्रालय छाड्नुपर्ने अवस्था पनि आउन सक्ने बताउनुभएको थियो ।
स्रोतः अनलाइनखबर

Advertisment