तीन जिल्लामा कोरोनाको तीव्र परीक्षणका लागि टोली खटाइयो

काठमाडौं, २४ चैत्र
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली, कञ्चनपुर र बाग्लुङ जिल्लामा कोरोनाको तीव्र परीक्षणका लागि टोली खटाएको जनाएको छ ।
आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीन जिल्लामा कोरोना संक्रमित भेटिएपछि तीव्र परीक्षण गर्न टोली खटाइएको बताउनुभएको हो । आइतबार बसेको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ टोलीको बैठकले आइतबार नै तीन वटा जिल्लामा खटाउने टोली बनाइ पठाएको उहाँले बताउनुभयो । यसरी गरिएको ¥यापिड टेस्टबाट कोभिड–१९ पोजेटिभ देखिएमा पिसिआर प्रविधिबाट पनि पुनः परीक्षण गरिने प्रवक्ता डा. देवकोटाले जानकारी बताउनुभयो । विदशबाट आएका संक्रमितको परिवारमा समेत कोरोना भाइरस देखिएपछि नियन्त्रणका लागि तीव्र रुपमा परीक्षण अगाडि बढाउन ¥यापिड डाइग्नोस्टिक टेष्ट किटको प्रयोग गरिने उहाँले बताउनुभयो । उहाँले चिकित्सक र सेवाप्रवाहहरूमा खटिने व्यक्तिको सुरक्षाको सम्पूर्ण व्यवस्था सरकारले गरेको जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार अहिलेसम्म टेकु प्रयोगशालामा १५ सय २९ नमूना परीक्षण गरिएको छ भने उपत्यका बाहिर सात स्थानमा परीक्षणको व्यवस्था गरिएको छ । मुलुकभर ११३ जना आइसोलेशनमा रहेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो ।

Advertisment