मैले देखेको मगर संघ शाखा युएई र हङकङ

878

–भोजविक्रम बुढामगर

मगर संघको ऐतिहासिक सन्दर्भः
नेपाल बहुजातीय भएपनि राज्य एकल जातीय जगमा टिकेको छ । इतिहासदेखि बर्तमानसम्मको देशको शासकीय संरचनाको तस्वीर हेर्नेहो भने एकल जातीय वर्चश्व छ । जातीय असमानताकै कारण मगर जाति न्याय र समानताको पक्षमा गोलबन्द हुने शिलसिला सुरु भयो यसैक्रममा शासकहरूको आँखा छल्दै मगर समुदायलाई सङ्गठित गरी चेतना जगाउन वि. सं. २०१२ सालमा गुल्मीको भार्से मगर गाउँमा मगर समाज सुधार सङ्घ को भेला गिरीप्रसाद बुढाथोकीमगरको नेतृत्वमा सम्पन्न भएको थियो । नेपाल मगर संघको प्रतिवेदन २०७४ अनुसार वि.सं. २०१३ सालमा म्याग्दी जिल्लाको औलो गाउँमा बादीपीडितलगायत प्राकृतिक विपत्तिमा परेकाहरूलाई सहयोग गर्न र गाउँमा विद्यालय खोली सञ्चालन गर्ने र मगर समुदायलाई चेतना जगाउने उद्देश्य राखी मेजर टेकबहादुर पुनमगरको नेतृत्वमा मगर भेला सम्पन भएको थियो । वि. सं. २०१४ साल फागुन २७ गतेदेखि २९ मेची–कालीबाट विभिन्न जिल्लाको ५०० जना प्रतिनिधिहरूको उपस्थितिमा र हजारौं जनताको सहयोगमा मगर सुधार सङ्घको पश्चिमाञ्चल सम्मेलन गिरीप्रसाद बुढाथोकीमगरलाई नै सभापति चयन गरी वि.सं. २०१३ सालमा रणबहादुर आलेमगरले गोर्खामा मगर भेला गरेको थियो भने । वि. सं. २०१३ सालमा एकदेव आलेमगरले तनहुँमा मगर भेला गरेका थिए सङ्गठनलाई आकार दिन तनहुँको कुलुङ गाउँमा एकदेव आलेमगरकै नेतृत्वमा वि. सं. २०१४ सालमा मगर सम्मेलन सम्पन्न भएको थियो । वि. सं. २०१७ सालको परिवर्तपछि पञ्चायती व्यवस्थाले राजनैतिक तथा सामाजिक सङ्घ÷संस्थामाथि प्रतिबन्ध लगाएपछि मगरहरूलाई एकजुट पारी अधिकारप्रति सचेत पार्न मगर अग्रजहरूको सल्लाह तथा सुझावमा वनभोज आयोजना गरेर प्रशिक्षण दिने र गोप्य रूपमा सङ्गठित गर्ने गरिन्थ्यो । यसरी सुषुप्त रूपमा भएपनि सङ्गठित हुने क्रममा वि.सं. २०२८ सालमा अध्यक्ष खिलध्वज थापामगर उपाध्यक्ष माया रानामगर र महासचिव कुलबहादुर रानामगर रहने गरी काठमाडौंमा “लाङ्घाली परिवार” गठन भयो । वि. सं. २०३२ सालमामा “कानुङ लाङ्घाली परिवार” रूपन्देहीमा पनि स्थापना भयो । वि. सं. २०३५ देखि २०३६ सालमा बागलुङ, सुर्खेत, बाँके, दैलेखलगायतका जिल्लाहरूमा मगर सुधार समिति, पाल्पामा “मगर सुधार समिति” बन्यो भने कास्कीमा “लाङ्घाली परिवार” गठन गर्ने काम व्यापक हुँदै गयो । सारा जिल्लामा छरिएर रहेका सङ्गठनलाई एउटै योजना र साङ्गठनिक पद्धतिभित्र ल्याउने उद्देश्यका साथ वि. सं. २०३६ साल काठमाडौंमा अध्यक्ष डा. हर्षबहादुर बुढामगर, उपाध्यक्ष टोपबहादुर थापामगर, सचिव सुरेश आलेमगर, कोषाध्यक्ष केशरजङ बरालमगर रहेको “लाङ्घारी परिवार” केन्द्रीय तदर्थ समिति गठन भयो । वि. सं. २०३८ साल माघ २८ देखि २९ गते बुटवलको रूपन्देहीमा २२ जिल्लाका प्रतिनिधिको उपस्थितिमा “कानुङ लाङ्घाली परिवार” का अध्यक्ष बाबुराम रानामगर र सचिव जयबहादुर हितानमगर रहेको सङ्गठन र पुरानो