प्रथम अन्तर्राष्ट्रिय मार्शल आर्टस् हाप्किडो सेमिनार सकियो

पोखरा, १२ माघ
नेपाल मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा शनिबारदेखि पोखरामा सुरु भएको “प्रथम अन्तर्राष्ट्रिय मार्शल आर्टस् हाप्किडो सेमिनार–२०२०” आइतबार सम्पन्न भएको छ ।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा भएको सेमिनारको समापनका अवसरमा आइतबार सफलता पाउने प्रशिक्षार्थीलाई प्रमाणपत्र पत्र प्रदान गरियो । सोही अवसरमा गत साता सम्पन्न भएको राष्ट्रिय रेफ्रि सेमिनारमा सहभागीलार्ई पनि प्रमाणपत्र प्रदान गरियो ।
सेमिनारमा संयुक्त राज्य अमेरिकाका ग्राण्डमाष्टर हि क्वान ली, अष्ट्रियाका ग्रान्डमास्टर गेरहार्ड अग्रीञ्ज, इरानका हेडमास्टर जफार नभेइ, स्पेनका मास्टर सल्भाडोर कभालेरो र सिनियर मास्टर नेपालका कालीबहादुर घर्तीमगरले प्रशिक्षण दिनुभएको थियो ।
नेपाल मार्शल आर्ट्स हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रम शैल्ताज कुँवरले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेपाल मार्शल आर्टस् हाप्किडो संघ, गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगर र उपाध्यक्ष तारामाया थापामगरसहित अन्य अधिकारीको उपस्थिति थियो । कार्यक्रममा कास्कीका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो ।
नेपाल मार्शल आर्टस् हाप्किडो संघ, गण्डकी प्रदेश समिति र कास्की जिल्ला समितिको व्यवस्थापनमा आयोजित दुई दिने सेमिनारले खेललाई अन्तर्राष्ट्रियस्तरमा समेत परिचित गराएको छ ।
छोटो समयमा थुप्रै दक्ष प्राविधिक तयार पार्दै सफलता पाउँदै गरेको संघले नियमित प्रशिक्षण दिँदै आइरहेको छ । सेमिनार नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक तुल्याउन पनि महत्वपूर्ण भएको अध्यक्ष घर्तीमगरले दाबी गर्नुभयो । यसअघि, सेमिनारको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले गर्नुभएको थियो ।

Advertisment