मेरो प्यारो मावली गाउँ ः ठोट्नेरी

1304

                                                                                                                     –पुष्पा पुनमगर
दुई वर्षको उमेरदेखि नै खेल्दै, कुद्दै गरेको ठाउँ । बाल्यावस्थादेखि लड्दै, हाँस्दै र नाच्दै यौवनावस्थासम्म बिताएको त्यही प्यारो गाउँ । जहाँ मैले यौवनावस्था व्यतीत पनि गरेँ । हो, त्यही ठोट्नेरी गाउँको सम्झना आजसम्म पनि मेरो मानसपटलमा जीवितै छ । त्यहाँका पाखा पखेरा, कलकल गर्दै बग्ने त्यो ठाडो खोला । छङछङ गर्दै खस्ने त्यो निर्मल झरना बेलाबखतमा सम्झनामा आइरहन्छन् । चिरचिर गर्दै चिरबिराउने ती रानीवनका चराहरू । सप्तरंगी फूलहरूले मगमगाउँदै गरेका ती गाउँका गोरेटा । अनि, अनेकन सुस्केरामा जीवन व्यतीत गरिरहेका ती स्थानीयबासी ।


विश्वका दुई महाशक्ति राष्ट्र चीन र भारतको बीच भागमा अवस्थित नेपाल । नेपालका सात प्रदेशमध्ये एक, गण्डकी प्रदेश अन्तर्गतको पर्वत जिल्ला । पर्वतको जलजला गाउँपालिका–६, शालिजामा पर्ने ठोट्नेरी गाउँ धरातलीय हिसाबले समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको रैनिदो दहको काखमा एउटा सानो तर, निकै महत्वपूर्ण गाउँका रुपमा रहेको छ, ठोट्नेरी गाउँ । दन्ते लहरजस्तै लहरिएका हम्पाल डाँडाको निगरानीमा बसेको ठोट्नेरी गाउँ, आफैंमा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । त्यसमाथि चैत, वैशाखमा फुल्ने लालीगुराँसले त झनै मनमोहक बनाउँछ । त्यसैले त, पारी गाउँका शालिजाबासीले खेतबारीका कुटो कोदालोपछिको थकान मेटाउने एउटा माध्यम पनि बनेको छ ।
अनायासै एक्लिएका बालबालिकाका लागि आश्रयको थलो बनेको छ, मेरो प्यारो मामाघर । संघर्ष र इमान्दारिताको बासनाले सिंगारिएको छ, मेरो प्यारो मामाघर । अवर्णनीय प्राकृतिक र मानवीय प्रगाढ सम्बन्धले मजबुत बनेको छ, मेरो प्यारो मामाघर । निदरीको स्वप्नमा पनि झलझली आउँछ, मेरो प्यारो मामाघर । विकासोन्मुख नेपालमा विकासतर्फ उन्मुख हुँदै गरेको मेरो प्यारो मावली गाउँ ठोट्नेरीलाई धरातलीय बनावटले आर्थिक तथा भौतिक विकासमा निकै बाधा पारेको छ ।
शरद तथा शिशिर ऋतुको मौसम । बिहानीको सूर्यले कोसेलीस्वरुप बोकेर आउने भिटामिन “डी”सँगैको मधुर लाल रश्मी । अनि उसैमाथि पर्खाइको त्यो बाध्यता । ठोट्नेरी गाउँ भौगोलिक दृष्टिकोणले सानो भएपनि सौन्दर्यताले भने धनी छ । ठोट्नेरीबासीको मन अनि मस्तिष्कमा आफूमा भएको कमीकमजोरीलाई नियालेर मायुसी हुने होइन । त्यसलाई कसरी तागतमा परिणत गर्ने भन्ने कुराको ज्ञान कुँदिएर भरिएको छ । भनिन्छ, मान्छेको मन सानो वा ठूलो आकारले होइन । कर्मले ठूलो वा सानो हुने हो भन्ने कुरालाई चरितार्थ गरेको छ, ठोट्नेरीले । अझ त्यहाँको स्थानीयबासीको एकताको तागतले र उदाहरणीय कामले ठोट्नेरीको अलग परिचय दिएको छ ।
नेपालमा विद्युत उत्पादनको सुरुवात राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालाबाट भयो । वि.सं. २०५० तिरको कुरा गर्ने हो भने अधिकांश जनता विद्युत के हो ? भन्नेमा अनभिज्ञ नै थिए । देशका अधिकांश जनता मट्टीतेलबाट झूत्रा कपडाको सहायतामा टुकी बाल्नुपर्ने बाध्यतामा थिए । टुकीका भरमा रात्रीकालीन गतिविधि गर्नुपर्ने अवस्थामा मात्र ५७ घर धुरीको समन्वयमा बगेर खेर गइरहेको स्थानीय जलस्रोतबाट लघु जलविद्युत आयोजना निर्माण गरियो । यो साँच्चिकै आफैंमा चुनौतीको घेराभित्रको आयोजना थियो । यो कुनै दातृनिकायको सहयोगमा नभएर स्थानीयबासीको योगदानमा आधारित आयोजना थियो । स्थानीय जनश्रमदान, स्थानीयबासीको पसिनाबाट अँध्यारो रातलाई उज्यालो बनाउने काममा सफलता मिल्यो । त्यति मात्र नभएर छिमेकी जिल्लामा समेत उजेली गाउँ ठोट्नेरी भनेर नामाङ्कित नै हुन पुग्यो । जसले गर्दा स्थानीयस्तरमा आर्थिक गतिविधि गर्न पनि सहज भयो ।