लाङ्घाली परिवारलाई एउटैमा गाभेर “नेपाल लाङ्घाली परिवार सङ्घ” केन्द्रीय तदर्थ समिति निर्माण गरी अध्यक्ष हेमबहादुर पुनमगर, उपाध्यक्ष रणबहादुर आलेमगर, सचिव सुरेश आलेमगर, प्रचारप्रसार सचिव जयबहादुर हितानमगर र कोषाध्यक्ष मनवीर गर्बुजा पुनमगरलाई जिम्मेवारी दिने गरी ९ सदस्यीय कार्यसमिति निर्माण गरियो । वि. सं. २०३९ साल फागुन १४, १५ देखि १६ गते तनहुँको दमौलीमा तानाशाही पञ्चायती व्यवस्थाको प्रहरी घेराबन्दीबीचमा नै हजारौं मगर समुदायको उपस्थितिमा “नेपाल लाङ्घाली परिवार सङ्घ” को ऐतिहासिक प्रथम महाधिवेशन भव्यताका साथ सम्पन्न भएको थियो । प्रथम अधिवेशनले अध्यक्ष हेमबहादुर पुनमगर र महासचिवमा सुरेश आलेमगरलाई निर्वाचित गरी १५ सदस्यीय “नेपाल लाङ्घाली परिवार सङ्घ”, केन्द्रीय समिति चयन ग¥यो । त्यसैले फागुन १५ गतेलाई सङ्घको स्थापना दिवसको रूपमा मनाउने गरिन्छ । मगर जातिको इतिहासको विभिन्न उतारचढाव बीच गुज्रिरहेको छ भने सङ्गठनको जीवनमा चुनौति र सम्भावनाले लुकामारी गर्दै अगाडि बढ्ने क्रममा समय र युगको छालसँगै आफ्नो संरचना, योजना, कार्यक्रम र मुद्दाहरूलाई परिमार्जित गरेर रूपान्तरण गर्दै आएको छ । सङ्गठनलाई फराकिलो, बैज्ञानिक, व्यावहारिक र विकसित गर्नको लागि २०४८ को चौथो महाधिवेशनले “नेपाल लाङ्घाली परिवार सङ्घ” लाई परिवर्तन गरी “नेपाल मगर सङ्घ” मा रूपान्तरण ग–यो । मगर समाज सेवाको नामबाट प्रारम्भ भएको सङ्गठनको विकसित रूप आज संसारभरका मगर समुदायलाई एक ठाउम्मा केन्द्रित गर्ने विशाल छाता सङ्गठनको रूपमा “नेपाल मगर सङ्घ” उपस्थित छ । नेपाल मगर सङ्घले अहिले ६ वटा राष्ट्रियस्तरका भातृ सङ्गठनहरू निर्माण गरी व्यापक परिचालन गरको छ ।

हालसम्म नेपाल मगर संघले १२ वटा महाधिवेशनहरु सम्पन्न गरीसकेको छ । मगर जागरणको अभियान सुरु भएको ६ दशक पछि सन् २०७६ अशोज २६ र २७ गते काठमाडौमा विश्वभरका मगरहरुको जमघट भई अत्राष्ट्रिय मगर महासंघको स्थापना भयो । उक्त सम्मेलनको अवधारणा पत्रमा नेपाल, भारत, भुटान र बर्मा स्थायी बसोबास गर्ने र नेपालबाट विभिन्न पेशा–ब्यवसाय र अध्ययनमा गएका अन्य देशहरु हङकङ, युएई, बेल्जीयम, बेलायत, क्यानाडा, अमेरीका, पोर्तुगल, अष्ट्रेलीया, साइप्रस, इटली, अष्ट्रिया, नर्वे र स्विदेन, स्पेन, मकाउ, नेदरल्याण्ड, जर्मनी, फ्रान्स, डेनमार्क, कतार, साउदी अरब, कुबेत, बहराईन, इजरायल, ओमन, मलेसीया, दक्षिण कोरीया, जापान, अफगान्स्तिान र भारत गरी ३३ वटा देशमा मगर जाति संस्थागत रुपमा क्रियाशिल रहेको अभिलेख छ । नेपालको मगर जाति र सिंगो नेपाली राष्ट्रलाई मजबुट बनाउनमा यी प्रवासमा रहेका मगरहरुको भूमिका अतुलनीय रहेको छ ।
