तथ्यमा आधारित समाचारले मिडियाको विश्वसनीयता बढाउँछ ः प्रदेश प्रमुख शेरचन

पोखरा, २१ माघ
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले सत्य, तथ्यमा आधारित समाचार सम्प्रेषण गरे मात्र मिडियामाथिको विश्वसनीयता बढ्ने बताउनुभएको छ ।
पोखरा न्यूज डटकमको छैठौं वार्षिकोत्सवको सोमबार उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले सञ्चारमाध्यमले सत्य, तथ्यमा आधारित समाचार सम्प्रेषणमा जोड दिनुपर्ने बताउनुभयो । पत्रकारले निमुखा जनताको बारेमा कलम चलाउनुपर्नेमा जोड दिँदै उहाँले ग्रामीण बस्तीका समस्याका बारेमा सञ्चारमाध्यमले बोल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै देशमा सुशासन कायम गर्न सञ्चारमाध्यमको ठूलो भूमिका हुने उहाँको भनाइ छ । राज्यका विभिन्न पदमा बस्ने व्यक्तिहरूले गर्ने गलत कार्यलाई औंल्याएर जनतालाई सञ्चारमाध्यमले सुसूचित पार्नुपर्ने उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले राजकीय पदमा बस्ने व्यक्तिले पनि गल्ती गर्छ भने पत्रकारले त्यसविरुद्ध कलम चलाउनुपर्ने बताउनुभयो ।


गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला “रुपक”ले देशको राजनैतिक परिवर्तनमा सञ्चारमाध्यमले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै अब पत्रकारले समृद्धिका लागि कलम चलाउनुपर्ने धारणा राख्नुभयो । त्यस्तै, अर्का प्रदेश सांसद् विन्दुकुमार थापाले जनतालाई सुसूचित बनाउन सञ्चारमाध्यमले ठूलो भूमिका खेल्ने भन्दै सञ्चारमाध्यमले आफ्नो विश्वसनीयता गुमाउन नहुने भनाइ राख्नुभयो ।
पोखरा न्यूज डटकमका अध्यक्ष गणेश बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, पश्चिमाञ्चल होटल संघ, पोखराका अध्यक्ष विकल तुलाचन, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले शुभकामना दिनुभएको थियो । सो अवसरमा पोखरा न्यूज डटकमका दीननाथ बराल र दीपक पराजुलीले पनि बोल्नुभएको थियो ।

Advertisment