आदिवासी जनजाति प्रतिष्ठानको उपाध्यक्षमा घर्तीमगर नियुक्त

काठमाडौं, १२ असार
सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्तीमगरलाई नियुक्त गरेको छ । प्रतिष्ठानका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस समितिको सिफारिसमा घर्तीमगरलाई नियुक्त गर्नुभएको हो ।
प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । रोल्पाका घर्तीमगर अनेरास्ववियुका पूर्वमहासचिव हुनुहुन्छ । उनी दोस्रो संविधानसभामा समानुपातिक सभासद् हुनुहुन्थ्यो । त्यसैगरी, तत्कालीन नेकपा एमाले संसदीय दलको सचेतक तथा पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो ।
हाल नेकपा केन्द्रीय सदस्य तथा आदिवासी जनजाति महासंघ, नेपालका इञ्चार्ज हुन् । उहाँ प्रधानमन्त्री ओली निकट मानिनुहुन्छ । घर्तीमगर चार वर्षे कार्यकालका निम्ति नियुक्त हुनुभएको हो ।

Advertisment