टोखा नगरपालिकाका  सामुदायिक विद्यालयमा विद्यार्थीलाई ‘मेयर दिवा खाजा कार्यक्रम’

–अच्युत रेग्मी

टोखा, ११ माघ – काठमाडौँको टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ ।  अन्तर्गत बाल विकासदेखि कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउन लागिएको हो । नगरपालिकाभित्रका झोर महाँकाल, बौडेश्वर, चण्डेश्वरी, धापासी, तिलिङ्गाटार, जालपा र मनोहर माविका विद्यार्थीलाई खाजा खुवाउन लागिएको हो । आठ सरकारी विद्यालयमा हाल चार हजार ३०६ विद्यार्थी अध्ययनरत छन् । निजी र सरकारी विद्यालयमा गरी झण्डै ४० हजार विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिका शिक्षा शाखाका प्रमुख उपसचिव बाबुराम गौतम ‘मेयर दिवा खाजा कार्यक्रम’का लागि आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा रु ७५ लाख विनियोजन गरिएको बताउनुहुन्छ । “दैनिक रु २५ बराबरको खाजा वितरण गर्न बोलपत्र आह्वान भएको छ, फागुनदेखि दिवा खाजा कार्यक्रम सञ्चालन गर्छौं”, उहाँ भन्नुहुन्छ ।

बजेट अपुग भए थप्दै लैजाने गौतमको भनाइ थियो । नगरपालिकामा हाल आठ सामुदायिक, ८१ निजी, तीन वैकल्पिक मावि र ३५ मन्टेश्वरी विद्यालय छन् । टोखाले प्रत्येक वैकल्पिक विद्यालय बराबर रु सात लाख २० हजार आर्थिक सहयोग गर्दै आएको छ ।

नगरप्रमुख प्रकाश अधिकारी सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन ‘मेयर दिवा खाजा कार्यक्रम’ सञ्चालन गरेको बताउनुहुन्छ । “पछिल्लो समय सरकारी विद्यालयप्रति विद्यार्थीको आकर्षण घटेको छ, त्यसलाई बढाउन उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो”, उहाँ भन्नुहुन्छ ।

नगरपालिकाका ११ मध्ये ५, ६, ९ र ११ नम्बर वडामा सामुदायिक विद्यालय छैनन् । सबै वडामा सामुदायिक विद्यालय बनाउने उद्देश्यले ‘एक वडा, एक सामुदायिक विद्यालय’ को अवधारणा नगरपालिकाले अगाडि सारेको छ । नगरसभाको बैठकबाट संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा रुपान्तरण गर्न सकिने गरी ऐन संशोधन गरिएको छ । सो संशोधनले अब निजी विद्यालय सामुदायिक विद्यालयमा रुपान्तरण हुन चाहेमा ढोका खुलेको छ ।

शिक्षा शाखा प्रमुख गौतम सबै वडामा सामुदायिक विद्यालय स्थापना गर्ने गरी नगरपालिकाले नीति तथा कार्यक्रम निर्माण गरिरहेको बताउनुहुन्छ । “आगामी दिनमा निजी विद्यालय बन्द भयो भने सामुदायिकमा विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्छ, त्यसका लागि पनि सामुदायिक विद्यालय आवश्यक छ”, गौतम भन्नुहुन्छ ।

नगरपालिकाले हरेक वर्ष नगरभित्रका कक्षा ८, १० र १२ मा उत्कृष्ट अङ्क ल्याउने विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरिरहेको छ । अभिभावकलाई लक्षित गरी घरमा हुने लैङ्गिक हिंसा र विद्यार्थीको गुणस्तरीय शिक्षासम्बन्धी दुईवटा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

महिलाको शिक्षालाई ध्यानमा राखेर नगरपालिकाभित्र छुट्टै महिला वैकल्पिक विद्यालय चलाइएको छ । नयाँ बसपार्कमा निर्माण गरिएको चेतना महिला विद्यालयमा हाल ३०० विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयको शिक्षाको विकासका लागि टोखा नगरपालिकाले सहयोग गरेको छ ।

सामुदायिकमध्ये सरस्वती, बौडेश्वर, मनोहर र तिलिङ्गाटार माविले दश जोड दुई कक्षा चलाएका छन् । सामुदायिकमा अध्ययनरत विद्यार्थीलाई एसइई परीक्षामा गुणस्तरीय नतिजा ल्याउन ‘कोचिङ’ तथा ‘काउन्सीलिङ’ कार्यक्रम चलाइएको छ । त्यसका लागि नगरपालिकाले एक विद्यालय बराबर रु ५० हजार विनियोजन गरेको छ ।

नगरपालिकाभित्रको शिक्षालाई गुणस्तरीय बनाउन विद्यालयका प्राचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षकलाई शैक्षिक भ्रमण गराइएको छ । टोखाभित्रको शिक्षालाई समावेश गरेर ‘टोखा शैक्षिक दर्पण’ प्रकाशन गर्न लागिएको शिक्षा शाखाका अधिकृत विजया भट्टराईले जानकारी दिनुभयो ।

अपुग शिक्षक पदपूर्ति गर्न नगरपालिकाले चण्डेश्वरी, धापासी, जालपा र सरस्वती माविमा एक÷एक दरबन्दी थपेको छ । उक्त दरबन्दीका लागि नगरपालिकाले चालु आवमा रु १६ लाख रकम विनियोजन गरेको छ । केन्द्रले शिक्षक नियुक्ति गर्ने परिपाटी राम्रो नभएको प्रमुख शिक्षा अधिकृत गौतम बताउनुहुन्छ ।

असहाय, अपाङ्गता र आर्थिकरुपले विपन्न विद्यार्थीलाई नगरपालिकाले निःशुल्क अध्ययन गराउने भएको छ । त्यसका लागि नगरपालिकाले टोखा–९ मा रहेको स्कोलास्टिक नेशनल एकेडेमी र टोखा–३ को नितेन मेमोरियल स्कूललाई वार्षिक रु पाँच÷पाँच लाख आर्थिक सहयोग गरेको छ ।

कम शुल्कमा काम गरिरहेका सामुदायिक विद्यालयका कार्यालय सहयोगी र तल्लो दर्जाका २४ कर्मचारीका लागि वार्षिक रु ५० हजार बराबर प्रोत्साहन अनुदान विनियोजन नगरपालिकाले गरेको छ । त्यसले गर्दा ती कर्मचारीलाई सरकारले तोकेबमोजिम न्यूनतम पारिश्रमिक रकम बराबर हुन पुग्छ । नगरपालिकाभित्रका सबै विद्यालयमा समान शिक्षा प्रदान गर्न टोखाले स्थानीय शिक्षा नीति, शिक्षा योजना र स्थानीय पाठ्यक्रमको कामलाई अगाडि बढाएको छ ।
–––

Advertisment