प्रथम शहीद लखन थापा साझा विभूति हुन् ः प्रमुख जिसी

पोखरा, ३ फागुन
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नेपालका प्रथम शहीद लखन थापामगर सिंगो नेपालको विभूति भएको बताउनुभएको छ ।
प्रथम शहीद लखनको १४३ औं स्मृति दिवसका अवसरमा शुक्रबार पोखराको लखनचोकमा नेपाल मगर संघ, कास्कीद्वारा आयोजित स्मृतिसभामा बोल्दै महानगर प्रमुख जिसीले लखन थापा कुनै समुदाय विशेषको मात्र शहीद नभएको उल्लेख गर्नुभयो । देश र जनताको लागि आफ्नो प्राणको आहुति दिने पहिलो शहीद भएको बताउँदै उहाँले प्रथम शहीदको सम्मानका लागि महानगरले आवश्यक सहयोगलाई निरन्तरता दिइरहने बताउनुभयो ।
शहीदका सपना पूरा गर्न नसके शहीदको रगतले सराप्ने भन्दै महानगर प्रमुख जिसीले देशलाई समृद्ध बनाउँदै जनतालाई सुखी बनाउने अभियानलाई पूरा गर्न सके मात्र शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गर्नुभयो । विद्यमान समस्याको समाधानका लागि अग्रसर हुनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले अब पनि केही नगर्ने हो भने शहीदहरूको अपमान हुने भनाइ राख्नुभयो ।
नेपाल मगर संघ, कास्कीका सल्लाहकार बालकृष्ण काउछामगरले राज्यले लखन थापालाई प्रथम शहीदको रुपमा सम्मान दिएपनि सम्मान यतिले मात्र नपुग्ने भनाइ राख्नुभयो । प्रथम शहीद लखन थापामगरलाई मगर समुदायको मात्र भन्ने बुझेर बेवास्ता गर्ने गरिएको भन्दै उहाँले राज्यले नै प्रथम शहीदको स्मृतिमा कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । काउछामगरले प्रथम शहीद लखन थापामगरको नाममा स्थापित लखनचोकको नामलाई राज्यका आधिकारिक दस्तावेजमा समेट्नुपर्ने बताउँदै जनस्तरमा पनि स्थापित गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले प्रथम शहीद लखन थापामगरलाई मगर समुदायले मात्रै सम्झिने अवस्था रहनु दुःखद् भएको भन्दै राज्यले नै प्रथम शहीदको सम्मान हरेक वर्ष कार्यक्रम आयोजना गर्नुपर्ने र राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गर्नुभयो । नेपाल मगर संघ, कास्कीका उपाध्यक्ष बुद्धिमाया थापामगर र सचिव रामबहादुर थापामगरले लखनचोकमा स्थापित प्रथम शहीदको शालिक कुनै पनि बहानामा अन्यत्र सार्न नहुनेमा जोड दिनुभयो ।
जहाँनियाँ निरंकुश राणा शासनका विरुद्ध पहिलोपटक जनस्तरबाट संगठित जनविद्रोहको नेतृत्व गरेका लखन थापामगरलाई उनका सहकर्मी जयसिंह चुमीमगरसहित प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाको आदेशमा १९३३ साल फागुन २ गते गोरखाको काहुले भंगारमा फाँसी दिइएको थियो ।

Advertisment