ठोट्नेरी गाउँमा मौलिक संस्कृतिप्रतिको मोह पनि उत्तिकै छ । वि.सं. २०५४ मा राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती उत्सवमा १४ अञ्चलको आ–आफ्नो मौलिक संस्कृति बोकी काठमाडौं जाने सन्दर्भमा हाम्रो धौलागिरि अञ्चलको स्वामित्वमा पर्वत जिल्लाबाट हाम्रो जनजागृति सांस्कृतिक युवा क्लब चयन भएको थियो । सो अवसरमा १५ दिने कार्यक्रम बोकी काठमाडौं गएको सम्झना यो मानस पटलमा ताजै बसेको छ ।


बडा दशैं र तिहारमा बनाइएको लठ्ठे पिङ । शरद ऋतुका जुनेली चिसो सिरेटोमा पालो कुर्दै अग्रज व्यक्तित्वहरूले केटाकेटीको जाडो त बाख्राले खाइदिन्छ भन्दै गर्ने बेवास्ता । पुस, माघमा साथीसंगीसँग पठनपाठनसँगै पर्म लगाएर खेतबारीको कालो मलको भारी बोक्दै गर्दाको त्यो समय । कृषि उत्पादनमा कुटो कोदालो गर्दै, लहरा र पहरासँग लडीबुडी खेल्दै घाँस काट्दै, झरनाको चिसो पानीमा नुहाउँदै रमाउँदाको त्यो बेला । तर, आज त्यतिले मात्र नपुगेर पश्चिमी सभ्यताले छोएको परिवर्तित समयसँगै भएको प्रतिस्पर्धात्मक सामाजिक प्रणालीले फरक बनाएको छ । फरक परिवेशसँग जुझ्दै सहज जीवन पाउने अभिलाषाका पोका र बच्चा बोक्दै शैक्षिक, भौतिक, आर्थिक, राजनैतिक तथा मानवीय सुख सयलको खोजी गर्दैै आफ्नो परिवेश छाडी हिँड्ने चलन चलिरहेको छ । आफ्नो क्षमता अनुसार स्थायी तथा अस्थायी रुपमा बाह्य तथा आन्तरिक बसाइँसराइँको देशभरि व्यापक रुपमा होडबाजी । यस्तो अवस्थामा उक्त गाउँमा हाल जम्मा ४४ घरधुरी रहेको र त्यसमा पनि बुढापाकाको मात्र बसाइँले त्यहाँको जनसंख्या बिस्तारै रित्तिँदै जान थालेको छ ।


