हिमाली वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदै

कार्यक्रममा न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका पूर्वप्रमुख हेलेन क्लर्कले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुनेछ भने विश्वविख्यात पर्वतारोही सर क्रिस बोनिनटन, रेनहोल्ड मेसनर र टेलिभिजन एडभेञ्चर बेन फोगलको पनि सम्बोधन रहने

काठमाडौँ, १६ फागुन – हिमालय क्षेत्रमा बढ्दै गएको फोहर, आरोहणमा पर्वतारोहीको बढ्दो चाप र अन्य कारणले यस क्षेत्रको वातावरणमा परेको प्रभावको दीर्घकालीन समाधानबारे बहसका लागि अन्तर्राष्ट्रियस्तरको सम्मेलन हुने भएको छ । आगामी जेठ १९ देखि २३ सम्म काठमाडौँमा सम्मेलन आयोजना हुनेछ । ‘सस्टेनेबल समिटस् कन्फरेन्स’ नाम दिइएको उक्त सम्मेलनमा नेपालको हिमालय क्षेत्रमा देखिएका समस्या, जनजीविकोपार्जन, हिमाली क्षेत्रको फोहर व्यवस्थापन, वातावरण परिवर्तनका असर र प्रभावलगायतका विषयमा वैज्ञानिक, अध्येता, विज्ञका कार्यपत्र प्रस्तुत गरी बहस हुने आयोजकले बताएका छन् ।

राजधानीमा आज पत्रकार सम्मेलन गरी आयोजक समितिका सदस्य लिसा चोग्यालले उक्त सम्मेलन हिमालय क्षेत्र ‘देवताहरूको बासस्थान’ हो भन्ने विश्वास र बुझाइलाई सम्मान तथा प्रवद्र्धन गर्दै यस भेकको वातावरणलाई विश्वका अन्य देशमा भएका राम्रा अभ्यासबाट पाठ सिकी हिमाली क्षेत्रको पर्यटन विकासमा सघाउने उद्देश्यले सम्मेलन गर्न लागिएको बताउनुभयो । सो कार्यक्रममा न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका पूर्वप्रमुख हेलेन क्लर्कले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुनेछ भने विश्वविख्यात पर्वतारोही सर क्रिस बोनिनटन, रेनहोल्ड मेसनर र टेलिभिजन एडभेञ्चर बेन फोगलको पनि सम्बोधन रहनेछ ।


चार वटा मुख्य शीर्षकमा विभाजन गरिने सो कार्यक्रममा २०० भन्दा धेरै सहभागी विदेशी मुलुकबाट हुनेछन् । कार्यक्रमबाट नेपाललाई हिमालय क्षेत्रको वातावरणबारे विश्वमा विकास भएका राम्रा अभ्यासबाट पाठ सिक्ने र सोअनुरूप नीतिमा परिवर्तन ल्याउन सहयोग पुग्ने तथा नेपाल भ्रमण वर्ष २०२० लाई सघाउँदै नेपालको ७० वर्षको पर्वतीय पर्यटनको अनुभव पनि विश्वलाई सुनाउने अवसर प्राप्त हुनेछ । यो समिट नेपालको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को संयुक्त आयोजनामा हुँदैछ । सहआयोजकमा इसिमोड, युएनडिपी, विश्व वन्यजन्तु कार्यक्रम, पेजल फाउन्डेसनलगायतका संस्था रहेका छन् । स्थानीय आयोजकका रूपमा क्लाइमेट एलाइन्स फर हिमालयन कम्युनिटी रहेको छ ।

Advertisment