बाजुङ स्वास्थ्य चौकीलाई समाजसेवी गुरुङ दम्पतिद्वारा स्वास्थ्य सामग्री सहयोग

पातीचौर (पर्वत), २९ वैशाख
विश्व नै कोरोना भाइरस (कोभिड–१९)को महामारीमा रहेका बेला पर्वतको मोदी गाउँपालिका–५ स्थित बाजुङ स्वास्थ्य चौकीलाई हङकङनिवासी एक दम्पतिले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
बाजुङ, फलाल्नेका समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ र उहाँकी श्रीमती गंगा गुरुङले बाजुङ स्वास्थ्य चौकीका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो । मिलन फाउण्डेशन नेपालको स्थापना गरी शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा विभिन्न खालका सहयोग गर्दै आएका गुरुङ दम्पतिले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), सर्जिकल मास्क र पञ्जा सहयोग गरेका हुन् । समाजसेवी गुरुङ फाउण्डेशनको संरक्षक र उहाँकी श्रीमती अध्यक्ष हुनुहुन्छ । मिलन फाउण्डेशन नेपालमार्फत् ती स्वास्थ्य सामग्री आइतबार बाजुङ स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको पर्वत मञ्च, हङकङका अध्यक्ष समेत रहनुभएका समाजसेवी गुरुङले जानकारी दिनुभयो ।


फाउण्डेशनका कार्यवाहक अध्यक्ष देवी गुरुङ, सचिव मदन गुरुङ र सदस्य भूपेन्द्र कुँवरले मोदी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष दलबहादुर मल्ल र बाजुङ स्वास्थ्य चौकीका प्रमुख गोकुल अधिकारीलाई संयुक्त रुपमा ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । जस अन्तर्गत सो स्वास्थ्य चौकीलाई पाँच थान पीपीई, एक हजार थान सर्जिकल मास्क र एक हजार थान पञ्जा सहयोग हस्तान्तरण गरिएको थियो । सो अवसरमा फाउण्डेशनले प्रकाशन गरेको नयाँ वर्ष २०७७ को एक हजार दुई सय प्रति भित्तेपात्रो समेत हस्तान्तरण गरिएको फाउण्डेशनका सचिव मदन गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष मल्लले कोरोना कहरको बेला मिलन फाउण्डेशन नेपालका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ दम्पतीले विदेशमा रहेर पनि आफ्नो देश अनि जन्मथलोलाई माया गरि कोरोनाविरुद्ध जुध्न र यसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), मोदी गाउँपालिका वडा नं. ५, वडा कमिटीका अध्यक्ष राजेश शाही, नेपाली कांग्रेसका वडा सभापति मनबहादुर अधिकारी, बाजुङ स्वास्थ्य चौकीका प्रमुख गोकुल अधिकारी, बाजुङ–पोखरा सम्पर्क समिति, कास्कीका अध्यक्ष जयबहादुर (जयलाल) सुवेदी, नेपाल विद्युत प्राधिकरणका प्राविधिक जीवन मल्ललगायतले समाजसेवी गुरुङको सहयोगको सराहना गरेका थिए ।

Advertisment