दौंतरीसँग खेल्दै गरेको घरआँगनमा हरियो लेउ र सिस्नो उम्रिएको छ । कतै घरको छानो कोल्टो परेको छ । कतै पानी चुहिने भएको छ । कतै तगारो भाँचिएको दृश्य । योसँगै त्यहाँका केटाकेटी, चराचुरुङ्गी जसरी चिरबिराउने गाउँका गुञ्जन कहीँकतै हराएको भान भएको छ । आजै जस्तो लाग्छ, पहरा र लहरामा लहरिँदै घाँस काटेका ती दिन । आजैजस्तो लाग्छ, लहलह लरबराएका धानका बालाबीच खोजेको हरिया केराउ । अनि, बडा दशैंको आगमनमा पानी परेपछिको आकाश खुलेझैं रमाएका दिनहरू । तर, मैले पहिले नै भनिसकेकी छु कि ठोट्नेरीबासीसँग कमीमा मायुसी होइन बल्की कमीमा तागत खोज्ने खूबी कुँदिएर भरिएको छ । अन्नबाली लगाउने हत्केलाको कमी भएतापनि त्यहाँको फलफूलका लागि उपयुक्त माटो रहेकोले सुन्तला, केरा, कागती, किवि, ओखर, नासपाती, रुख टमाटरजस्ता फलफूलहरूले जमिन बाँझो भने राखेका छैनन् ।


नेपाली जनताको सरोकार वैदेशिक रोजगार सत्यमा आधारित भएको छ । अधिकांश युवा वैदेशिक रोजगारमा होमिएता पनि आफ्नो परिवेश नभुलेको सन्दर्भमा छ । अनेकन आयोजना तथा गतिविधिमा उनीहरूको बौद्धिक, नैतिक, आर्थिक, भौतिक रुपमा अतुलनीय योगदान रहँदै आएको छ । ठोट्नेरी सानो छ, तर, विशाल छ । कुनै पनि संस्थाको शक्ति भन्नु नै व्यक्ति–व्यक्तिबीचको प्रगाढ सम्बन्धलाई जनाउँछ, चाहे त्यो पारिवारिक संस्था होस् या जातीय होस् या राजनीति । ठोट्नेरीमा भौतिक विकास भएतापनि अझै अविकसित छ । हाम्रो पठनपाठनको बेलामा विकासका पूर्वाधारहरू गाँस, बाँस, कपास हुन् भनेर पढेतापनि आवश्यकताहरू समयसापेक्ष, सामाजिक, प्रकृति, विचारसँगै परिवर्तन हुँदै जान्छ । वर्तमान परिप्रेक्षमा हेर्दा वास्तवमा भौतिक मात्र नभएर सम्बन्धित ठाउँको जनताको प्रति व्यक्ति आयमा वृद्धि हुनु, सामाजिक प्रतिष्ठा, स्वस्थ जीवनशैली, शिक्षा, राजनैतिक आदि क्षेत्रमा ज्ञान तथा पहुँच वृद्धि हुनु वास्तविक विकास हो । समृद्ध नेपालको परिकल्पनामा निर्माण भएको संघीय लोकतान्त्रिक गणतन्त्रमा संघ, प्रदेश, स्थानीय तह र जनताबीच छिट्टै तालमेल मिल्ला र संघात्मक राज्य प्रणाली हुनुको सही अर्थ लाभ होला भन्ने गाउँबासीले आशा गरेका छन् ।
मगमगाउँदो माटो र कलकलाउँदो झरनासँगै
मितेरी गाँस्दै हुर्किएकी ठोट्नेरीकी चेली म
हरियाली डाँडा र चिसो चिसो सिरेटोसँगै
मितेरी गाँस्दै हुर्किएकी शालिजाकी चेली म
वल्टा पल्टा खेल्दा खेल्दै वर्तमानसँगै
चाही नचाही नाता गाँस्दा गाँस्दै
शहरको चकाचौन घनाघौरबीच घुस्रिएकी म
निर्मल ती पवन सम्झिँदा नाचूँ नाचूँ लाग्छ
फुस फुस गर्दै झर्ने हिउँ सम्झिँदा फर्कूँ फर्कूँ लाग्छ