डा. पुनका विषयमा अनर्गल प्रचार भयो ः स्वास्थ्य मन्त्रालय

पोखरा, ६ वैशाख
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका विषयमा केही सञ्चारमाध्यममा अनर्गल प्रचार भएको जनाएको छ ।
डा. पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्पष्टीकरण सोधेको भन्दै केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमा सरकारप्रति तीव्र आक्रोश पोखिएका छन् । मन्त्रालयले भने मन्त्री ढकालसमेतको नाम मुछेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा दुष्प्रचार भएको बताएको छ ।
मन्त्रालयको आधिकारिक फेसबुक पेजमार्फत् मन्त्रालयले डा. पुनलाई मन्त्रालयमा बोलाइएको विषयमा भएका दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)का सन्दर्भमा स्वास्थ्यकर्मीलाई जुनसुकै स्थानमा आवश्यकता अनुसार खटाउने कार्य भइरहेको पनि जनाएको छ ।
साथै, कोभिड–१९ का सन्दर्भमा खटिएका स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता र २५ लाख रुपैयाँको बीमा समेत गरिएको मन्त्रालयले फेसबुक पेजमा उल्लेख गरेको छ । सत्य, तथ्य नबुझी अनर्गल प्रचारप्रसार नगर्न र नगराउन समेत मन्त्रालयले आग्रह गरेको छ ।

Advertisment