सार्वभौमिकता कुण्ठित गरेर एमसीसी पास हुन्न ः गृहमन्त्री बादल

सुर्खेत, ११ माघ
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले एमसीसीका कतिपय प्रावधान असंगत रहेकाले संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
एमसीसी अनुदानलाई लिएर नेकपामा चर्को बहस चलिरहेका बेला गृहमन्त्री बादलले त्यसका प्रावधान संशोधन गरेर मात्रै पारित गर्नुपर्ने बताएका हुन् ।उनले नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित पार्ने देखिए एमसिसी मान्य नहुने पनि बताउनुभयो ।
‘एमसिसी परियोजनाअन्तर्गत अमेरिकाबाट नेपालमा लगानी हुने रु ५५ अर्ब बजेटमा नेपालको पनि रु १३ अर्ब लगानी हुन्छ,’ सुर्खेतमा आयोजित दुईदिने सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका गृहमन्त्री बादलले बताउनुभयो, ‘तर पनि कर्मचारी राख्नेदेखि लेखापरीक्षणलगायत विभिन्न प्रावधानहरूमा अमेरिकाको निर्णय मान्नुपर्ने बाध्यता जस्ता कुराहरू संशोधन हुनुपर्छ ।’
अमेरिकी राजदूतावासले एमसिसीमा हिन्द प्रशान्त रणनीति नरहेको विज्ञप्तिमार्फत जानकारी गराइसकेकाले यसमा विवाद गरिराख्न जरुरी नरहेको बताउनुभयो । गृहमन्त्री बादलले एमसीसीबारे नेकपाको स्थायी समितिमा छलफल भएर हिन्द प्रशान्त रणनीति एमसीसीमा समेटिए सो सम्झौतामा सहभागी नहुने र त्यसको कार्यान्वयन नगर्ने भन्ने भएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध सुदृढ हुँदै गएको बताउँदै उहाँले संघीयता कार्यान्वयन गर्न केही कानून बन्न बाँकी रहेको बताउनुभयो ।
गृहमन्त्री बादलले चीनले पनि नेपालको पूर्वाधार, जलविद्युत, राजमार्ग, सञ्चारलगायत क्षेत्रमा लगानी गर्न बीआरआईमार्फत ६० अर्ब रुपैयाँ बजेट लगानी गर्ने भएको उल्लेख गर्दै लिम्पियाधुराको समस्या समाधान गर्नका लागि सरकारको भारतसँग कूटनीतिक प्रयास भइरहेको बताउनुभयो ।

Advertisment