महासंघको अवधारणा, २०७६ अनुसार, मगरहरुको विश्वव्यापी उपस्थिति रहनुको प्रमुख ३ कारणहरु रहेका छन् पहिलो, नेपाली राज्य निर्माण अगाडीदेखि नै बसोबास गर्दै आएका आदिवासी मगरहरु जो अहिले नेपालको ७७ वटै जिल्लामा देशकै तेस्रो ठूलो जनसंख्या ओगटेर बसेका छन् । दोस्रो, नेपाली राज्य निर्माणको क्रममा युद्ध, बसाई सराई, व्यापार व्यवसाय, गोर्खा भर्ती, अध्ययन, आप्रवासी र विभिन्न पेशामा संलग्न रहनेक्रममा संसारका विभिन्न ठाउँमा पुगेर त्यही देशको नागरिक भइ बसेका भारत, भुटान, बर्मा, (पछिल्लो क्रममा बेल्जियम, पोर्चुगल, स्पेन, क्यानाडा, बेलायत, हङकङ लगाएताका देशहरुमा पनि स्थायी नागरिक्ता लिने क्रम चलिरहेको छ) लगाएतका देशमा बसोबास गर्ने मगरहरु र तेस्रो, विश्वव्यापीकरणको प्रक्रियासंगै श्रम, रोजगारी, शिक्षा र विभिन्न पेशा व्यवसायमा संलग्न भई अस्थायीरुपमा मध्यपूर्वका कतार, साउदी अरव, मलेसिया, इजरायल लगाएतका विभिन्न देशमा रहेका मगरहरु । यी तिनै प्रकारका मगरहरुको साझा मुद्दा भनेको हाम्रा इतिहास, भाषा, संस्कृतिको मूल जरो एउटै हो । त्यसैले विश्वभर छरिएर साझा मगर राष्ट्रियतामा बाँधिएका तर भिन्न भिन्न नागरिकता र मुद्दा रहेका मगरहरुकोवीचमा एकता, भातृत्व तथा सामाजिक साँस्कृतिक सहयोग आदानप्रदान र ऐक्यबद्धता नै अन्तराष्ट्रिय मगर महासंघको उदेश्य रहेको छ।
नेपाल मगर संघ र मगर अन्तराष्ट्रिय महासंघमा आबद्ध भएका ३३ वटा मगर संघहरुमध्ये हङकङ, युएई, क्यानाडा, मलेसीया, इजरायल र भुटान गरी ६ (१८. १८ प्रतिशत) वटा देशका अध्यक्षहरु महिला रहेका छन् । भुटान, भारत र वर्मा बाहेकका अन्य देशका मगरहरु अहिले पनि नेपाली राष्ट्रियतामै छन् र उनीहरु हर प्रकारले नेपाल र नेपालका मगरहरुको समृद्धी चाहन्छन् । नेपालको सामाजिक समानताको आन्दोलन र अभियानहरुमा यी गैरआवासीय तथा स्थायी आवासीय मगरहरुको योगदानकै कारणले नेपाल र नेपालका मगरहरुको मनोवल र ईच्छाशक्तिमा ऊर्जा प्रदान गरेको छ । विकसित मुलुकले के कस्ता योजनाहरु र उनीहरुको सभ्यता र संस्कृतिहरुले समृद्धि चुमेका छन् भन्ने उदाहरणहरु नेपालीकोबीचमा आदन प्रदानको कारणले पनि हाम्रो देशको सकारात्मक परिवर्तनहरुमा भूमिका रहेको छ । अर्को तर्फ प्रवासमा पसिना र मेहनतसंग सातेको पैसाले राज्यलाई तिरेको कर संगै स्वदेशमा केही फरक र सरल तथा छरिटो सेवा प्रदानमा आधारित ब्यावसायिक कडमहरुले पनि नेपालको अर्थतन्त्रलाई मजबुट गराउने काम गर्दै आएको छ । नेपालमा बस्ने मगरहरुको तुलनामा प्रवासमा रहेका मगरहरुलाई देश र मगर राष्ट्रियताप्रति धेरै गम्भिर र साहानुभुति भएको धेरै तथ्यहरुले प्रष्टाएको छ त्यसका केही दृष्टान्तहरु म सहभागि भएको देशहरु हङकङ र युएईलाई हेर्न सकिन्छ ।


युएईका केही रोचक विशेषता
फूल ब्यवसायी रोम ताङ्नामी मगरका अनुसार प्रत्येक दिन २५ मिलियन डिराम यातायातको माध्यमबाट संकलन हुन्छ र यातायातको हर ब्यवस्था त्यही रकम बाट हुन्छ । हाम्रो यात्रा शुरक्षित र छरिटो छ, सवारी साधनहरु शुरक्षित छन् त्यसैले हामीले सरकारलाई कर तिर्न गर्व गर्दछौ । हरेक हल्का सवारी साधनम एअर ब्याग रहेको हुन्छ जसले दुर्घटना हुदा क्षती हुनबाट बचाउछ । हरेक मोटर बाटोको देव्रे साइड छिटो र आकस्मिक यात्राको लागि र दाहिने तर्फको हेभी लोड र विस्तारै यात्रा गर्ने सवारी साधनको लागि ब्यवस्थापन गरिएको छ । फोहोरी भएको कारणले वंगलादेशका नागरिकहरुलाई कामगर्ने प्रवेशाज्ञा रोकिएको छ ।
