देशको एक नम्बरको दुश्मन भ्रष्टाचार हो ः प्रदेश प्रमुख शेरचन

पोखरा, २१ माघ
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले देशको एक नम्बरको दुश्मन भ्रष्टाचार भएको बताउनुभएको छ । उहाँले “समृद्ध नेपाल, सुखी नेपाली”को नारालाई साकार पार्न भ्रष्टाचारको अन्त्य आवश्यक भएको बताउनुभयो ।
पर्वत उद्योग वाणिज्य संघले आयोजना गरेको छैठौं पर्वत महोत्सव–२०७६ एवं गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेलाको आइतबार कुश्मामा समापन गर्दै प्रदेश प्रमुख शेरचनले भ्रष्टाचारलाई निर्मूल नगरेसम्म समृद्धिको सपना पूरा गर्न नसकिने भनाइ राख्नुभयो । स्वदेशमै उपलब्ध कच्चा पदार्थमा आधारित उद्योगको स्थापनामा जोड दिनुपर्ने बताउँदै प्रदेश प्रमुख शेरचनले उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।
भाषणले मात्रै समाजवाद नआउने भन्दै उहाँले औद्योगिकीकरणमार्फत् देशको अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने बताउनुभयो । एक अर्को प्रसंगमा उहाँले राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि पत्रकारहरूले कलम चलाउनुपर्ने बताउँदै नेपाली जनताको संघर्षबाट मात्र आजको उपलब्धी हासिल हुन सकेको बताउनुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समिति, पर्वतका प्रमुख मनोहर बी पौडेल, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, गैर आवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार गोविन्द सुवेदी, पर्वत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेलगायतले बोल्नुभएको थियो ।
संघका अध्यक्ष केदारनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कलाकारहरू बद्री पंगेनी, कृष्ण अखेली, सीता रानामगर, शोभा त्रिपाठी, सुदीप क्षत्री, गणेश पौडेललगायतले आ–आफ्नो सांगीतिक प्रस्तुती राखेका थिए ।

Advertisment