उद्यमशील बन्दै पुष्पा र मिनु

पोखरा, ७ चैत्र
पोखरा–३०, ढुंगेपाटनकी पुष्पा पुनलाई सामाजिक कार्यमा क्रियाशील भएर मात्र पुगेको थिएन । व्यवसाय क्षेत्रमा पनि केही गरौं भन्ने हुटहुटीले छोएको थियो ।
नेपाल मगर संघ, कास्की अनि नेपाल मगर महिला संघ, कास्कीको जिल्ला सदस्य भएर होस् या एजु आमा समूहको सचिव भएर होस्, सामाजिक कार्यमा भने क्रियाशील नै हुनुहुन्थ्यो, पुष्पा पुन । पुष्पालाई राजनीतिमा समेत उत्तिकै चासो थियो । तर, उहाँलाई यतिले मात्र पुगेन । आर्थिक उत्पादनमा जोडिन रहर गर्दै गर्दा के गर्ने, कसो गर्ने भन्ने अन्यौलता पनि छँदै थियो । कैयन् पटक विभिन्न सीपमूलक तालिममा सहभागी बन्दै आएकी पुष्पाले नजिकका आफन्त र शुभेच्छुकसँग के गर्ने भन्ने बारे पनि सल्लाह गर्नुभयो ।
ठिक यही मेसोमा उहाँको आफ्नो नजिकको साथी मिनु पुनसँग सल्लाह मिल्यो । अनि आफ्नैले हातले मःमः बनाएर बेच्ने योजना बन्यो । त्यो योजनामा मात्र सीमित रहेन । आफूले बोलेको र सोंचेको कुरा गरेरै छाड्ने बानी भएकी पुष्पाले साथी मिनुसँग मिलेर ढुंगेपाटनमा “दिदीबहिनी मःमः सप्लायर्स” सुरु गर्नुभएको छ । वर्षौंदेखिको उद्यमी बन्ने सपना पूरा गर्ने ध्याउन्नमा दुवै जना लाग्नुभएको छ ।


पुष्पा र मिनु दुवै जनाका श्रीमान लाहुरे हुनुहुन्छ । “सधैं श्रीमानको कमाइमा आनन्द मानेर बस्नु मात्र नारीको सन्तुष्टि होइन”, पुष्पा भन्नुहुन्छ, “उद्यमशील बनेर अरुका लागि उदाहरण पनि बन्न सकिन्छ ।” हरेक महिलाले हरेक क्षेत्रको ज्ञान लिन आवश्यक भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “आफूसँग भएको सीपलाई अर्थोपार्जनसँग जोड्नुपर्छ भन्ने लाग्यो र सानै भएपनि व्यवसाय सुरु गरियो ।” “यो व्यवसायबाट कति नाफा कमाउँछु भन्ने कुराको मलाई मतलब छैन”, पुष्पा भन्नुहुन्छ, “तर, काम गर्दै गरेका महिलाहरूलाई समयमा तलब दिन सकियोस्, यही मेरो सन्तुष्टि हुनेछ ।”
थोरै लगानीबाट सुरु गरेर पनि धेरै गर्न सकिन्छ भन्ने उदाहरण बन्ने प्रयासमा लागेको अर्की सञ्चालक मिनुको भनाइ छ । आर्थिक रुपमा आत्मनिर्भर बन्न पनि आफूहरूले सुरु गरेको व्यवसायले टेवा दिने विश्वास लिएको उहाँहरू बताउनुहुन्छ । “आफू पनि व्यवसायमा जोडिने अनि अरुलाई रोजगारी दिन पनि सकिने भएर यो व्यवसाय रोजेका हौं”, मिनु बताउनुहुन्छ ।
मःमः अहिलेको निकै लोकप्रिय खाजाका रुपमा रहेको छ । ग्राहकको अभिरुचिलाई ध्यानमा राख्दै अघि बढाउने सोंच रहेको सञ्चालक पुष्पा बताउनुहुन्छ । समयक्रमसँगै व्यवस्थित रुपमा बजारीकरण गर्दै जाने उहाँको भनाइ छ । अहिलेसम्म ग्राहकहरूबाट पाएको सकारात्मक प्रतिक्रियाले पुष्पा र मिनु उत्साहित बन्नुभएको छ । दिदीबहिनी मःमः सप्लायर्समा सुरुमा सञ्चालक दुवै जनाले आफैं मःमः बनाएर सुरु गरेकामा अहिले भने दुई जनाले रोजगारी पनि पाएका छन् ।

Advertisment