युएईको दुवई प्रान्तमा कुनै पनि कम्पनी खोल्न सवैलाई अनुमति छ तर ५१ प्रतिशत साईलेन्ट शेयर त्यहाको सरकारको हुन्छ । मुश्लिम नामबाट कम्पनी दर्ता गर्दा दुई हजार डिराम छुट छ भने त्यो बाहेको अन्य नाम राख्न पनि छुट छ तर दुई हजार तिर्नु पर्दछ । युएई विश्वमा नयाँ नयाँ किर्तिमान वा अभिलेखिकरण गर्न तत्पर रहेको देश हो । विश्वको सवै भन्दा अग्लो बुर्जखली टावर, विश्वको सवैभन्दा ठुलो फूल बगैचा मिराकल गार्डेन, गराण्ड मज, डिर्जट सफारी, बाङ्गा भवन आदि संसारकै आकर्षक र नौला पक्षहरु रहेका छन् ।
सडक कर वा अनुमति लिने स्थानमा कर्मचारी छैनन विधुतीय माध्यमबाट कर भुक्तानी हुन्छ गाडी रोक्नु पर्दैन जसले गर्दा सडक जाम र झन्झतिलो हुदैन । संसारका नामुद अपराधी र सवैभन्दा कमजोर नागरीक पनि शुरक्षित र स्वतन्त्र भएर वस्न सकेका छन् । आवुधावी प्रहरीका अधिकृत रेशम थापामगरका अनुसार कुनै अपराध वा गल्ती गर्दा सामान्य नागरिक भन्दा सरकारी अधिकारीहरुलाई दण्ड दोब्बर भन्दा माथि भएकोले सरकारी अधिकारीबाट कानुनको उपहास गर्ने हिम्मत गर्दैनन । यो कसरी भयो भन्ने जिज्ञासामा सवैको जवाफ शुसासन भन्ने पाईयो । मलाई युएईमा कार्यरत नेपालीहरुले दिएको जानकारी अनुसार बंगालीहरुले नियम उलङ्घन गर्ने गरेकोले श्रम रोजगारको लागि प्रवेश बन्द गरिएको छ ।


मगर संघ, युएई

मगर संघ संस्थाहरुको गतिविधिले आज अरव मुलुकहरुमा पनि व्यपाकता पाएको छ । अरव मुलुकहरुका कानुनले संघ संस्थाहरु निर्माण गरेर गतिविधि गर्ने अनुमति नभएतापनि विभिन्न माध्यमबाट संघ संगठनहरु क्रियाशिल रहेका छन् जसमध्ये युएई एक हो । युएईको आधुनिकता र पर्यटक तथा आफ्ना नागरिकहरुको ब्यवस्थापन लोभलाग्दो रहेछ । युएईको आधुनिक विकासले शिखर चुमेको इतिहास छोटो छ । सन् २००४ सम्म बालुवाले मात्र भरिएको देश एक दशकमै विश्वको आकर्षण बन्न पुग्यो । सन् १९७२ मा खैमाहबाट स्वतन्त्र भई युएईमा आवुधावी, अजमान, दुवई, फुजारिह, रास अल खैमाह, सारझा र उम अल क्युवाइन गरी सात वटा इमिरेटसहरुको रुप संयुक्त अरव इमिरेटस हो । यो देश संघीय संवैधानिक राजतन्त्रतात्मक ब्यवस्था रहेको छ । इस्लाम धर्म र अरविक भाषा आधिकारीक सरकारी धर्म र भाषा हो । विश्वको सातौ ठुलो पेट्रोल संरक्षित भण्डारण र प्राकृतिक ग्यास संरक्षित विश्वको सत्रौ देश हो । हाल ९८ लाख ९० हजार अर्थात ९. ८९ मिलियन रहेको छ । कुल क्षेत्रफल ८ लाख ३६ हजार बर्ग किलोमिटर क्षेत्रफल रहेको छ । युएई मुस्लिम देश भएपनि त्यहा अन्य धर्मालम्बीहरुको पनि वसोवास रहेको छ । इमीरथी, पूर्वी एसियन, इजिप्टियन, फिलिपिनो लगायतका सदुमायहरुको बसोबास गर्ने गर्दछन् । स्थानमा कर्मचारी छैनन विधुतीय माध्यमबाट कर भुक्तानी हुन्छ गाडी रोक्नु पर्दैन