तमु सञ्चारकर्मीलाई मिलन फाउण्डेशनको प्रेस ज्याकेट र नगद सहयोग

पोखरा, ७ असार
मिलन फाउण्डेशन नेपालले तमु सञ्चारकर्मीहरूलाई प्रेस ज्याकेट र नगद सहयोग गरेको छ । कोरोना महामारीको बेलामा कार्यक्षेत्रमा खटिएर रिपोर्टिङ गर्ने तमु पत्रकारहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले २२ हजार ५ सय बराबरको ३१ थान प्रेस ज्याकेट प्रदान गरिएको फाउण्डेशनले जनाएको छ ।
तमु सञ्चारकर्मीहरूलाई प्रेस ज्याकेट प्रदान गर्दै फाउण्डेशनकी कार्यवाहक अध्यक्ष देवी गुरुङले स्थापनाकालदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा सक्रिय रहेको फाउन्डेशनले तमू पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराउन पाउँदा ज्यादै खुशी लागेको भन्दै आउने दिनमा फाउण्डेशनको हरेक कार्यक्रमहरूमा तमू सञ्चारकर्मीहरुसँग सहकार्य गर्दै जाने बताउनुभयो । ज्याकेट ग्रहण गर्दै तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालकी महासचिव रोशनी गुरुङले मिलन फाउण्डेशनले सामाजिक क्षेत्रमा गर्दै आएको काम अत्यन्तै सराहनीय रहेको भन्दै फाउण्डेशनप्रति आभार व्यक्त गर्नुभयो ।
फाउण्डेशनका संस्थापक एवं संरक्षक हाल हङकङ निवासी समाजसेवी दुर्गा गुरुङ (मिलन) ले विशुद्ध आफ्नो पसिनाको कमाइबाट कसैसँग एक रुपैंयाँ पनि सहयोग नलिइ गर्दै आएको सामाजिक कार्य आफैंमा प्रशंसनीय रहेको उहाँले बताउनुभयो । ज्याकेट ग्रहण कार्यक्रममा संघकी महासचिव गुरुङसहित केन्द्रीय सदस्यहरू मणिलाल गुरुङ, खिमा गुरुङ र किरण गुरुङको सहभागिता रहेको थियो । फाउण्डेशनका कार्यवाहक अध्यक्ष देवी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम फाउण्डेशनकी संरक्षक तथा दुर्गा गुरुङ “मिलन”की आमा सावित्री गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
फाउण्डेशनका कार्यक्रम संयोजक हितकाजी गुरुङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम सचिव मदन गुरुङले सञ्चालन गर्नुभएको थियो । तमु सञ्चारकर्मी केन्द्रीय समितिलाई प्राप्त भएको ३१ थान ज्याकेटमध्ये समितिले कास्की जिल्ला समितिलाई १५ थान प्रदान गरेको छ । तमु सञ्चारकर्मी संघ कास्कीका सचिव सुरज गुरुङलाई सो ज्याकेट प्रदान गरिएको हो ।
यसैबीच, तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालले स्थापना गरेको आपतकालीन राहत कोषमा समाजसेवी दुर्गा गुरुङ “मिलन”ले मिलन फाउण्डेशनमार्फत् नगद १० हजार रुपैंयाँ प्रदान गर्नुभएको छ भने सोही कोषमा फाउण्डेशनकी कार्यबाहक अध्यक्ष देवी गुरुङले ५ हजार र फाउण्डेशनका कार्यक्रम संयोजक हितकाजी गुरुङले पनि ५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

Advertisment