तनहुँका पत्रकार रानालाई कौरा पत्रकारिता पुरस्कार

पोखरा, १५ असार
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित तथा नेपाल मगर पत्रकार संघ, कास्कीद्वारा सञ्चालित “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७” तनहुँका पत्रकार प्रताप रानामगरलाई प्रदान गरिने भएको छ ।
नेपाल मगर पत्रकार संघ, कास्की शाखाको सोमबार सम्पन्न बैठकले पत्रकार रानामगरलाई सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको अध्यक्ष रूद्रबहादुर हितानमगरले जानकारी दिनुभयो । यसअघि, संघका केन्द्रीय का.वा. अध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा गठित पुरस्कार प्रतिभा छनौट समितिले पत्रकार रानामगरलाई पुरस्कार प्रदान गर्न सिफारिस गरेको थियो ।
छनौट समितिमा राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगर, उपाध्यक्ष तारामाया थापामगर, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्र श्रीसमगर, नेपाल मगर पत्रकार संघ, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगर र सदस्य मीना थापामगर रहनुभएको थियो । आगामी साउन १ गते प्रदान गरिने सो पुरस्कारको राशि १० हजार रुपैयाँ नगद र ताम्रपत्र रहेको छ ।
पुरस्कृत हुन लागेका पत्रकार रानामगर कान्तिपुर टेलिभिजनमा आबद्ध रहनुभएको छ । साथै, रानामगर नेपाल मगर पत्रकार संघको गण्डकी प्रदेश संयोजक, नेपाल पत्रकार महासंघ, तनहुँ शाखाको कोषाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँ शाखाको अध्यक्ष रहनुभएको छ । यो पुरस्कारबाट यसअघि, नवलपरासीकी पत्रकार कमला रानामगर र कास्कीका पत्रकार तिलकप्रसाद पुनमगर पुरस्कृत भइसक्नुभएको छ ।

Advertisment