नेपालको विकास गर्न दक्ष जनशक्तिको खाँचो ः मन्त्री पुन

पोखरा, १८ माघ
गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले नेपालको विकास गर्न दक्ष जनशक्तिको खाँचो रहेको बताउनुभएको छ ।
पोखराको पन्थीगल्लीमा खुलेको इन्टरनेशनल कलेज अफ एप्लाइड साइन्स (आईसीएएस)को शनिबार उद्घाटन गर्दै मन्त्री पुनले सीप र दक्षता भए संसारको जुनसुकै ठाउँमा गएर पनि काम गर्न सक्ने उल्लेख गर्नुभयो । नेपालमा अहिले भौतिक विकासलाई मात्रै प्राथमिकता दिइएको बताउँदै मन्त्री पुनले योग्य, नैतिकवान र दक्ष नागरिक तयार नभएसम्म देश अघि बढ्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।


देशमा संघीयता आएपनि तीन तहका सरकारका अधिकार स्पष्ट रुपमा परिभाषित नभएको बताउँदै उहाँले अधिकार बाँडफाँडका विषय परिभाषित नहुँदा प्रदेश सरकारलाई काम गर्न अप्ठेरो भएको बताउनुभयो । सीमित स्रोत साधन र जनशक्तिका बावजुद प्रदेश सरकारले आफ्नो कामलाई अघि बढाएको उल्लेख गर्दै मन्त्री पुनले व्यवसायिक तालिमका लागि कलेज स्थापना गरेकोमा सञ्चालक टिमलाई धन्यवाद दिनुभयो । कलेजले दक्ष जनशक्ति तयार गर्दै अर्गानिक उत्पादनलाई प्रोत्साहित गर्न आग्रह गर्दै मन्त्री पुनले स्वस्थ नागरिक तयार गर्नका लागि कलेजले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले कलेजले व्यवसायिक शिक्षा दिएर रोजगारीका लागि सहजीकरण गर्ने विश्वास व्यक्त गर्दै दक्ष र सीपयुक्त जनशक्तिले मात्र देश विकास हुने बताउनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरले व्यवसायिक र प्राविधिक शिक्षाको जरुरी रहेकोमा जोड दिँदै यस्ता कलेजलाई सरकारले पनि आवश्यक प्राथमिकता दिनुपर्ने भनाइ राख्नुभयो ।
कलेजका प्रबन्ध निर्देशक समीर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाशचन्द्र गिरीले पनि बोल्नुभएको थियो । झण्डै १ करोड रुपैयाँको लगानीमा सुरु भएको सो कलेजमा अध्यापनका लागि स्वीकृत कोर्षहरू बार टेण्डर, हाउस किपिङ, कुकिङ, वेटर, वेट्रेस रहेका छन् भने कमर्सियल कुकिङ, बेकिङ, प्रोफेशनल कुकिङ, वरिष्ठा, बेकरी र रुम एटेन्डेन्टको सम्बन्धन आउने क्रममा रहेको प्रबन्ध निर्देशक थापामगरले जानकारी दिनुभयो ।

Advertisment