रहेनन् वंशावली अध्येता श्रीस

भैरहवा, २१ जेठ
वंशावली अध्येता एवं बौद्ध दर्शनका अभियन्ता तीर्थबहादुर श्रीसको ८६ वर्षको उमेरमा निधन भएको छ ।
मृगौलामा समस्या देखिएका श्रीसको बुधबार बिहान चितवनको भरतपुुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । यसअघि, उहाँको भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार भएको थियो । रुपन्देहीको सिद्धार्थनगर नगरापलिका वडा नं. ८, शालिग्रामपथ, भैरहवानिवासी स्व. श्रीसको बिहीबार बिहान शवयात्रासहित मगर बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
स्व. श्रीस राष्ट्रिय जनमुक्ति पार्टीका सक्रिय सदस्य समेत हुनुहुन्थ्यो भने नेपाल मगर संघ, सिद्धार्थनगर नगर समिति, भैरहवाका कोषाध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँ बौद्ध धर्मको थेरवादी सम्प्रदायका धर्मगुरु (वापा) समेत हुनुहुन्थ्यो । स्व. श्रीसले गण्डकी प्रस्रवण क्षेत्रका मगर जातिको विभिन्न थरका वंशावलीबारे गहिरो अध्ययन गर्नुभएको छ । स्व. श्रीसले मगर जातिसँगै केही बाहुन, क्षत्री र अन्य आदिवासी जनजाति समुदायको समेत थरघर वंशका बारेमा अध्ययन गर्नुभएको छ ।
बेलायती सेनाका अवकाशप्राप्त गोर्खा सैनिक स्व. श्रीसले तयार गरेका केही वंशावली विभिन्न संस्था र व्यक्तिको सहयोगमा प्रकाशित समेत भएका छन् । अझै पनि अप्रकाशित उहाँका थुप्रै कृति रहेको र ती कृति प्रकाशनका लागि पहल गरिने उहाँका आफन्तजनले बताएका छन् । स्व. श्रीसको पार्थिव शरीरमा राष्ट्रिय जनमुक्ति पार्टी र नेपाल मगर संघको झण्डा ओढाएर सम्मान प्रकट गरिएको थियो । स्व. श्रीसको पार्थिव शरीरमा उहाँका छोरा रमेश श्रीसले दागबत्ती दिनुभएको हो ।

Advertisment