जसले गर्दा जाम हुदैन भने कुनै झन्झत पनि छैन र उठेको कर पनि पारदर्सी रहन्छ । संसारका नामुद अपराधी र सवैभन्दा कमजोर नागरीक पनि शुरक्षित र स्वतन्त्र भएर वस्न सकेका छन् । आवुधावी प्रहरीका अधिकृत रेशम थापामगरका अनुसार कुनै अपराध वा गल्ती गर्दा सामान्य नागरिक भन्दा सरकारी अधिकारीहरुलाई दण्ड दोब्बर भन्दा माथि भएकोले सरकारी अधिकारीबाट कानुनको उपहास गर्ने हिम्मत गर्दैनन । २०७६ फागुन २७ गते विविसि नेपाली सेवाका अनुसार २ लाख ७५ हजार नेपाली कामदार कार्यरत छन् । जनजाति महासंघ युएईका अध्यक्ष मोहन मोक्तान तामाङका अनुसार ३० हजार मगर छन् । नेपाली समाज युएई नामको नेपाली संस्था क्रियाशिल रहेको छ जुन संस्थामा ४१ वटा विभिन्न संस्थाहरु आवद्ध छन् । नेपाली दुताबाससंग हुने विभिन्न गतिविधिहरु तथा सरकारी कामहरु यही नेपाली समाजको माध्यमबाट हुने गर्दछ । युएईको सातवटा प्रान्तहरुमध्ये दुवई प्रान्त संसारकै उदार र खुला प्रान्तमा पर्दछ । सन् २००५ मा गणबहादुर पुनमगरको अध्यक्षमा स्थापना भएको नेपाल मगर संघ शाखा, युएईले १५ बर्ष पार गरेको छ । त्यसपछि क्रमशः तेज आलेमगर (२००५), गिरमान गाहामगर (२००७), पूर्णबहादुर घर्तीमगर (२००९), नुनप्रसाद सोमैमगर (२०११), भरत रानामगर (२०१३), राजु सिंजालीमगर (२०१५), टंक थापामगर (२०१७) र शिला रानामगर (२०१९) गरी दशवटा अध्यक्षहरुको नेतृत्वमा दशवटा महाधिवेशनहरु सम्पन्न भई सकेको छ । र वर्तमान दशौ महाधिवेशनले महिला नेतृत्व पाएको छ । नेपालको हरेक राजनीतिक घटनाहरु तथा मगर संघ र आदिवासी जनजाति महासंघको विभिन्न अभियानहरुमा मगर संघ युएईको भूमिका गतिशिल रहेको पाईएको छ । २०२० फ्रेबुअरी २८ मा नेपाल मगर संघ, शाखा युएईले ३८ औ स्थापना दिवस तथा १४३ औ लखन दिवश नेपाल मगर संघ शाखा युएईका अध्यक्ष शिला रानामगरको अध्यक्षता, महासचिव नयन घर्तीमगरको सञ्चालन गरेको कार्यक्रमको झलक हेर्दा नेपाली भूमि र नेपालीपनको झझल्को दिन्थ्यो । नेपालका ज्ञात–अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण तथा नेपाली राष्ट्रिय गित र मगर राष्ट्रिय गितमा मगर कलाकारहरुले नृत्य तथा संघद्धारा नेपाली पञ्चे बाजा सहितको साँस्कृतिक टोली, स्वयमसेवक, अतिथी सत्कार जस्ता विभिन्न टोलीहरुको निर्माण गरी कार्यक्रम ब्यवस्थित रुपमा सञ्चालन गरिनु आदिवासी जनजाति महासंघ युएईमा मगर समुदायको सक्रियता रहनु र प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा नेपाल र मगर जातिको बिषयमा गहिरो अध्ययन, चिन्ता र चासोका साथ खुलेर बहस गर्नु अन्तगत्व नेपाल र नेपालीको हितमा योदान रहेको छ । मगर संघ युएई एक्लै हिडेको छैन आदिवासी जनजाति महासंघ र चालीसवटा संगठनहरु समाहित रहेको नेपाली समाज युएई र अन्य विभिन्न संघ–संस्थाहरुसंगपनि हातेमालो गर्दै आएको छ ।


मगर संघ, हङकङ

