गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

पोखरा, ३० चैत्र
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ वर्ष २०७७ सालको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीसहित गण्डकी प्रदेशबासीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
आइतबार साँझ एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले सम्पूर्ण नेपाली एवं गण्डकी प्रदेशबासीलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिनुभएको हो । नयाँ वर्ष सुरु भइरहँदा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउनको घोषणा गरेको र नयाँ वर्षले कोरोना भाइरसको महामारीलाई रोक्न र यसमाथि विजय प्राप्त गर्न सफलता मिल्ने विश्वास समेत प्रदेश प्रमुख शेरचनले व्यक्त गर्नुभएको छ ।
कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर खटिइरहनुभएका सम्पूर्ण स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीहरूलाई धन्यवाद व्यक्त गर्दै उहाँले आम नागरिकलाई नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ घरमै बसेर कोरोना भाइरसको संक्रमणबाट बच्न अपिल गर्नुभएको छ । साथै, प्रदेश प्रमुख शेरचनले राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा गर्न नयाँ वर्षले सबैमा दृढ बन्न प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गर्दै नयाँ वर्षमा समृद्धि र दिगो शान्तिको यात्रामा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
जारी लकडाउनका कारण कोही पनि नागरिक समस्यामा नपरोस् भन्नेतर्फ ध्यान दिन सरकारलाई सुझाव दिँदै उहाँले कोरोना संक्रमणको जोखिमबाट बच्न लकडाउनको पूर्ण पालना गर्न र गराउन समेत आग्रह गर्नुभएको छ । लकडाउनको कडाइका साथ कार्यान्वयन गर्दै स्वास्थ्य परीक्षणलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याउँदै प्रदेश प्रमुख शेरचनले उपचाररत कोरोना संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

Advertisment