विज्ञान प्रविधिको शिक्षामा जोड दिन आवश्यक ः प्रदेश प्रमुख शेरचन

नवलपुर, ६ फागुन
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले देशको समृद्धिका लागि अबको शिक्षा विज्ञान प्रविधिमा आधारित हुनुपर्नेमा जोड दिनुभएको छ ।
नवलपुरको देवचुली नगरपालिका–१४, प्रगतिनगरस्थित जनज्योति नमुना माविको नवनिर्मित चार कोठे भवन तथा दुई कोठे भवनको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले विज्ञान प्रविधिका क्षेत्रमा प्रगति हासिल गर्न बालबालिकालाई विज्ञान प्रविधिको शिक्षा आवश्यक रहेकोमा जोड दिनुभयो ।
व्यवसायिक र रोजगारीउन्मुख शिक्षा अहिलेको आवश्यकता भएको भन्दै उहाँले देशको शिक्षा नीतिमा समयसापेक्ष सुधारको आवश्यकता औंल्याउनुभयो । नेपाल प्राकृतिक स्रोत, साधनले धनी देश भएको भन्दै प्रदेश प्रमुख शेरचनले प्राकृतिक सम्पदाको समुचित उपयोगमार्फत् देशलाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । देशभित्रै पाइने कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास गरेर देशको अर्थतन्त्र माथि उकास्न सकिने तर्क गर्दै उहाँले उद्योगको विकासविना रोजगारी सिर्जना गर्न कठिन हुने भनाइ राख्नुभयो ।
देश विकासको बाधक भ्रष्टाचार भएको भन्दै उहाँले भ्रष्टाचारको न्यूनिकरण नभइ समूल अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । जनता सचेत भए भ्रष्टाचार स्वतः कम हुने भन्दै उहाँले देशमा सुशासन कायम गराउन ऐन, कानूनको पालना गराउनु पहिलो शर्त भएको बताउनुभयो ।


जनज्योति नमुना मावि व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य कृष्ण पौडेल, खिमानन्द भुसाल, दुर्गादत्त घिमिरेलगायतले बोल्नुभएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, नवलपुरको आर्थिक तथा प्राविधिक सहयोगमा ६५ लाख रुपैयाँको लागतमा चार कोठे भवन र देवचुली नगरपालिकाको सहयोगमा १५ लाख रुपैयाँको लागतमा दुई कोठे भवन निर्माण सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।

Advertisment