१ हजार १ सय ४ वर्ग किलोमिटरमा फैलिएको हङकङ १५६ बर्ष अंग्रेजको उपनिवेश रही सन् १९९७ जुलाई १ तारिखमा चीनलाई हस्तानतरण गरेको थियो । चीनको एक देश दुई नीति अन्तर्गत हङकङ चीनको अङ्ग भए पनि त्यहाँको आन्तरिक प्रशासनिक प्रक्रियाहरु तथा अन्तराष्ट्रिय सम्वन्ध बिशिष्ट प्रकारको छ त्यसैले हङकङलाई चीनको एक विशेष प्रशासनिक क्षेत्र भनिन्छ ।
हङकङ उच्च विकास भएको देश हो र यहाँको मूख्य स्रोत ब्यापार र पर्यटन हो । हङकङ मूलत हान जातिको मूलुक हो । हङकङमा चाइनिजहरुको बाहुल्य रहेको छ भने ९ वटा मूलुक लगायतका धेरै नागरिकहरु बस्ने गर्दछन् । हङकङमा ९२ प्रतिशत चाइनीज रहेका छन् भने नेपाली २५,४७२ अर्थात ०. ३ प्रतिशत रहेका छन् (Census: 2016 http:/en.wikipedia.org/wki/demographics-of-hong-kong) । तर नेपाली महाबाणिज्य दुत कमलप्रसाल भट्टराईले दिएको जानकारी अनुसार नेपालीको संख्या त्यो भन्दा धेरै कम छ । हङकङमा अध्यापन गर्ने डा. चुरा थापाका अनुसार हङकङमा अनुमानित ५ हजार मगर वस्ने गर्दछन् भने २५० को हाराहारीमा नेपालीहरुको संघ संस्थाहरु क्रियाशिल छन् ।
हङकङमा धेरै सार्वजनिक सेवाहरु अनलाईन (विधुतीय माध्यम) बाट लिने गरिन्छ । धेरै सार्वजनिक स्थानमा मानिस हुदैनन प्रायः प्रविधिबाट नै टिकट किन्ने र परिक्षण गर्ने गर्दछ । तर त्यस बाहेकका पनि विकल्पहरु छन जसको लागि सिमित जनशक्ति छन् किनकी सवै मानिसहरुलाई प्रविधी प्रयोग सम्बन्धि जानकारी नहुन सक्छ । तर त्यि सिमित जनशक्ति भए पनि उनीहरुले प्रदान गर्ने सेवा धेरै छरिटो र गुणस्तरीय छ । सेवा लिनको लागि प्रविधिको प्रयोग गरि घरमै बसेर सवै सार्वजनिक सेवा लिने र सम्वन्धित स्थानमा गएर लिने दुवै विकल्प छ । कुनै सरकारी निकायको उच्च ओहोदाको ब्यक्ति होस वा आर्थिक दृष्टिले सम्पन्न ब्यक्ति वा सामान्य नागरिक सवैले एउटै पद्धतिबाट सेवा लिने गर्दछन् अर्थात लाईन बसेर आफ्नो पालो पर्खछन् ।
हङकङमा मगर संघको स्थापनाको कथा पनि हङकङ स्वतन्त्रतासंगै जोडिएको छ । हङकङ चिनको विशेष प्रशासनिक क्षेत्र भएको र मगर संघको जन्म सन् १९९७ नै रहेको छ । हङकङ मगर संको अभिलेख अनुसार सन् १९९७ मा ताईमोसान डाडामा भेला भई भोलानाथ थापाको अध्यक्षताम मगर संघ हङकङको तदर्थ समिति गठन भएको थियो । १९९८ मा भोलानाथ मगर थापामगरको नेतृत्वमा प्रथम महाधिवेशन सम्पन्न गरी त्यस पछि क्रमशः दोस्रो र तेस्रो हुमबहादुर थापामगर (२००० र २००२), चौठो एकबहादुर रानामगर (२००४), पाचौ नेत्रबहादुर पहराई (२००६), छैठो एम. बी. थापामगर (२००८), सातौ र आठौ हिरामायाँ आलेमगर (चन्द्रज्योती) (२०११ र २०१४) र नवौ युगमाया रानामगर (२०१७) ले नेतृत्व लिएका छन् । गत बर्ष सन् २०१८ को अगस्टमा मगर संघ हङकङको २१ औ बार्षिक उत्शवमा सहभागि हुने अवसर मिलेको थियो । मगर संघ हङकङले आयोजना गरेको इण्डीयन क्लव, जोर्डनमा आयोजना गरेको २१औ बार्षिक उत्शवमा अध्यक्ष युगमाया रानागर सञ्चालन महासचिव निलम थापामगर लगायत सहभागि प्रायः सवै मगर भेषभुषामा थिए भने मगरका मौलिक संस्कृतिहरुको वेजोड प्रस्तुतिले मगर पहिचानको