श्रमिकलाई काममा नलगाऊ ः अखिल नेपाल ट्रेड युनियन महासंघ

पोखरा, १० चैत्र
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अखिल नेपाल ट्रेड युनियन महासंघले नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर बढिरहेका बेला उच्च जोखिममा काम गर्ने श्रमिकलाई काममा नलगाउन उद्योगी, व्यवसायीलाई आग्रह गरेको छ ।
नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा उद्योग वाणिज्य संघले आग्रह गर्दा समेत अटेर गरी उद्योग, कलकारखाना र व्यापार, व्यवसाय बन्द नगरी श्रमिकलाई उच्च जोखिममा काम गर्न लगाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ, गण्डकी प्रदेशका अध्यक्ष भोजराज खत्री र कास्की जिल्ला अध्यक्ष नवीन अधिकारीले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै जोखिमको कुनै पर्वाह नगरी एउटै प्रतिष्ठानमा सयौंको संख्यामा श्रमिकहरूलाई काम गराइरहेकोप्रति ध्यानाकर्षण भएको जनाउनुभएको हो । “नोवेल कोरोना भाइरस (कोभिड–१९)ले विश्व नै आक्रान्त भएको बेलामा नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा उद्योग वाणिज्य संघले अत्यावश्यकबाहेक उद्योग, कलकारखाना, व्यापार व्यवसाय बन्द गर्न आग्रह गर्दा अटेर गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ, “यस संकटको घडीमा श्रमिकहरूको पारिश्रमिकसहित सम्पूर्ण उद्योग, व्यवसाय बन्द गरी जोखिम न्यूनीकरण गर्न अनुरोध गर्दछौं ।”
साथै, विज्ञप्तिमार्फत् उच्च जोखिमसहित बन्दसरह काम गराउने अवस्था कायम रहेमा सम्पूर्ण श्रमिकहरू न्याय प्राप्तिका लागि सडकमा उत्रिन बाध्य हुने भन्दै सम्भावित घटनाको जिम्मेवार समेत उद्योगी, व्यवसायीहरू हुने चेतावनी दिइएको छ ।

Advertisment