ऋणी कृषकले पाएनन् ब्याज अनुदान र बीमा सहुलियत :लघुवित्तका क्षेत्रमा २ खर्ब ५६ अर्ब लगानी

नेपाल लघुवित्त बैंकर्स सङ्घको नेतृत्वमा वसन्तराज लम्साल

काठमाण्डौँ, ११ फागुन । देशका ९० लघुवित्त संस्थाले तीन हजार ८६१ शाखामार्फत रु दुई खर्ब ५६ अर्ब लगानी गरेको जनाएका छन् । नेपाल लघुवित्त बैंकर्स सघले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा २८ लाख पाँच हजार ऋणीमार्फत सो ऋण प्रवाह गरेको जानकारी दिइयो ।
सो अवसरमा सङ्घका अध्यक्ष वसन्तराज लम्सालले लघुवित्तले आधाभन्दा बढी रकम कृषि क्षेत्रमा लगानी गरेको भन्दै त्यसमा कृषकले अनुदान पाउन नसकेको बताए । ठूला किसानले करोडौँ ऋण रकमको ब्याजमा पाँच प्रतिशत अनुदान पाउने गरेको भए पनि लघुवित्तबाट ऋण लिएर कृषि कर्म गर्नेले अनुदान पाउन नसकेको उनको भनाइ थियो ।

त्यसैगरी कृषि बीमाको सरकारले दिने ७५ प्रतिशत अनुदान रकमबाट पनि साना किसान बञ्चित भएको उनले बताए । लम्सालले भने, “लघुवित्तबाट ऋण लिएका कृषकले ब्याजमा सहुलियत र बीमाको भुक्तानीमा पाउनुपर्ने अनुदान पाएका छैनन् ।” नेपालका लघुवित्तहरुले रु ९८ अर्ब ७५ करोड बचत सङ्कलन गरेका छन् ।शेयर रकम रु २५ अर्ब हाराहारी रहेको भन्दै लम्सालले बाँकी सबै रकम बैंकहरुबाट महङ्गो ब्याजमा लिएर लगानी गरेको जानकारी दिए । लघुवित्तको ब्याजदर बढी हुनु स्वभाविक भएको भन्दै उनले अहिले बैंकबाट १३ प्रतिशतसम्ममा रकम लिएर १८ प्रतिशतमा लगानी गर्नुपर्दा ब्याजदर बढी भएको उनको भनाइ छ ।

यद्यपि विश्वका अन्य देशको तुलनामा यहाँका लघुवित्तको ब्याजदर कम भएको लम्सालले दाबी गरे । सङ्घका महासचिव रामबहादुर यादवले राष्ट्र बैंकबाट सहुलियतमा लघुवित्त बैंकले रकम पाउन नसकेको भन्दै दुई प्रतिशतमा सरकारी पैसा ल्याएर महङ्गोमा ब्याज लगाउने गरेको हल्ला निराधार भएको बताए । सो अवसरमा कर्जाको दोहोरोपना, कर्जाको गुणस्तरमा ह्रास, कर्जाको स्रोतको अपर्याप्तता, कर्जा कोषको ब्याजदर महङ्गो र अस्थिरजस्ता समस्या लघुवित्तले भोग्नुपरेको महासचिव यादवको भनाइ थियो ।

लघुवित्त संस्थामा कार्यरत एकदुई कर्मचारी र संस्थाका कारण सबै लघुवित्तलाई मुछेर बदनाम गर्ने काम भइरहेको भन्दै सङ्घले गम्भीर ध्यानाकर्षणसमेत सो अवसरमा गरेको थियो । लघुवित्तमा ४५ लाख ४६ हजार सेवाग्राही छन् । देशका ७७ जिल्लामा लघुवित्तको पहुँच रहेको सङ्घका उपाध्यक्ष भेषराज पन्थीले जानकारी दिए ।

Advertisment