अभियान अन्तराष्ट्रियकरण भएको छ । हङकङका मगरहरु मगर संघ हङकङमा मात्र होईन आदिवासी जनजातिमहासंघ हङकङ, हङकङ नेपाली समाज, गैर आवासिय महासंघ, हङकङ लगायत संस्थाहरुमा पनि सक्रिय सहभागि रहेको छ । मगर महिला संघ, मगर साँस्कृतिक संघ, पुन मगर समाज, लाङघाली समाज लगायतका विभिन्न मगर संघ संस्थाहरुले मगर संघ हङकङलाई उर्जाशिल बनाएको छ । मगर संघ हङकङले हङकङमा मात्र नभएर नेपालको मगर जाति र उत्पीडित समुदायको आन्दोलनमा सहभागिता र ऐक्यबद्धता जनाउदै आउनुकासाथै नेपाल र हङकङमा विभिन्न क्षेत्रमा ब्यावसायीक कडम चाल्दै आएको छ ।

हङकङ र युएईको समानता

नेपाली नागरिकको आय स्रोत फरक रहेता पनि काम गर्ने प्रकृति र जिवनशैली भने समान नै छन् । हङकङ र युएई दुवै देश विश्वको ब्यापारिक केन्द्र रहेकोले विश्वका सवै नागरिकहरुको जिवनशैलीको झलक देख्न सकिन्छ । अर्को महत्वपूर्ण पक्ष हङकङ पानी परिरहने र हरीयाली भईरहने र युएई मरुभूमि देश भएतापनि सडक र अन्य सार्वजनिक स्थलहरु हरीयाली र मनमोहक छन् । यी दुवै देशका सडकहरुमा प्रहरी देखिदैनन तर शान्ति शुरक्षा भने विश्वमै मजबुट रहेको छ । सडक विस्तार र ट्राफिक ब्यवस्थापन धेरै प्रभावकारी छन् । सडकमा ट्राफिक प्रहरीहरु छैनन तर पनि त्यहा सवैले ट्राफिक नियम पालना गरेका छन् । विधुतीय संकेट, अन्य साङ्केतिक चिन्हहरु र सूचनाहरुको माध्यमबाट सहजै सडक क्रस गर्न, बस, ट्रेन चढ्न र ओर्लन नयाँ भाषा नजान्ने र स्थानहरुको जानकारी नभएका नव आगन्तुकहरुलाई कुनै अप्थेयारो छैन । जाम नहुने र स्टेशनमा चढ्ने र ओर्लने बाहेक गाडी नरोक्ने भएकोले सार्वजनिक यातायात र निजि यातायातमा यात्रा गर्दा धेरै समयको अन्तर रहदैन । सवारी साधनको दण्ड, जारीमाना, कर आदि तिर्नको लागि तार्फिक कार्यालय वा यातायात कार्यालय जानु पर्दैन र गाडी रोक्नु पनि पर्दैन स्वचालित विद्युतीय माध्यमबाट यसको जानकारी आउछ र अनलाईनबाट नै भुक्तानी गर्ने गरिन्छ यसले आफूले तिरेको कर दुरुपयोग र समय बर्वादी हुने सम्भावना छैन । अन्धा–अपाङ्ता भएका ब्यक्तिहरु, अशक्त तथा बृढ–बृढाहरुका लागि हरेक सार्वजनिक ठाउँ, सौचालय र सडकहरुमा शुरक्षित सडक र सूचनाको प्रयाप्त ब्यवस्था गरिएको छ । सडक छेउ प्रयाप्त हरियाली र ब्यवस्थित बत्तिहरुका कारण यात्रा शुरक्षित र सहज रहेको छ । जमिन, जमिनमाथि, जमिनमुनि, समुन्द्र, समुन्द्र माथि र समुन्द्र मुनि यातायात सुचारु गरेको छ । विश्वका लाखौ पर्यटकहरुको ठुलो मानव चापलाई यी दुई मुलुकले सहजै ब्यवस्थापन गरेको छ । सडक बाहेक आधुनिक भवनहरु र भब्य ब्यापारिक केन्द्रहरु तथा अन्य भौतिक संरचनाहरु समान नै छन् तर हङकङको तुलनामा युएईमा जमिनहरु प्रयाप्त खुल्ला जमिन भएकोले आधुनिक भवन निर्माण कार्र्यहरु विस्तार भईरहेको छ ।


