खनिज पदार्थमा आधारित उद्योग स्थापना गरौं ः प्रदेश प्रमुख शेरचन

पोखरा, ८ फागुन
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले गण्डकी प्रदेश खनिज पदार्थमा धनी प्रदेश भएको भन्दै खनिज पदार्थमा आधारित उद्योग स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
गण्डकी प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सव समारोहलाई आइतबार पोखरामा सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले खनिज पदार्थमा आधारित उद्योगको स्थापना गरेर अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । गरीब जनताको जीवनस्तरलाई माथि उठाउन प्रदेश सरकारले काम गर्नुपर्ने भन्दै उहाँले गण्डकी प्रदेश सरकारले दुई वर्षमा हासिल गरेका उपलब्धीलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशलाई समृद्ध प्रदेशका रुपमा स्थापित गर्न पर्यटकीय उद्योगको विकास गर्नु पनि उत्तिकै जरुरी रहेको प्रदेश प्रमुख शेरचनले बताउनुभयो ।
त्यस्तै, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार अब वायुपंखी घोडाको गतिमा दौडने बताउनुभयो । पहिलो वर्ष कानून निर्माणको वर्षका रुपमा गण्डकी प्रदेश सरकारले लिएको बताउँदै उहाँले आवश्यक सबै कानून निर्माण भएको बताउनुभयो । प्रदेश सरकार अब चिप्ले किराको गतिबाट कछुवाको गतिमा अघि बढेको उहाँको भनाइ थियो ।


गण्डकी प्रदेशसभाका विपक्षी दल नेपाली कांग्रेस, संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले जनताका आकांक्षालाई सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो । ठूल्ठूला सपना देखाएपनि प्रदेश सरकारले जनतालाई प्रदेश सरकार छ भन्ने महसुस गराउन नसकेको भन्दै उहाँले सकारात्मक कुरामा विपक्षी दल सधैं साथ दिन तयार रहेको बताउनुभयो ।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्यालले प्रदेश सरकारले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न विशेष जोड दिएको बताउनुभयो । दुई वर्षका उपलब्धीलाई यसअघि, प्रदेश सरकारले सार्वजनिक गरिसकेको बताउँदै उहाँले प्रदेशको समृद्धिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

Advertisment