खुल्ला सामूहिक सांस्कृतिक नृत्यको उपाधि सराङकोट इकाईलाई

पोखरा, २७ माघ
नेपाल मगर विद्यार्थी संघ, पृथ्वीनारायण क्याम्पस समिति, पोखराले आयोजना गरेको “खुल्ला सामूहिक सांस्कृतिक नृत्य प्रतियोगिता”को उपाधि नेपाल मगर संघ, सराङकोट इकाई समितिले जितेको छ ।
सोमबार सम्पन्न भएको प्रतियोगितामा उपाधिसँगै सराङकोट इकाईले १० हजार नगद पुरस्कार हात पार्न सफल भएको छ । त्यस्तै, रोशनी रानामगरको समूह द्वितीय भयो भने पश्चिमाञ्चल मावि, गैह्रापाटनको समूह तृतीय हुन सफल भयो । उनीहरूले क्रमशः ७ हजार र ४ हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भए ।
प्रतियोगिताको निर्णायकका रुपमा नृत्य निर्देशकद्वय जसु गुरुङ र दिलीप रानामगर रहनुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै नेपाल मगर विद्यार्थी संघका संस्थापक उपाध्यक्ष एवं राजनीतिज्ञ बालकृष्ण काउछामगरले मगर जातिको जातीय पहिचान स्थापित गर्न र शैक्षिक जागरण फैलाउन मगर विद्यार्थी संघको स्थापना भएको बताउनुभयो । आजको राजनैतिक परिवर्तनमा मगर विद्यार्थीहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले संघीयता, समावेशी, समानुपातिकजस्ता मुद्दा मगर विद्यार्थीहरूले विगतदेखि नै जोडदार रुपमा उठाउँदै आएको र आज सार्थक भएको उल्लेख गर्नुभयो ।


नेपाल मगर विद्यार्थी संघका महासचिव प्रेम रोकामगरले संघले स्थापनाको २५ औं वर्ष अर्थात् रजत जयन्ती वर्षभरि देशव्यापी रुपमा मनाउने निर्णय गरेको भन्दै रचनात्मक कार्यक्रम गरेर रजत वर्षलाई मनाउनुपर्नेमा जोड दिनुभयो । हरेक क्षेत्रमा मगर समुदायको पहुँच र प्रतिनिधित्व स्थापित गर्न अब मगर विद्यार्थीले अगुवाइ गर्नुपर्ने बताउँदै महासचिव रोकामगरले देश हाँक्ने स्थानसम्म मगर समुदायको प्रतिनिधित्व गर्नु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर पत्रकार संघका उपमहासचिव रूद्रबहादुर श्रीसमगर, नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश समन्वय परिषद्, गण्डकीका सचिव सुजनकुमार लामा, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य दिनेश रोकामगर, गण्डकी प्रदेश उपाध्यक्ष प्रेम बुढामगर, अनेरास्ववियू, कास्कीका संयोजक विवेक देवकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल मगर विद्यार्थी संघ, पृथ्वीनारायण क्याम्पस समिति, पोखराकी अध्यक्ष सोनम थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश थापामगर र सचिव कृष्टि आलेमगरले पनि बोल्नुभएको थियो । प्रतियोगितामा १० टिम सहभागी थिए भने प्रतियोगी कलाकारहरूले कौरा, सालैजो, सेलो, झ्याउरेलगायतका नृत्य प्रस्तुत गरेका थिए । नेपाल मगर विद्यार्थी संघको २५ औं स्थापना दिवस एवं रजत जयन्ती तथा आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लक्षित गरी सो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।

Advertisment