हाम्रा धेरै नीति निर्माताहरु र राजनीतिकर्मीहरु विभिन्न विकसित देश भ्रमण गर्ने गरेको छन् । तर त्यि देशहरुबाट सिकेर वा अनुभव गरेर यो कुराको परिवर्तन गरेको खासै जानकारी पाईदैन । कुनै ब्यक्तिले आफ्नो नीजि कमाईको लागि केही अनुसरन गरेर ब्यवसाय फस्टाएको भने उदाहरणहरु छन् । त्यसको रुपमा नेपालमा सञ्चालन सञ्चालन गरिएको केवल कार, आधुनिक होटल तथा रेष्टुरेण्टहरु, सपिङ मलहरु, नीजि अस्पताल तथा स्कूल र कलेजहरु आदि । तर प्रत्यक्ष आधारभूत नागरिकलाई फाईदा पुग्ने सार्वजनिक सेवामा राज्यको ध्यान पुगेको छैन । यि देशहरु विकासको सूचक के हो ? भनि प्रश्न गर्दा सवैको उत्तर एउटै छ राज्य र नागरीकको स्रोतको सही सदुपयोग अर्थात भ्रष्टचार र नातावाद नहुनु । के त्यो असम्भव कुरा हो ? संसारका धेरै त्यी देशमा यि कुराको सदुपयोग भएको छ भने नेपाल किन अपवाद ? बहादुर र इमाण्डार भनेर संसारलाई चिनाएको हाम्रो पुर्खालाई आज भ्रष्ट र सामाजिक उत्पीडनको मुलुक भनेर संसारले अपमानित गरिरहेको छ । यो बिषयमा नेपाली राज्य, राजनीतिक दल र शासक समुदायले अहिलेसम्म गरेको अभ्यासको विकल्पको रुपमा समानताबादी सिद्धान्तबाट मात्र सम्भव छ । त्यस सिद्धान्त अन्तरर्गत स्रोत साधनबाट बञ्चित समुदायलाई स्रोत साधन उपलब्ध गराउने र कसैले पनि आफ्नो अधिकारभन्दाबढी स्रोत साधनको उपभोग गर्नु हुन्न भन्ने मान्यता राख्दछ । हामी नेपाली हिन्दू खस–आर्यको तुलनामा युएईको मुस्लिम र हङकङको मंगोल मुलका शासकहरुमा धेरै पारदर्शिता, दीर्घकालीन शोच तथा समानतामा आधारित कार्यक्रमहरु देखिन्छ । राज्यको लोक कल्याणकारी नीति तथा कार्यक्रमहरुप्रति सवै नागरिकको सहयोग रहेको पाईन्छ । राज्यको विधि र पद्धति सवैले समान रुपमा पालना गरेकोले राज्यबाट कसैले पनि विरानो महशुष गरेका छैनन । उनीहरुले देशको समृद्धीसँगै हाम्रो समृद्धी गासिएको हुन्छ भनेर बुझे तर नेपाली शासकहरुले आफ्नो समृद्धी नै देशको समृद्धी हो भने फरक यहि हो । नेपाली शासकहरुको दृष्टिकोण र मोडेलले आन्तरिक रुपमा नेपाली समाजलाई विग्रह र विभाजन तर्फ डो–याउदै छ भने अन्तराष्ट्रिय जगतमा नेपाली जगतको बदनाम गराउदै छ । वर्तमानमा भएको असमानता र विभेदको कारण बुझ्नको लागि नेपालको राजनीतिक इतिहासलाई समालोचनतत्मक ढंगले अध्ययन गर्न आवस्यक जसको लागि नेपालको पहिलो लिखित कानुन वि. सं. १९१० को मुलुकी ऐनलाई पल्टाउनु पर्ने हुन्छ । नेपालको अहिलेसम्मको कानुनको आधार मुलुकी ऐन हो जसको जगमा नेपालमा खस–आर्यहरुलाई अग्राधिकार र अन्य समुदायलाई किनारा लगाउने काम निरन्तर कायम छ । झण्डै दुई शताव्दीदेखि एकल जातीय वर्चश्व रहेको राज्य र राजनीतिलाई मगर लगायत उत्पीडित उपेक्षित समुदायहरुको निर्णायक सहभागितविना मुलुकले सकारात्मक दिशामा गति लिने कल्पना गर्नु भ्रम मात्र हो । नेपाली राज्य निर्माणको पक्रियामा विभिन्न मोडमा योगदान र वलिदान दिदै आएको मगर जातिले देश तथा विदेश सवै ठाउँबाट राज्य र राजनीतिमा हस्तक्षेपकारी भूमिका खोज्नु र खेल्नु आजको आवश्यकता हो ।
(लेखक, विद्यावारिधि शोधार्थी एवं नेपाल मगर संघका केन्द्रीय सल्लाहकार हुनुहुन्छ ।)