इभोलुसन डान्स क्रु, बेलायतद्वारा दृष्टिविहीन र सुत्केरीलाई राहत वितरण

पोखरा, २४ जेठ
इभोलुसन डान्स क्रु, बेलायतले पोखरा महानगरपालिका वडा नं. १, बगरमा बस्ने दृष्टिविहीन, गर्भवती र सुत्केरी तथा अति विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
निश्चल गुरुङ नेतृत्वको सो नृत्य समूहले विभिन्न च्यारिटी कार्यक्रममार्फत् नृत्य प्रस्तुत गरी संकलन गरेको रकम नेपालमा सामाजिक कार्यमा खर्च गर्दै आएको छ । सोही अन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका दृष्टिविहीन, अति विपन्न तथा गर्भवती र सुत्केरी गरी ४० जनालाई राहत वितरण गरिएको डान्स क््रयूका संयोजक निश्चल गुरुङका मामा लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।


राहत अन्तर्गत साढे १२ किलो चामल, दाल, तेल, मसला, नुन र चाउचाउ वितरण गरिएको हो । सो अवसरमा निश्चलका हजुरबुबा समाजसेवी चम्फासिंह गुरुङ, हजुरआमा कन्याकुमारी गुरुङ, मामा लक्ष्मण गुरुङ, माइजू चन्दा गुरुङ, दीप आमा समूहकी अध्यक्ष विष्णु गुरुङ, समाजसेवी कल्पना बाँस्तोलालगायतले राहत वितरण गर्नुभएको थियो ।
बेलायतमा बस्दै आएका आफ्नो नाति निश्चल गुरुङले सानै उमेरमा सामाजिक कार्यमा लागिपरेकोमा आफूलाई खुशी लागेको उनका हजुरबुबा चम्फासिंह गुरुङले बताउनुभयो । निश्चलले कोरोना भाइरस संक्रमणका कारण विश्व नै रोइरहेका बेलामा नेपालमा समस्यामा परेका दाजुभाइ तथा दिदीबहिनीलाई थोरै भएपनि सहयोग गर्न पाउँदा आत्म सन्तुष्टि मिलेको उल्लेख गरे । आफूले यसअघि, इन्द्रेणी कार्यक्रममार्फत् एक जना बिरामीलाई शल्यक्रियाका लागि १ लाख रुपैयाँ सहयोग गरेको र बगरको विन्दुवासिनी संस्कृत विद्यापीठमा विद्युतीय पुस्तकालयको स्थापना समेत गरिदिएको बताए । आगामी दिनमा पनि समस्यामा परेका दीनदुःखीका लागि निरन्तर सहयोग गरिरहने उनले बताए ।

Advertisment