साहित्य, गायन र मोडलिङमा जम्दै निशा श्रीस, फेरि बोलाइन् ‘मायाले’

पोखरा, १३ माघ
साहित्य, गायन र मोडलिङमा जम्दै गरेकी लोक तथा दोहोरी गायिका निशा श्रीसको नयाँ लोक तथा दोहोरी गीत “मायाले” सार्वजनिक भएको छ । रश्मी शाक्यको यो गीतको शब्द गायिका निशा आफैंले लेखेकी हुन् भने स्वर पनि दिएकी छिन् ।
गायिका निशालाई यस गीतमा गायक सन्दीप न्यौपानेले स्वरमा साथ दिएका छन् । संगीत विशाल निरौलाको रहेको यस गीतलाई युनिक भिजन इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो । म्यूजिक भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने भिडियोमा दिनेश थापा, पूजन घिमिरे, सुजन परियार र रुक्मणि खड्काले अभिनय गरेका छन् ।
अजय रेग्मीको छायांकन रहेको म्यूजिक भिडियोको सम्पादन दीपक विष्टले गरेका हुन् भने सूर्यविनायक फिल्मस्को पोष्ट प्रोडक्सन र विमला तामाङको श्रृंगार रहेको छ । आफूले शब्द रचना गरेको र स्वर दिएको गीत दर्शक, स्रोताले मन पराइदिएकोमा गायिका निशा खुशी व्यक्त गर्छिन् ।
गायिका निशाले हालसम्म स्वर दिएका गीतहरूमा मगरकी छोरी, मायाले पागल हुने बनायो, पानी मीठो मूलको, गलकोट बजारमा, सुक्यो डाली पाइन फुल्नलाई, हावा चल्यो सरर, फर्क आमा स्वदेश फर्क, डोको बुन्ने चोयालेलगायत रहेका छन् । शब्द सिर्जना र गायनमा मात्रै होइन, आजभोली उनी मोडलिङमा पनि उत्तिकै व्यस्त हुन थालेकी छिन् ।
उनले मोडलिङ गरेका गीतहरूमा मगरकी छोरी, आमाको सम्झना, पानी मीठो मूलको, पाण्डवखानी शिरमा रमुवा र सुक्यो डालीलगायत रहेका छन् । उनले शब्द रचना गरेका गीतहरूमा मगरकी छोरी, सुक्यो डाली, हावा चल्यो सरर, फर्क आमा, स्वदेश फर्क, झर्छ फूल नियतिमा, डोको बुन्ने चोयालेलगायत हुन् । त्यति मात्र नभएर गायिका निशाले दर्जनौं साहित्यिक कृति समेत प्रकाशित गरेकी छिन् ।

Advertisment